माधव नेपाललाई ओलीको प्रस्तावः प्रचण्डसँग मिल्न सकिन्न, रोजेर पद लिनूस्

१ मंसिर २०७७, सोमबार ०६:५१

काठमाडौैं, मंसिर १ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले नेता नेपाललाई बोलाएर पार्टीभित्र देखा परेका समस्याबारे छलफल गरेका हुन् । भेटका क्रममा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीबारे असन्तुष्टी जनाएका छन् । उनले प्रचण्डसँग मिल्न नसक्ने बताएको स्रोतले जानकारी दियो ।

‘अध्यक्ष प्रचण्डसँग मिलेर जान नसक्ने र पार्टी फुट्ने जस्तो संकेत दिनुभएछ’, नेता नेपाल निकट एक नेताले भने, ‘प्रधानमन्त्रीले सँगै मिलेर जान माधवजीलाई प्रस्ताव गर्नुभयो र सचिवालयका पाँच जना सदस्यले बुझाएको राजनीतिक प्रस्ताव फिर्ता लिन पनि आग्रह गर्नुभएछ ।’

त्यस्तै प्रधानमन्त्री ओलीले नेता नेपाललाई चाहिएको पद दिन तयार भएको बताएका थिए । उनले नेता नेपाललाई पार्टी अध्यक्ष वा अन्य कुनै महत्वपूर्ण पदका लागि अफर गरेका छन् ।

‘तपाईलाई जे चाहिन्छ त्यो पद दिन म तयार छु । मिलेर अगाडि बढौं भनेको सुनेको छु’, ति नेताले भने, ‘उहाँले पूर्व एमाले ब्यूताउँने र त्यसमा सहभागी हुन आग्रह गुर्नभएछ ।’

जवाफमा नेता नेपालले कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिने अडान लिएका थिए । उनले प्रधानमन्त्री ओलीलाई आफ्नो कार्यशैली सच्याएर अघि बढेमात्रै साथ दिने बताएका थिए । पाँच जना सचिवालय सदस्यले प्रस्तुत गरेको राजनीतिक दस्तावेजलाई प्रचण्डको एकल निर्णय नमान्न पनि नेता नेपालको सुझाव थियो ।

‘उक्त राजनीतिक प्रस्ताव फिर्ता हुँदैन । तपाईले आत्मआलोचनासहित कार्यशैली सच्याउनुपर्छ’, स्रोतले भन्यो, ‘मलाई पदको लोभ देखाउने भन्दा पनि जनताको मन जित्ने काम गर्नुस् । मलाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष केही पनि चाँहिँदैन ।’

नेकपा सचिवालय बैठक मंसिर ३ गतेका लागि बोलाइएको छ । नेकपाभित्र देखिएको विवाद समाधानका लागि गत कात्तिक २७ गतेको सचिवालय बैठक ३ गतेका लागि सारिएको हो । प्रधानमन्त्रीको कार्यशैलीप्रति रुष्ट हुँदै आएका पाँच जना सचिवालय सदस्यहरुले पटकपटक बैठक बोलाउन माग गर्दै आएका थिए । बहुमत सचिवालयमा अध्यक्ष प्रचण्ड, नेता नेपालसहित झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.