आईटी क्षेत्रमा कोरोना प्रभाव : नाफा कम भएको हो, घाटा भएको छैन

२४ कार्तिक २०७७, सोमबार ११:५१

काठमाडौं, कात्तिक २४ । विश्वभर जनस्वास्थ्यमा कोलाहल मच्चाएको कोरोना भाइरसको महामारीले व्यापार-व्यवसायलाई पनि थला पारेको छ।

छिटपुट बाहेकका प्रायः सबै व्यापारिक तथा व्यावसायिक क्षेत्रहरू ‘स्लो-डाउन’ भइरहेका छन्। 

तर, इन्टरनेट तथा प्रविधि क्षेत्रसँग जोडिएको क्षेत्रमा भने कोभिड-१९ महामारीको खासै ठूलो प्रभाव नपरेको आकलन हुने गरेको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीहरूका लागि त कोरोना महामारी अवसर भएर आएको छ भने कपितय आईटी कम्पनीहरूका लागि पनि कोरोना महामारीले अवसर सिर्जना गरिदिएको छ।

कतिपय सूचना प्रविधिसम्बन्धी कम्पनीहरूमा महामारीको कुनै असर नपरे पनि कर्मचारीको संख्या र सेवा सुविधा कटौतीका लागि देखावटीरूपमा समस्या देखाइएको व्यवसायीहरू नै बताउँछन्।

“अन्य क्षेत्रमा जस्तो सोझै प्रभाव नपरे पनि महामारी र यसले निम्त्याएको लकडाउन र निषेधाज्ञाले ठप्प पारेको आर्थिक पक्षको केही प्रभाव परेको छ,” प्रतिष्ठित आईटी कम्पनी एफवान् सफ्ट इन्टरनेसनलका अस्गर अलि भन्छन्, “अन्य समयमा नै सेकेन्डरी पक्षका रूपमा हेरिने वेबसाइट, मोबाइल एप्लिकेसन जस्ता कुराहरूमा निर्भर रहने कम्पनीहरू अहिले क्यास फ्लो नै कम भइरहेको बेलामा संकटमा परेका छन्।”

“खासमा  ‘ह्युमन रिसोर्स’मा लगानी गर्ने समय चाहिँ यो हो। ठूला कम्पनीहरूको नाफा कम भएको हो। घाटा कम हुनेको त बिरलै होला। तर, धेरै कम्पनीहरूले खर्च कटौतीको नाममा कर्मचारीलाई बर्खास्त गर्ने नीच काम पनि गरिरहेका छन्।” – विभूषण विष्ट (सीईओ ,यङ्ग इनोभेसन प्रालि)

वेबसाइट तथा एप्लिकेसनको सफ्टवेयर तयार गर्ने काममा यो क्षेत्रमा विशेषगरी युवा वर्गले रोजगारी पाएका छन्। तर, अन्य व्यापार–व्यवसायमा आम्दानी नभएपछि आईटी कम्पनीका ग्राहक कम्पनीहरूको प्राथमिकताबाट यो क्षेत्र ओझेलमा परेको छ। र, त्यसको प्रत्यक्ष असर कम्पनीहरूमा घाटा देखिएको छ भने त्यसकै कारण बेरोजगारीसमेत उत्पन्न भएको छ।

तर, पुराना र ठूला कम्पनीहरू चल्नै नसक्ने अवस्था नरहेको भए पनि कतिपय संस्थाले महामारीको बहानामा कर्मचारी कटौती गरेको केही व्यवसायी बताउँछन्। 

“खासमा ‘ह्युमन रिसोर्स’मा लगानी गर्ने समय चाहिँ यो हो। ठूला कम्पनीहरूको नाफा कम भएको हो। घाटा कम हुनेको त बिरलै होला। तर, धेरै कम्पनीहरूले खर्च कटौतीको नाममा कर्मचारीलाई बर्खास्त गर्ने नीच काम पनि गरिरहेका छन्,” यङ्ग इनोभेसन प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विभूषण विष्ट भन्छन्, “हामीले व्यापार-व्यवसाय छोटो समयका लागि हेरेर लगानी गर्ने क्षेत्र होइन भन्ने बुझेका छौं। त्यसैले कर्मचारी थपेका छौं। सबै सुविधा- तलव वृद्धि, दसैँ बोनसलगायत केही पनि कटौती गरेका छैनौं।”

