नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच १२ दिनपछि भेटवार्ता

१६ कार्तिक २०७७, आईतवार ०६:५४

काठमाडाैं, कात्तिक १६ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच १२ दिनपछि भेटवार्ता भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठन, सरकारको पछिल्ला केही निर्णय, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव लगायत कारण नेकपामा सुरु विवाद बाह्य गुप्तचर संस्था रअ का प्रमुखसँग प्रधानमन्त्रीको भेटघाटले उत्कर्षमा पुगेको थियो । 

सो लगत्तै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पुष्पकमल दाहालले भेटघाटको क्रम रोक्नु भएको थियो ।

आफू कोरोना संक्रमितको कन्ट्याक ट्ेरसिङमा परेको भन्दै टेलिफोन संवादमा मात्र सीमित अध्यक्ष दाहाल आज १२ दिनपछि काठमाडौंको बालुवाटारमा रहेको प्रधानमन्त्री निवास पुग्नु भएको थियो । 

भेटमा अध्यक्ष दाहालले सचिवालय बैठक बोलाउन अर्का अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको छ । यद्यपि, सो बारे अध्यक्ष ओलीबाट कुनै ठोस प्रतिक्रिया नआएको एक सहयोगीले जानकारी दिए । पार्टीमा छलफलपछि मात्र महत्वपूर्ण निर्णय लिने पूर्ववत सहमति विपरीत प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका लागि राजदूत सिफारिस गरेको, पार्टीमा छलफल नै नगरी मन्त्रिमण्डल पुनर्गठन गरेको भन्दै दाहाल पक्ष पुन: रुष्ट बनेको हो । 

सचिवालय बैठक बोलाएर प्रधानमन्त्री ओलीलाई अल्पमतमा पार्ने योजनामा दाहाल पक्षीय नेताहरु सक्रिय देखिएका छन् । विकसित पछिल्लो घटनाक्रम मत्थर पार्न अध्यक्ष ओलीले समेत आफू निकटका नेतालाई दैनिक ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहाल निवास पठाउने गरेपनि ठोस सहमति भने जुट्न सकेको छैन । 

आजको भेटमा समेत प्रधानमन्त्री ओलीबाट सरकारका पछिल्ला निर्णय, सचिवालय बैठक लगायत अध्यक्ष दाहालको जिज्ञासामा कुनै ठोस जवाफ नआएको बालुवाटार स्रोतको भनाई छ । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.