राजनीतिक प्रस्ताव स्थगित गर्न सरकारका प्रवक्ताको प्रचण्डलाई आग्रह

३ मंसिर २०७७, बुधबार ०५:५०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेकपा अध्यक्ष पुष्पकमल दाहालले गत शुक्रबारको सचिवालय बैठकमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव स्थगित गर्न आग्रह गर्नुभएको छ ।

मंगलबार साँझ फेसबुकमा स्टाटस लेख्दै मन्त्री गुरुङले पार्टीको विवाद मिलाउनका लागि आफू लगायतका धेरै कार्यकर्ता त्याग गर्न तयार रहेको बताउनुभएको छ ।

‘स्थिर सरकारको मूल नेतृत्व परिवर्तनबाहेक म लगायत धेरै नेता, कार्यकर्ताहरु आवश्यक परे मन्त्री वा आफ्नो पद त्याग गर्न पनि तयार छौं,’ उहाँको फेसबुक स्टाटसमा उल्लेख छ ।

कोभिड संक्रमण बेला प्रतिपक्षी दलले पनि सहयोग गरिरहेको अवस्थामा आफ्नै पार्टीबाट असहयोग र विवाद झिक्ने काम भएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

‘कोभिड–१९ का कारण राष्ट्रको सामू चौतर्फी संकट भएको बेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्षको भूमिकाबाट नेपालको समृद्धि, पार्टी एकताको नीति, सिद्धान्त, विचार र विधान विपरित पार्टी विभाजन गर्ने, क्रान्ति होइन् प्रतिक्रान्ति निम्त्याउने प्रस्तावलाई स्थगित गरौं,’ मन्त्री गुरुले स्टाटसमा लेख्नुभएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.