८० वटा जिल्ला कार्यालय सञ्चालन हुने
काठमाडाैं, कात्तिक २५ । आउँदो वर्ष हुने जनगणनाका दौरान एउटा परिवारलाई जम्माजम्मी ८० वटा प्रश्न सोधिने भएको छ । विभिन्न तीन विषयमा ८० वटा प्रश्न सोधिने भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
त्यसमा घरपरिवार तथा लगतसम्बन्धी २५ वटा प्रश्न सोधिनेछ । मूल प्रश्नावलीमा विभिन्न ५५ वटा प्रश्न गरी जम्मा ८० वटा सोधिने विभागमा महानिर्देशक नवीनलाल श्रेष्ठले बताउनुभयो । यसपटक सामुदायिक प्रश्नसमेत सोध्ने तयारी छ । यी प्रश्न सम्बन्धित वडा कार्यालयले भर्नेछ ।

महानिर्देशक श्रेष्ठका अनुसार वडामा राजस्व संकलनको स्रोत, कृषि उपज तथा गैरकृषि उत्पादन र निकासीको अवस्था, वडाको आम्दानीको स्रोत, आर्थिक पूर्वाधारको अवस्था, सेवा, सुविधाको पहुँच, विपद्सम्बन्धी विवरणसमेत संकलन गरिने भएको छ ।
व्यक्तिगत प्रश्नतर्फ घरसम्बन्धी विवरण, कृषिमा प्रयोग भएको जग्गा र क्षेत्रफल, पशुपक्षी, वित्तीय सुविधा, पहँुच, व्यावसायिक शिक्षा र तालिम प्राप्त व्यक्ति, सरकारी अनुदानमा बनेका घरको समेत विवरण संकलन गरिने भएको छ ।
घरपरिवारले प्रयोग गरेका सुविधा, खानेपानी, खाना पकाउने इन्धन, शौचालय, टिभी, फोन, महिलाका नाममा भएका घरजग्गा, घरेलु उद्योगको विवरण, विदेशमा रहेका आफन्त, परिवारका सदस्यले गर्ने काम, काम नगर्ने भए त्यसको कारणसमेत खोजी गरिने भएको छ ।
जनगणनाको कामलाई सहजीकरण र व्यवस्थित गर्न केन्द्रदेखि वडास्तरसम्म विभिन्न समिति बन्ने भएका छन् । अघिल्लोपटक २०६८ सालमा जनगणना गर्दा देश संघीय संरचनामा गएको थियो । संघीय संरचनामा गएपछिको हुन लागेको यसपटकको जनगणनामा प्रदेशस्तरीय संरचनाको पनि विकास गरिएको छ ।
प्रदेशमा उपसचिवस्तरको प्रदेश जनगणना अधिकारी रहनेछन् । त्यसका लागि प्रदेशस्तरको जनगणना कार्यालय रहनेछ । जिल्ला जनगणना कार्यालयका रूपमा ८० वटा कार्यालय रहनेछन् । यस्तै ७ वटा प्रदेश कार्यालय रहनेछ ।
यस्तै ७ सय ५३ वटा स्थानीय तहमा ३ सय ४९ वटा स्थानीय जनगणना कार्यालय रहनेछन् । यस्तै हरेक प्रदेशमा प्रदेश समन्वय समिति रहनेछ । ती समितिको अध्यक्षमा प्रदेशका मुख्य सचिव रहनेछन् । यस्तै जिल्ला जनगणना समन्वय समिति रहनेछ, जसको अध्यक्षमा प्रमुख जिल्ला अधिकारी रहनेछन् ।
यस्तै ७ सय ५३ वटै स्थानीय तहमा स्थानीय जनगणना समन्वय समिति गठन गरिनेछ । यो समितिभन्दा मुनि पनि अर्को समिति रहनेछ, जसलाई वडा गणना सहजीकरण समिति भनेर नाम दिइएको छ । यो समिति वडाध्यक्षको अध्यक्षतामा गठन हुनेछ, जसमा वडा सदस्य तथा नागरिक समाजको प्रतिनिधिसमेत रहनेछन् । ६ हजारभन्दा बढी वडाहरुमा यस्ता समिति गठन गर्ने तयारी गरिएको छ ।
अगामी चैत १ गतेदेखि प्रत्येक जिल्लामा जिल्ला जनगणना कार्यालय खुल्नेछ । यस्तै सात प्रदेशमा पनि कार्यालय खुल्नेछ । ७७ जिल्ला भए पनि जनसंख्या धेरै भएका केही जिल्लामा थप कार्यालय गरेर ८० वटा जिल्ला कार्यालयहरु सञ्चालन हुनेछन् ।
काठमाडौं जिल्लामा भने ५ वटा जिल्ला जनगणना कार्यालय खोल्ने तयारी छ । यसरी प्रदेश र जिल्ला गरेर ८७ वटा कार्यालय खोलिनेछ । यस्तै स्थानीय तहमा भने २०७८ वैशाख १ गतेदेखि कार्यालय सञ्चालन गर्ने तयारी छ । मुख्य गणना जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुनेछ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com