दुई दिनभित्र बैठक डाक्न बहुमत सचिवालय सदस्यको अनुरोध, प्रधानमन्त्रीले गरे अस्वीकार

२२ कार्तिक २०७७, शनिबार १७:२५

काठमाडाैं, कात्तिक २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले बैठक बोलाउन गरेको अनुरोध अस्वीकार गरेका छन् ।

शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पाँच जना सचिवालय सदस्यहरुले बैठक राख्न लिखित रुपमा गरेको आग्रहलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेका हुन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय सदस्यहरुले दुईदिनभित्र बैठक बोलाउन आग्रह गरे पनि प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया नदिएको जानकारी दिए ।

उनले कोरोना संक्रमणको बढ्दो अवस्था, पार्टीभित्रका समस्या समाधान गर्दै पार्टीका निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको जानकारी दिए ।

‘कमरेड केपी शर्मा ओलीले बैठकको विषयमा आज निष्कर्ष दिनु भएको छैन् । हामीले सकभर भोली नै वा पर्सीसम्ममा बैठक बसेर यी सबै विषयहरुमा बैठक बसेर गम्भीरतापूर्वक छलफल गरौं र पार्टी एकता कायम राखौं, पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गरौं, पार्टीका सबै निर्णय कार्यान्वयन गर्ने भनेर आग्रह गर्यौं’, उनले भने ।

तत्त्काल बैठक बोलाउनुपर्ने, स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीसँगको सल्लाहमा सरकारका गतिविधि सञ्चालन हुनुपर्ने माग राख्दै पाँच जना सचिवालय सदस्यहरु बालुवाटार पुगेका थिए ।

पत्र बुझाउनेमा अध्यक्ष प्रचण्डसहित, वसष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.