सेयर बजारमा उछाल : ३ बर्षपछि बजार १७ सयको विन्दुमा, कारोबार रकम ४ अर्व भन्दा माथि

२६ कार्तिक २०७७, बुधबार १५:४२

काठमाडौं, कात्तिक २६ । सेयर बजारले ३ वर्षपछि १७०० अंक पार गरेको छ । बुधबार नेप्से परिसूचक २८.८९ अंकले बढेर १७०७.६८ बिन्दुमा पुगेको हो । 

तीन वर्ष पछि नेप्से इन्डेक्स १७०० माथि पुगेपछि लगानीकर्ताहरु उत्साहित देखिएका छन् । यसअघि बजार २०७३ चैत २९ गते पनि नेप्से इन्डेक्स १७०९।८२ विन्दुमा पुगेको थियो । त्यसबेला एक अर्ब ९० करोड ७४ लाख रूपैयाँ मात्रै कारोबार भएको थियो । यस्तै २०७३ कार्तिक २९ गते १७०६.२८ विन्दुमा पुगेको थियो ।

बुधबार १९५ वटा कम्पनीको एक करोड २५ लाख ३६ हजार ६५१ कित्ता शेयर किनबेच भएर ४ अर्ब ९ करोड ९६ लाख रुपैयाँमा बराबरको कारोबार भएको छ । मंगलबार पनि ४ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएका उपसमुहहरुमध्ये ११ वटा उपसमुहको सूचक सकारात्मक देखिएको छ भने एउटा उपसमुहको सूचक मात्रै नकारात्मक देखिएको छ ।
व्यापार उपसमुहको सूचक सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमुहको सूचक ६.२१ प्रतिशत, अन्यको ४.१२, निर्जीवन बीमाको ४.०२ प्रतिशतले बढेको छ ।

यस्तै बुधबार ६ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.