बजारमा चहलपहल बढेपनि व्यापार छैन, मसला गत आवको भन्दा ५ सयसम्म सस्तो

२३ कार्तिक २०७७, आईतवार ०७:४८

काठमाडौं, कात्तिक २३ । तिहार नजिकिदै छ । बजारमा दशैंसँगै बढ्न थालेको मानिसको चहलपहल तिहार लागेपछि अझ बाक्लो भएको छ ।

यहि बेला असन, न्यूरोड, विशालबजार, मखनगल्ली, इन्द्रचोकलगायतका स्थान खचाखच छन् । बजार मानिसको चहल पहल धेरै भएपनि व्यापार भने त्यति नभएको व्यवसायीहरू बताउँछन् । 

लताकपडा र भाइमसलाकोमात्रै होइन खाद्यामन्न वाहेक अन्य वस्तुको पनि व्यापार त्यति छैन । मानिसको भिडभाड देखिएपनि पैसा खर्च गर्ने ग्राहक भने नआएको उनीहरूले बताए । 

गत वर्षभन्दा यसपटक मसलाको मूल्य सस्तो भएको छ । कोरोनाले गर्दा लामो समयसम्म व्यापार व्यवसाय बन्द हुँदा थन्किएर बसेको मसला, तलाकपडा तथा अन्य सामान बिग्रिने डरले व्यवसायीहरुले कम नाफामै बिक्री गरेको बताएका छन् । 

मखनगल्तीका मसला व्यापारी मानन्धरले मसलाको व्यापार गर्न थालेको २८ वर्ष भयो । सामान्य समयमाभन्दा तिहारको समयमा उनलाई व्यापार गर्न भ्याइ नभ्याइ हुन्थ्यो । खाजा खाने समेत फुर्सद नमिल्ने यति बेला उनीहरूको ग्राहको पखाईमा पसल कुरेर बसेका छन् । फाट्टफुट्ट व्याापर भएपनि उत्साह छैन। मानिसलाई कोरोनाको चिन्ता भएको उनले बताए । 

कुन मसलाको कति सस्तो ? 

यस वर्ष यी मसलाको मूल्य गत वर्षको तुलनामा सस्तिएको छ । मसलाको गुणस्तरअनुसार मूल्य तलमाथि छ । तर सबै पसलमा एकै खालको मूल्य भने देखिँदैन । तर पनि अन्य समयकोभन्दा केही सस्तो भने छ । 
तिहारको पाँचौँ दिनमा भाइटीकाका दिन हिन्दु परम्पराअनुसार आफ्ना दाजु भाइलाई दिदीबहिनीहरूले भाइमसला दिने प्रचलन छ । भाइ मसलामा काजु, पेस्ता, बदाम, ओखर, अञ्जिर, किसमिस, नरिवल, बदाम, मखना, छोकडा, ल्वाङ,  सुकुमेल, सुपारी, दालचिनीलगायत पर्छन् । 

काजु प्रतिकेजी १ सय  रुपैयाँदेखि २ सय रुपैयाँसम्मले घटेको छ भने किसमिस १सय रुपैयाँसम्म घटेको छ । बदम साढे २ सय रुपैयाँले यता पेस्ता ५० रुपैयाँले घटेको छ ।  नरिवल ५० रुपैयाँले घटेको छ भने छोकडा प्रतिकेजी २० रुपैयाँका दरले घटेको छ । ल्वाङ ५ सय रुपैयाँले र सुकुमेल केजीमा ५ सय रुपैयाँसम्मले घटेको छ ।  सुपारीको मूल्य भने यो वर्ष केही बढेको छ । अन्जिर २ सय, एक सयसम्म घटेको छ । दालचिनी पनि ५० रुपैयाँले घटेको छ । 

तीन महिना १ अर्ब २० करोड भाइ मसला

यद्यपि यस वर्षको तिहारका लागि १ अर्ब २० करोड १४ लाख ६१ हजार रुपैयाँ बराबरको भाइ मसला नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) मा ओखर, काजु, बदाम, किसमिस, पेस्ता, छोकडालगायतको गरी उक्त रकम बराबरको सामान अन्य मुलुकबाट नेपाल भित्रिएको भन्सार विभागको तथ्यांक छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.