मुकारूङको दमिनीभीरः एक ‘पोलिफोनी’

९ मंसिर २०७७, मंगलवार १९:३३

‘आधार कथा’, ‘कथाआरम्भ,’ ‘मध्यकथा,’ ‘उत्तर कथा,’ र ‘कथान्त’ उपशीर्षक राखेर लेखिएको उपन्यास ‘दमिनीभीर’ अझ सत्तामा रहेका मानिसले पढ्न लायक उपन्यास हो । सदियौँदेखि सत्ताले सीमान्तकृत समुदायलाई समेट्न सकेको छैन तर यस उपन्यासका लेखक राजन मुकारूङले त्यो आवाजलाई समेटेर बुलन्द बनाएका छन् यस उपन्यासको भाषा, विषयवस्तु र बनौटको माध्यमद्वारा ।

सृजनशील अराजकता’ नामक साहित्यिक आन्दोलनका अग्रणीमध्ये एक मुकारूङले जातीय पहिचानलाई कसरी नेपाली साहित्यमा समावेश गरेका छन् भनेर बुझ्न ‘दमिनीभीर’ नै काफी छ । ‘युनिक छ’ सृजनशील अराजकताको नमुना । यो उपन्यासले सृजनशीलतामा अराजकता नभएर सत्ताको, प्रणालीको, विधिको, शासनको अराजकताको पटाक्षेप गर्छ । त्यसको उपहास गर्छ । त्यसको विरुद्धमा छ उपन्यास ‘दमिनीभीर’।

यद्यपि, परम्परागत शैलीमा लेखिने उपन्यासभन्दा केही असाधारण लाग्छ पढ्दै जाँदा यो उपन्यास  र लाग्छ सायद समय लेख्न, यथार्थ चित्रण गर्न परम्परागत शैली अलिकति भत्काइनुपर्छ । समाज, समुदाय, सत्ता, शासन, संस्कृति, र सभ्यता बुझ्नचाहने पाठकहरूका लागि भने यो उपन्यास एउटा दृष्टान्त हो । बौद्घिक पाठक र पठनको माग गर्छ यो उपन्यासले ।  एउटा बौद्घिक बहसको सुरुवात गर्छ यो उपन्यासले । ‘आधार कथा’बाट सुरु हुन्छ उपन्यास । शैक्षिक खोजमूलक लेखनमा झैँ सन्दर्भ र परिवेशबाट सुरु हुन्छ कथा ।

कथाभित्र उपकथाहरू बग्रेल्ती भेटिन्छन् । रसियन साहित्यिक समालोचक मिखाईल बाख्तिनका शब्दमा भन्ने हो भने ‘पोलिफोनी’ छ कथाभित्र । अर्थात् सीमान्तकृत वर्गको आवाज छ जसले केन्द्रियतालाई भत्काउँछ र महिला, जनजाति, गरिब र दलितहरूको आवाजलाई अझ भरपर्दो र विश्वसनीय ढङ्गले मुखरित बनाउँछ । ‘सेन्टर’ र ‘मार्जिन’बीचको जुन ‘हाइ¥यार्की’ (सोपान) छ समाजमा, उपन्यासले त्यसको विघटन गर्छ । कथाभित्र पात्रहरू भेटिन्छन्, पात्रहरूभित्र पात्रहरू भेटिन्छन्, अनि फेरि कथाभित्र नाटक भेटिन्छ, अनि नाटकभित्र जीवन । आवाजविहीनहरूको आवाज भेटिन्छ । राज्यसत्ताका बिम्बहरू लबालब छन् कथाभित्र ।

कतै उद्गारहरूको सहायता लिँदै विषयवस्तुलाई उजागर गर्दै लगिएको छ त कतै तिनीहरूकै विश्वसनीयतामा प्रश्न तेर्साइएको भेटिन्छ ।

यो उपन्यास, उपन्यास हुनुको साथसाथै सीमान्तकृत वर्गको संस्कृति, भाषा र रहनसहनको दस्तावेज पनि हो भन्ने लाग्छ ।

समाजको यथार्थलाई जस्ताको तस्तै टिपेर थपक्क राखेजस्ता लाग्छन् सम्वादहरू । गालीगलौज र अश्लील अभिव्यक्तिले उपन्यास पढ्दा बौद्घिक पाठकको दाँतमा ढुङ्गो लाग्नुपर्ने हो तर त्यस्तो नभएर अझ सहज र स्वाभाविक लाग्छन् सम्वादहरू ।

विभिन्न कालखण्डका कथाहरू जोडिएका छन् उपन्यासमा जसलाई पर्गेल्न अध्यनशील, अनुभवी र बौद्घिक पाठकको खाँचो पर्छ  ता कि उसले ती घटनाहरूलाई सिलासिलाबद्घ रूपमा ‘कनेक्ट’ गर्दै लान सकोस् ।

प्रकृतिको वर्णन गर्दै, दृश्यहरूको रेखाङ्कनमा, त्यसलाई जीवन–जगत् र मानवीय व्यवहारसँग तुलना गर्दै, पाठकलाई त्यसको महसुस गराउँदै डो¥याउन सक्नु यो उपन्यासको अर्को सबल पक्ष हो ।

कथाले मलाई कतिबेला तान्ला’ भनेर आस गर्दै पढ्ने हो भने यो उपन्यास नपढे पनि हुन्छ । यो मेरो नितान्त पाठकीय अनुभव हो तर जीवन, गाउँ, समुदाय, परिवेश, वास्तविकता, जातीयता, भौगोलिकता, सीमान्तकृत वर्गप्रतिको शासकीय व्यवहार, लेखाइको सुन्दरता, सम्वादको जीवन्तता, आवाजविहीनहरूको आवाज बुझ्ने, सुन्ने र मनन गर्नका लागि हो भने यो उपन्यास एउटा उत्कृष्ट नमुना हो ।

केही शब्दावलीहरूलाई पछाडिको पृष्ठमा अर्थसहित दिनुले यस उपन्यासको गरिमा अझ बढाएको छ ।

यस उपन्यासमा ठूला कमजोरीहरू खासै केही छैनन् । वाक्य गठन उत्कृष्ट लाग्छ । परिवेशको वर्णन र चित्रण कुनै पेन्टरको भन्दा कम छैन । यी समस्त सबलताका बाबजुद ‘यसो गरी’, ‘उसो गरी’, ‘यसो भयो, उसो भयो, जस्ता वाक्यहरूको पुनरुक्ति धेरै भएकाले छोटा वाक्यहरूमा मिठास आए पनि, प्रकरण दोषबाट यो उपन्यास पूर्णत मुक्त भने छैन । पात्रहरूको सङ्ख्या अलिक बढी भयो कि जस्तो लागे पनि यो नै उपन्यासको विशेषतामध्ये एक हो । पुस्तकको पुछारमा परिशिष्ट राखिदिएर पात्रहरूको परिचय दिएको भए पाठकलाई अलमल हुनबित्तिकै त्यहाँ गएर हेर्न मिल्थ्यो भन्ने धेरैलाई लाग्न सक्छ ।

अन्त्यमा, यी तमाम सबलता र दुर्बलताका साथ छुट्टै स्वादमा छ दमिनीभीर । एउटा समुदाय, संस्कृति र त्यसको प्रकृतिसँगको सम्बन्ध सङ्गीतजस्तो लाग्छ । आख्यानको मिठास भाषा र विषयवस्तुमा हुनुपर्छ र  त्यही छ दमिनीभीरमा ।

समिक्षक: तुलसी आचार्य

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.