कोरोना लाग्न नदिन वा लागेपछि निको हुन् कुन कुन जडिबुटि खाने ? (भिड्यो सहित )

८ मंसिर २०७७, सोमबार ०९:५६

काठमाडौं– कोरोनाकालमा जडिबुटी र ‘आयुर्वेदिक’ औषधिको बजार तातेको छ। कोरोना भाइरसविरुद्ध मानिसहरुले आफ्नै तरिकाको प्रयोग गरिरहेका छन्– कतै बेसार हालेको दूध त कतै तुलसी चिया र कतै गुर्जोको झोल।

यी जडिबुटीले कोरोनाको संक्रमण हुन नदिन वा भएपछि सञ्चो बनाउन कस्तो भूमिका खेल्छन् भन्नेबारे कुनै वैज्ञानिक आधार नभए पनि नेपालमा यस्ता जडिबुटीको बजार निकै ठूलो भएको छ।

काठमाडौं, बालाजुकी रिता बास्तोलाको बिहान तुलसी चियासँगै सुरु हुन्छ। उनले परिवारका सबैलाई बिहान तुलसी चिया खुवाउँछिन्। पछिल्लो चार महिनादेखि रिताले आफ्नो खानामा अन्य जडिबुटीको प्रयोग पनि बढाएकी छन्।

आयुर्वेदिक औषधि र जडिबुटीले रोग प्रतिरोधात्मक क्षमता बढाउने उनको विश्वास छ। भन्छिन्, ‘जडिबुटी सेवनले कोरोना संक्रमित भइहाले पनि त्यसलाई परास्त गर्न सहयोग पुग्छ भन्ने विश्वास छ।’

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको संख्या २ लाख २० हजार नाघेको छ। कोरोनाको चपेटामा परेर मृत्यु हुने १३ सय २१ जना छन्। यसैबीच ठूलो जनसंख्याले प्राचीन ‘आयुर्वेदिक’ औषधिको उपयोग बढाएको छ र, मानिसहरुको यो माग पूरा गर्न बजार तयार छ।

नेपालगञ्जकी अमृता दुबे आफ्ना पतिलाई ज्वरो आएको दिनदेखि गुर्जो उमालेर त्यसको रस खुवाइरहेकी छन्। उनीसँग सीमावर्ती बजारबाट ल्याइएका पतञ्जलीका कोेरोनाविरुद्ध दाबी गरिएका केही औषधि पनि छन्।

पहिल्यैदेखि कमजोर स्वास्थ्य सेवाका कारण महामारीले मानिसको ब्याकुलता झन् बढाइदिएको छ। जानकारहरुका अनुसार नेपालमा परीक्षण कम भइरहेका कारण संक्रमितको संख्या कम देखिएको हो। वास्तविक संक्रमित सरकारी तथ्यांक भन्दा कैयौं गुना धेरै छन्।

कोरोनाविरुद्ध आयुर्वेदिक औषधि र जडिबुटी कति प्रभावकारी छन् भन्ने वैज्ञानिक प्रमाण अहिलेसम्म छैन, न त कुनै अनुसन्धान भएको छ। तर, हाम्रो स्वास्थ्य सेवा, सरकारको कमजोर प्रयास र विश्वभर कतै पनि कोरोनाविरुद्धको खोप वा औषधि तयार नहुनुले मानिसको झुकाव आयुर्वेदिक औषधि र जडिबुटीतर्फ बढेको छ।

13 Ayurvedic Remedies to Improve Digestion

उसो त रुघाखोकीदेखि घातक रोगहरुसम्ममा प्राकृतिक चिकित्साको भर पर्नुपर्ने वाध्यता अझै पनि हाम्रा गाउँहरुमा छ।

आयुर्वेद ५ हजार वर्ष पहिले लेखिएको मानिन्छ। त्यसअघि पनि मानिसहरु जडिबुटी र प्राकृतिक चिकित्सामै निर्भर थिए। अनेकन रोग र महामारीसँग जुध्न आयुर्वेद, परम्परागत औषधि र जडिबुटीकै सहारा थियो। त्यसैले मानिसहरुलाई जडिबुटी प्रयोग गर्न सहज छ।

आयुर्वेद र जडिबुटीलाई प्रधानमन्त्री केपी ओलीले पनि निकै बढावा दिएका छन्। बेसार, टिमुर र जिराजस्ता जडिबुटी खाने बानीले नेपालीको रोगप्रतिरोधि क्षमता बढाएको उनको मान्यता छ।

अचेल एलोप्याथिक औषधि पसलहरुमा समेत आयुर्वेदिक औषधि र जडिबुटी राखिएको पाइन्छ।

काठमाडौं अनामनगरमा रहेको ग्रोबेल आयुर्वेद फर्माका डा. आशिष झाका अनुसार पछिल्लो ६ महिनादेखि आयुर्वेदिक औषधिको व्यापार एक्कासी बढेको छ ।

आयुर्वेदिक औषधिलाई पैसा कम पर्नेे र यसको ‘साइड इफेक्ट’ पनि खासै नहुने भएकाले यस्ता औषधिको महत्त्व झन् बढेको उनी दाबी गर्छन्।

