पार्टी एकता कायम राख्न अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीसँग संवाद गर्नुपर्छ : श्रेष्ठ

१७ कार्तिक २०७७, सोमबार १६:५८

काठमाडौ, कात्तिक १७ । नेकपालाई विभाजनमा जान नदिन अध्यक्ष पुष्पकमल दाहालले फेरि एकपटक अर्का अध्यक्ष केपी ओलीसँग संवाद गर्नुपर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

प्रवक्ता श्रेष्ठले पार्टी भित्र देखिएको मतभिन्नतालाई अन्त्य गरी एकतालाई कायम राख्न पनि अध्यक्ष दाहालले नै संवादका लागि पहल गर्नुपर्ने बताएका हुन । अध्यक्ष दाहालले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीसँगको भेटवार्तामा भएको कुराकानीको ब्रिफिङ गरेपछि आफूहरुले पार्टी एकतालाई कुनैपनि अवस्थामा बचाउन फेरि एकपटक संवाद गर्नुपर्ने सुझाव दिएको उनले बताए ।

आइतबार साँझ आफुहरु ब्रिफिङपछि अहिलेसम्म अध्यक्ष दाहाल र ओली बिच कुनै संवाद हुन नसकेको पनि बताए । उनले अध्यक्ष ओलीले अध्यक्ष दाहाललाई पार्टीका कुनैपनि कमिटीको बैठक नमान्ने बताउँदै सल्लाह गरेरै अलगअलग हुन प्रस्ताव गरेको कुरा साँचो रहेको पनि जानकारी दिए ।
ख्यालख्यालमै पार्टी फुटको दिशातिर जान दिन नहुने उनको भनाइ छ ।

पार्टी एकताको रक्षा गर्न पहल र प्रयत्न अहिलेको आवश्यकता भएको प्रवक्ता श्रेष्ठले बताए । पार्टीलाई विधि र पद्धतिमा चलाउने र पार्टीको निर्णय सबैले मान्दै कार्यान्वयनमा जाने हो भने पार्टी एकता जोगिने उनको भनाइ छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.