सुस्तामा पहिलो पटक बिजुली पुग्यो, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२४ कार्तिक २०७७, सोमबार १५:१२

परासी, कात्तिक २४ । सुस्तामा पहिलो पटक विद्युतकाे पहुँच पुगेको छ ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारि पर्ने विकट क्षेत्र बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पु¥याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।

नारायणी नदीका कारण राष्ट्रिय प्रसारणलाइन लैजान असहज हुँदा वर्षौँदेखि सुस्तावासी अन्धकारमा बस्दै आएका थिए । टुकीको भरमा जीवन बिताउँदै आएका स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै सरकारले सौर्य प्लान्टमार्फत बिजुलीको व्यवस्था गरेको हो ।

ग्रिड निर्माण सम्पन्न भइसकेकाले अब घर घरमा बिजुली बाल्न मात्र बाँकी रहेको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।

बिजुली बाल्न अहिले घर घरमा तार जडान गरिएको छ । टपसन इनर्जी प्रालीले निर्माणको जिम्मा पाएको उक्त सौर्य ग्रिडको एकवर्ष अघि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शिलान्यास गरेका थिए ।

कूल रु चार करोड ८० लाख ९२ हजार २६८ मा निर्माण गरिएको ग्रिडमा ६० प्रतिशत अर्थात रु दुई करोड ८८ लाख ५५ हजार ३६१ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान छ भने तराई–मधेस समृद्धि कार्यक्रमको रु एक करोड ७५ लाख र सुस्ता गाउँपालिकाको रु १७ लाख ३६ हजार ९०७ लगानी रहेको छ ।

तिहारअघि नै सुस्तालाई झिलिमिली बनाउने गरी सौर्य ग्रिडको उद्घाटन गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष पाण्डेले जानकारी दिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.