सरकारले ‘आयुर्वेद र वैकल्पिक चिकित्सा पद्धतिमार्फत कोरोना भाइरसको रोकथामका उपाय र व्यवस्थापन सम्बन्धी निर्देशिका’ पनि तयार पारेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रवक्ता मेघनाथ धिमालका अनुसार परिषदले जडीबुटीबाट बनेका विभिन्न परिकारले कोरोना नियन्त्रणमा कति सहयोग पुर्‍याउँछ भनी अनुसन्धान सुरु गरिसकेको छ ।

जडिबुटीबाट औषधि उत्पादन गर्ने सरकारी निकाय सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा. वंशदीप शर्मा खरेल यस्ता औषधिले रोग प्रतिरोधी क्षमता विकास गर्ने भएकाले कोरोनाकालमा प्रयोग बढेको बताउँछन् ।

उनका अनुसार गुर्जोबाट बनेको गुडुची चिया, तुलसी चिया, जेठीमधु चूर्ण, अमालकी चूर्ण, अश्वगन्धा चूर्ण लगायतको माग ३०० प्रतिशतसम्म बढेको छ।

डा. खरेल भन्छन्, ‘आयुर्वेदिक औषधिहरुको प्रभावकारिता पनि देखिएको छ। हुन त यो अनुसन्धानको पाटो हो तर, जसले आयुर्वेदिक औषधिको प्रयोग गरेका छन् उनीहरु छिटो संक्रमणमुक्त भएको देखिन्छ।’

सबैभन्दा धेरै बिक्रीचाहिँ चियाको रुपमा खान सकिने औषधिहरुको भएको उनको भनाइ छ।

उसो त वैकल्पिक उपचारको भोकले विवादित र छद्म औषधिको खरिद बिक्री पनि बढेको छ– जसले कोरोना ठिक पार्ने दाबी गर्छन्।

यसअघि बैद्यखानामा बनेको तुलसी चियाको बिक्री वार्षिक ७ हजार पोका हुने गरेकोमा यस वर्ष सात महिनामै २० हजार भन्दा बढी पोका बिक्री भइसकेको छ।

यसै वर्षदेखि बनाउन सुरु गरिएको गुर्जोको गुडुची चियाको माग धान्न धौ धौ परेको उनी बताउँछन्। अश्वगन्धा, ज्येष्ठवासादी चूर्ण, जेठीमधुको माग पनि त्यसैगरी बढेको छ।

जनस्वास्थविद् डाक्टर शरद वन्त भन्छन्, ‘आधिकारिक रूपमा सरकारी स्तरबाट पनि हामीले आयुर्वेदलाई मान्यता दिएका छौं। तर वैज्ञानिक खोज र अनुसन्धानबाट प्रमाणित भएका कुरा बढी विश्वसनीय हुन्छन्। त्यस्ता खोजका दस्तावेज नभएसम्म कतिपय दाबीहरूलाई स्वीकार गर्न असहज हुन्छ ।’

आफूखुसी प्रयोग नगर्नु

कोरोना संक्रमणपश्चात मानिसहरुले जडिबुटी र आयुर्वेदिक औषधिको प्रयोग आफूखुसी बढाएकोप्रति चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन्।

अन्य औषधिजस्तै आयुर्वेदिक औषधि पनि मात्रा मिलाएर चिकित्सकको सल्लाहमा खानुपर्ने आयुर्वेदका चिकित्सक डा. ऋषिराम कोइराला बताउँछन्। उनका अनुसार चाँडो निको हुने भन्दै आफूखुसी प्रयोग गर्दा यस्ता औषधि घातक भैदिन पनि सक्छन्।

सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा.वंशदीप शर्मा खरेल पनि आयुर्वेदिक औषधिहरु मात्रा मिलाएर र चिकित्सकको सुझावमा खान सुझाव दिन्छन् ।

डा. कोइराला कोरोनाकालमा आयुर्वेदको महत्त्व झन् बढी स्थापित भएको बताउँछन्। उनी भन्छन्, ‘यसबारे आम मानिसमा अझै चेतना फैलाउन जरुरी छ।’

संक्रामक रोग विज्ञहरु भने कुनै पनि औषधि आफूखुसी खानु गलत भएको बताउँछन्। आधुनिक भिटामिन र एन्टिबायोटिक पनि जथाभावी सेवन गर्नु नहुने बताउने संक्रामक रोग विज्ञ डा. अनुप सुवेदी अहिलेसम्म कोरोना भाइरसका लागि कुनै भिटामिन वा औषधि नबनेकाले जथाभावी औषधिको प्रयोग नगर्न सुझाव दिन्छन्।

कोभिड– १९ विरुद्ध अहिलेसम्म कुनै प्रामाणिक औषधि नबनेको हुँदा आपसी दूरी कायम गर्न, मास्क लगाउन र साबुन पानीले हात धोइरहन भने बिर्सनु हुँदैन।

साभार: नेपाल समय

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.