दुई अध्यक्षको विवाद अव पार्टि भित्रको मात्र रहेन : गगन थापा

३ मंसिर २०७७, बुधबार १९:४६

काठमाडौं, मंसिर ३ । नेपाली कांग्रेसका नेता गगन थापाले नेकपाका दुई अध्यक्षको विवाद पार्टि भित्रको आन्तरिक विवादमा सिमित नभएको टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत प्रचण्डले सचिवालय बैठकमा पेस गरेको प्रतिवेदनमा ओलीमाथि लगाएका आरोप राष्ट्रिय सरोकारको विषय भएको बताएका हुन् ।

थापाले प्रचण्डले आफ्नै पार्टीका तर्फबाट बनेका प्रधानमन्त्रीको सन्दर्भमा उठाएका एकएक प्रकरणको हिसाबकिताब संसद् र सडकबाट माग्ने पनि बताएका छन् । सरकारमाथि नेकपाकै अध्यक्ष प्रचण्डले उठाएका प्रश्न नेकपाभित्रको कुरा मिल्दैमा अब फिर्ता नहुने पनि उनले बताएका छन् ।

सरकारको अनियमितता, भ्रष्टाचार, अपराध, कुशासन लगायतमा नेकपाको अध्यक्षले आफ्नो पार्टीको प्रम र सरकारको बारेमा जे ठहर गर्नुभएको छ अब दुई अध्यक्षको मन-मुटु मिल्दैमा, गुटहरू जोड्दैमा, कोही आएर रातारात मिलाइदिँदैमा अनि एक भयौँ भनेर हात मिलाउँदैमा, आत्म आलोचना गर्दैमा अनि प्रस्ताव फिर्ता लिँदैमा सकिने विषय होइनन्, सकिँदैनन् । यस्ता विषय बैठकमा मन पखालेर पखालिँदैन, अव बिर्सौँ भनेर बिर्सिइँदैन । यी सार्वजनिक चासो र राष्ट्रिय सरोकारका विषय हुन् र यी विषयको उत्तर आरोपीले दिनुपर्छ, आरोप लगाउनेले दिनुपर्छ, प्रधानमन्त्रीले दिनुपर्छ, नेकपाले दिनुपर्छ’ थापाले भनेका छन् ।

उनले भारतीय गुप्तचर प्रमुखसँगको प्रधानमन्त्रीको भेटको विषय अनि नेकपाका नेताहरूले चिनिया राजदूतसँग गरेको भेटघाट समेतका बारेमा प्रधानमन्त्री र नेकपाले उत्तर दिनुपर्ने बताएका छन् ।

उनले वाइड बडी विमान खरिद प्रकरण, सुरक्षण छापाखाना खरिद र सञ्चार मन्त्रीको टेप प्रकरण, यति होल्डिङ्स सँगको अपारदर्शी र शंकास्पद कारोबार, स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहसँग साँठगाँठ र बजेट सार्वजनिक गर्नु पूर्व गोप्य राख्नुपर्ने करको दर रेट परिवर्तनलाई चुहाएर विद्युतीय सवारी र चकलेट आयातमा अनियमितता जस्तो प्रकरणमा मुछिएकाहरूको प्रतिरक्षा गरेको आरोप ओलीमाथि लगाएका थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.