हुन त महामारीको सबैभन्दा बढी मारमा परेका कर्मचारी नै हुन्। रोजगारी गुमाउनुपर्दा उनीहरूको समस्या झन् दोब्बर भएको छ। कतिपय कम्पनी भने यतिबेला कर्मचारीलाई सन्तुष्ट राख्न सकियो भने कर्मचारीले पनि कम्पनीलाई विश्वास गर्ने र त्यसले कालान्तरमा कम्पनीलाई नै फाइदा हुने बुझेका छन्।

कम्प्युटर एशाेसिएसन नेपाल महासंघ (क्यान)मा अहिले २२० वटा आईटी कम्पनी सदस्य छन्। ती कम्पनीमा धेरैजसो युवा रोजगार छन्। तर, ठ्याक्कै कति भन्ने तथ्याङ्क कोहीसँग पनि छैन।

“यदि यो समयमा आफ्नो नाफा घटाएर भए पनि कर्मचारीलाई साथ दियौं उनीहरूका सबै अधिकार सुनिश्चित गर्न सक्यौं भने उनीहरूको इमान्दारिता पनि बढ्छ”, सीईओ विष्ट भन्छन्, “हाम्रो कम्पनीमा बरू आवश्यक जनशक्ति थपेका छौं। कुनै सुविधा पनि कटौती गरेका छैनौं। तर, यसै क्षेत्रका विभिन्न कम्पनीले कर्मचारीलाई दुःख दिएको पनि सुनेका छौं।”

तर, कम्पनीमा कस्तो प्रभाव पर्‍यो भन्ने कुरामा आम्दानीको स्रोत र कम्पनीका ग्राहकले पनि फरक पार्ने असगर अलि बताउँछन्। “एफवान् सफ्ट कम्पनीका धेरै ग्राहक बैङ्कहरू छन्। त्यसैले आर्थिक हिसाबले धेरै क्षति पुगेको छैन,” उनले भने।

त्यस्तै, सुरूआती र साना कम्पनीका लागि भने समस्या परेको हुन सक्ने सीईओ विष्टले बताए। “ठूला कम्पनीलाई धेरै समस्या नपरे पनि साना कम्पनीहरू, जसले दुई/चार जना साथीभाइको काम गरेर सानो संस्था चलाइरहेका छन् उनीहरू समस्यामा परेर र बन्द हुने अवस्थामा पनि पुगेका छन्”, उनले भने। 

कम्प्युटर एशाेसिएसन नेपाल महासंघ (क्यान)मा अहिले २२० वटा आईटी कम्पनी सदस्य छन्। ती कम्पनीमा धेरैजसो युवा रोजगार छन्। तर, ठ्याक्कै कति भन्ने तथ्याङ्क कोहीसँग पनि छैन।

क्यानका पूर्व अध्यक्ष तथा हाल नेपाल उद्योग वाणिज्य महासंघ प्रविधि समितिका सभापति विनोद ढकाल यो क्षेत्रमा हालसम्म कुनै पनि सर्वेक्षण नभएको गुनासो गर्छन्। “म क्यानको अध्यक्ष हुँदा पनि प्रत्येक वर्ष कति जनशक्ति उत्पादन हुन्छ, कतिले रोजगारी पाउँछन्, कति विदेश जान्छन्? भन्ने तथ्याङ्क निकाल्न र त्यसै अनुसार भावी योजना बनाउनका लागि सर्वेक्षण आवश्यक छ भनेर पहल गरेँ,” ढकाल भन्छन्, “तर, सम्बन्धित निकायले त्यसमा चासो दिएन र अहिलेसम्म यो क्षेत्रमा कति मानिस संलग्न छन् भन्ने अनुमानित संख्यासमेत भन्न सकिने अवस्था छैन।”

अनुमान गर्नका लागि पनि केही न केही आधार आवश्यक हुने भएकाले एकपटक पनि सर्वेक्षण नभएको यो क्षेत्रमा सम्बद्ध कुल जनशक्तिको अनुमान गर्न नसकिने उनी बताउँछन्।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.