फिलिपिन्समा आँधीको ताण्डव, १० को मृत्यु, कैयौं घाइते, हजारौं विस्थापित

१७ कार्तिक २०७७, सोमबार ०७:१०

एजेन्सी, कात्तिक १७ । फिलिपिन्समा यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी ‘गोनी’का कारण दश जनाको मृत्यु भएको छ ।

आँधीका कारण कैयौँ घाइते भएका छन् भने हजारौं मानिस विस्थापित भएका छन् । आँधीका कारण मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाइएको छ । आँधीका कारण कैयौं घरहरू ध्वस्त भएका छन् भने दर्जनौं सडकहरू अवरुद्ध बनेका छन् ।

स्थानीय समयअनुसार आइतबार बिहान ४ः५० बजे गोनी आँधीले काटानडुनेस टापुमा भारी वर्षा गराएको थियो। आँधी यस साताको अन्त्यतिर राजधानी मनिला रहेको लुजोन टापुबाट बाहिरिने बताइएको छ ।

अधिकारीहरूले गोनी आँधीसँगैको वर्षाका कारण थप क्षति पुग्ने जनाएका छन् ।

गोनी आँधीका कारण काटानडुनेस टापुको सहर भिराक सम्पर्कविहीन भएको छ । उक्त शहरमा ७० हजार मानिसको बसोबास रहेको छ ।

२ सय २५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण अत्याधिक वर्षा भएको बिबिसीले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.