तिहार र छठको मौका छोपेर खाद्यान्नमा मनलागी मूल्य

२३ कार्तिक २०७७, आईतवार १२:१९

काठमाडौं, कात्तिक २३ । दसैं सकिएलगत्तै बजारभाउ पुनः अकासिएको छ ।

दसैंको मुखमा अकासिएको बजार तिहारको चहलपहलसँगै फेरि बढ्न थालेको छ । चिनी, तेल, केराउ, दाललगायत खाद्यान्नको भाउ अत्यधिक बढेको खुद्रा व्यापार संघको तथ्यांक छ ।

संघका अनुसार डेढ सातामा खाद्यको भाउ किलोमै २० रुपैयाँसम्म वृद्धि भएको छ ।

‘दसैंलगत्तै मूल्य बढ्नुपर्ने अवस्था नभए पनि बजारभाउ चुलिएको छ,’ संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने, ‘मौज्दात पर्याप्त छ, मूल्य बढेका विषयमा होलसेल र आयातकर्ताले स्पष्ट जवाफ दिँदैनन् । चलखेलकै लागि यसो गरिएको हुन सक्छ ।’ डेढ साताअघि हरियो केराउको मूल्य प्रतिकिलो १ सय १५ रुपैयाँ थियो । अहिले होलसेलमै खरिद मूल्य १ सय २० रुपैयाँ पुगेको छ ।

‘ढुवानी, प्लास्टिकसहित उपभोक्तालाई १ सय ३५ रुपैयाँमा बिक्री गर्न बाध्य भएका छौं,’ उनले भने । उनका अनुसार महिनामा ५० किलो बिक्री गर्ने साना खुद्रा व्यापारीले किलोमा १५ रुपैयाँ नाफा राख्दा पनि लगानी उठ्दैन । व्यवसायीले केराउ न्युजिल्यान्ड, क्यानडा, अस्ट्रेलियालगायत मुलुकबाट ल्याउँछन् । नेपालका लागि आयात गरिएको केराउ पुनः भारत पठाउने गरिएको छ । जसले गर्दा यहाँ महँगो भएको अध्यक्ष श्रेष्ठको दाबी छ ।

‘नेपालको तुलनामा भारतमा पठाउँदा दोब्बर फाइदा छ, केराउ पुनः भारत गएको छ,’ उनले भने, ‘भारत गएपछि यहाँ महँगियो ।’ केराउजस्तै खाने तेल पनि भारत तस्करी भइरहेको छ । स्वदेशमा पर्याप्त उत्पादन नहुँदा तेल पनि आयातमै निर्भर हुनपर्ने बाध्यता छ ।

उद्योगीहरूले कच्चा पदार्थ आयात गर्छन् । त्यसपछि यहाँ रिफाइन गरेर पुनः भारत पठाउने गरेका छन् । आयातित तेल भारत गएपछि यहाँ मूल्यवृद्धि भएको व्यवसायी बताउँछन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.