हैदराबाद क्वालिफायरमा, बैंगलोर बाहिरियो

२२ कार्तिक २०७७, शनिबार ०६:४०

एजेन्सी, कात्तिक २२ । सनराइजर्स हैदराबाद युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

आबुधाबीमा शुक्रबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै हैदराबादले क्वालिफायरमा स्थान बनाएको हो ।
शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।

हैदराबादको जितमा केन विलियम्सनले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । जासन होल्डरले अविजित २४ रन बनाए । यस्तै मनिस पाण्डेले २४ रन जोड्दा कप्तान डेभिड वार्नरले १७ रन बनाए । बैंगलोरका मोहमद सिराजले २ विकेट लिए । एडम जाम्पा र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्सले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आरोन फिन्चले ३२ रन जोड्दा शिबम दुबेले ८ रन जोडे । कप्तान विराट कोहली ६ रनमा आउट भए ।

मोहमद सिराज १० रनमा अविजित रहदा नाभदिप शैनी ९ रनमा अविजित रहे । हैदराबादका जासन होल्डरले ३ विकेट लिए । टि नटराजनले २ तथा शाहबाज नादिमले १ विकेट लिए । अब हैदराबादले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आइतबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

दिल्ली पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो । तर, आईपीएलको नियममा पहिलो क्वालिफायरमा पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने मौका पाउने प्राबधान रहेको छ । मुम्बई फाइनल प्रवेश गरिसकेको छ । दोस्रो क्वालिफायरको विजेताले फाइनलमा मुम्बईसँग खेल्नेछ ।बैंगलोर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.