प्रचण्डलाई राष्ट्रपतिको आग्रहः दुवै अध्यक्ष मिलेर जानूस्

३ मंसिर २०७७, बुधबार ०६:३५

काठमाडाैं, मंसिर ३ । राष्ट्रपति विद्या भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीभित्रका समस्या हल गरेर अगाडि बढ्न आग्रह गरेकी छन् ।

मंगलबार साँझ शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले पार्टीभित्रका समस्याहरुलाई बैठकबाट समाधान निकाल्न आग्रह गरेकी हुन् । उनले दुवै अध्यक्षलाई मिलेर जान सुझाव दिएकी छन् ।

‘राष्ट्रपतिज्यूले पछिल्लो समय पार्टीभित्रका समस्याहरुबारे चासो राख्नुभयो । अध्यक्ष प्रचण्डको ब्रिफिङ सुनेपछि बैठकका माध्यमबाट समस्या समाधान गर्न र दुवै जना अध्यक्ष मिलेर जान सुझाव दिनुभयो’, स्रोतले भन्यो ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले पार्टीभित्रका समस्याबारे छलफल भएको जानकारी दिए । उनले बुधबारको सचिवालय बैठक स्थगित नहुने जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलीको बैठक स्थगित गर्न महासचिव विष्णु पौडेलमार्फत अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । तर, अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.