दिल्ली क्यापिटल्स आइपीएल क्रिकेटको इतिहासमा पहिलाे पटक फाइनल प्रवेश

२४ कार्तिक २०७७, सोमबार ०६:२६

एजेन्सी, कात्तिक २४ । नेपाली क्रिकेटर सन्दिप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स आइपीएल क्रिकेटको फाइनल प्रवेश गरेको छ ।

गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल प्रवेश गरेको हो । शेख जायद क्रिकेट मैदानमा भएको खेलमा हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्लीले उपाधिका लागि मुम्बईसँगको भिडन्त पक्का गरेको हो ।

दिल्लीले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि केन विलियम्सनले ६७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । अब्दुल समादले ३३ र मनिस पाण्डे २१ रन बनाए ।

हैदराबादलाई सस्तैमा समेट्न दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । मार्कस स्टोनिसले ३ तथा अक्षर पटेलले १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ७८ रनको अर्धशतकीय इनिङ्स खेले । शिम्रन हिटमायर ४२ रनमा अविजित रहे । यस्तै मार्कुस स्टोनिसले ३८ र कप्तान श्रेयस एयरले २१ रन बनाए ।

हैदराबादका जासन होल्डर, सन्दीप शर्मा र राशिद खानले १/१ विकेट लिए । अब दिल्लीले उपाधिका लागि साविक विजेता समेत रहेको मुम्बई इण्डियन्ससँग खेल्नेछ । फाइनल खेल मंगलबार दुबईमा हुनेछ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.