प्रस्तावित राजदूतहरूको नाम सर्वसम्मतले अनुमोदित

२७ कार्तिक २०७७, बिहीबार १९:२४

काठमाडौ, कात्तिक २७ । संघीय संसदको संसदीय सुनुवाई समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरूको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

संसदीय सुनुवाई समितिको बिहीबारको बैठकले अमेरिकाका लागि युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्माको नाम सुनुवाई पछि अनुमोदन गरेको हो । बैठकमा सांसदहरुले प्रस्तावित राजदूतहरुको कार्यदक्षता, कार्ययोजना र राजदूतमाथि लागेका आरोपहरुका बारेमा जिज्ञासा राखेका थिए ।

सांसदका प्रश्नको जवाफमा प्रस्तावित राजदूतहरुले आफू सम्बन्धित देशसँगको कुटनीतिक सम्बन्ध बलियो बनाउने, त्यहाँ रहेका नेपालीको हितमा काम गर्ने, विदेशी लगानी भित्राउने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन ।

संसदीय सुनुवाई समितिबाट अनुमोदित भएका प्रस्तावित राजदूतहरूलाई राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ । खतिवडा पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्री केपी ओलीका आर्थिक सल्लाहकार हुन् भने रेग्मी मुख्यसचिवबाट राजीनामा दिएपछि राजदूतमा सिफारिस भएका हुन् । असोज १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडा, रेग्मी र विकलाई राजदूतमा सिफारिस गरेको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.