वामदेव गौतमलाई राष्ट्रपतिको आग्रह : नेकपालाई फुट्नबाट रोक्नुस्


काठमाडौं, कात्तिक १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो विवादमा चासो दिएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीचको विवादले नेकपाका फुटतर्फ अघि बढेपछि त्यसलाई रोक्ने कुरामा राष्ट्रपतिले चासो दिएकी हुन्। 

पछिल्लो समय चलेको विवादका क्रममा मौन बसिरहेका नेकपा उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतमलाई मंगलबार अपरान्ह शीतल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले गम्भीर चासो व्यक्त गरेकी हुन्। 

उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्‍वमणि सुवेदीका अनुसार अपरान्ह ५ बजेदेखि करिब आधा घण्टा दुई जनाबीच शीतल निवासमा संवाद भएको थियो। ‘उहाँ (वामदेव गौतम) राष्ट्रपतिले बोलाएरै शीतल निवास जानु भएको हो’, सुवेदीले थाहाखबरसँग भने, ‘अपरान्ह ५ बजे शीतल निवास पुग्‍न भएर राष्ट्रपतिसँग करिब आधा घण्टासम्म नेकपामा देखिएको विवादबारे संवाद भएको छ।’

सुवेदीका अनुसार राष्ट्रपति भण्डारीले यसअघि पनि देखिएको विवाद वामदेवले नै मिलाएकाले यो पटक पनि पहलकदमी लिन आग्रह गरेकी थिइन्। ‘पहिले देखिएको विवादलाई पनि तपाईंले नै मिलाएर पार्टीलाई फुटबाट जोगाउन भएको हो ‘, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘अहिले पनि नेकपामा जटिल अवस्था देखिएको छ। नेकपालाई फुट्न दिनु भएन। विभाजित हुन सक्ने अवस्था आउन नदिन तपाईंले भूमिका खेल्नुपर्यो।’

राष्ट्रपतिका कुरा सुनिसकेपछि उपाध्यक्ष गौतमले पार्टी एकता मजबुद बनाइराख्न पार्टी र सरकार दुवै विधि र पद्धतिमा चल्नुपर्ने मत राखेका थिए। ‘हामीले पार्टी एकताका लागि विधि पद्धतिसहित जानुपर्छ भनिरहेका छौं। पार्टी र सरकार दुवैतर्फ विधि र पद्धति पनि स्थापित हुनुपर्छ’, गौतमले राष्ट्रपतिसँग भने, ‘म आफैं पनि व्यक्तिगत रुपमा त्यही अभियानका लागि लागेको हुँ। पहिलो कुरा सरकार विधि र पद्धति अनुसार चलोस्। त्यति हुन सकेमा यो समस्या समाधान हुन सक्छ।’

उपाध्यक्ष गौतमले मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्ति लगायतमा सरकारले विधिको प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए। ‘मन्त्रिपरिषद् फेरबदल र राजनीतिक नियुक्तिमा पार्टी निर्णयानुसार सरकारले विधि र पद्धति भुल्नु भएन’, उनले भने, ‘म पार्टीलाई बचाउने पक्षमै छु। तर पार्टी र सरकार दुवैको नेतृत्वले एक्लै हिँड्न खोजेर कहीँ पुगिँदैन, झन् समस्या आउँछ। यसतर्फ पनि पार्टी र सरकार नेतृत्वले गम्भीर ध्यान दिनुपर्छ।’


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope