काठमान्डू/समय समाचार टिम
नारायण गाउँलेको फेसबुक वालमा गएर उनले पोस्ट गरेका स्टाटसहरु हेर्नु भयो भने थाहा पाउनु हुनेछ समाज र राजनीतिलाई कसरि सुक्ष्म र ‘क्रिटिकल’ ढंगले हेर्न सकिन्छ।
उनका तर्कहरु सहि लाग्छन। हुन् त उनको तर्कलाई खण्डन गर्नेहरु पनि बग्रेल्ती नभेटिने होईनन। खासगरी पार्टिको झोला बोक्नेहरु उनको तर्कलाई स्विकार्न सक्दैनन्। सत्तामा रहेका तथा राजनीतिमा होमिएका व्यक्तिहरुले उनका फेसबुक पोस्टहरु पढ्नै पर्ने र आफूलाई बिस्लेषण गर्नु पर्ने जस्ता लाग्छन।
“तथ्य र प्रमाण बेगरै पोस्ट गरेका हुन्छन गाउँलेले आफ्नो फेसबुक स्टाटसमा’ भन्ने हरु पनि नभएका होईनन। तर यदि उनका पोस्टहरु तर्क संगत नभए, जनतालाई अनुमोदन गर्न नसक्ने भए, जनताको भावनालाई सम्बोधन गर्न नसक्ने भए किन सयौं, हजारौमा सेयर हुन्छन उनका पोस्टहरु ? उनका अहिलेसम्मका केहि फेसबुक पोस्टहरु हेरौ।
सपना रोकालाई हार्दिक बधाई ! हामीले आफ्नै देशका १०० जना प्रभावशाली महिलाको नाम तयार गरेको भए शायदै सपना रोकाको नाम त्यसमा पर्दो हो । घाटमा लगेर शव जलाउने, त्यो पनि बेवारिसे शव, हाम्रो लागि सम्मान, चासो र प्रभावको काम के हुन्थ्यो र ? हामीले विद्या भण्डारीबाट सुरु गर्ने थियौं । त्यसपछि मुख्य पार्टीलाई बीस-बीस सिट त बाँड्नै पर्यो । बन्दुक बोकेको, जेल बसेको, रेलिंग तोडेको देखि विश्वविद्यालयमा भर्ना भएर पढाइबाहेक सबै गरेको जस्ता क्राइटेरियामा रहेर हामीले ‘समावेशी, सन्तुलित र क्रान्तिकारी’ लिस्ट तैयार गर्ने थियौं । त्यसमा सपना रोका जस्ताको ठाउँ के हुन्थ्यो र ? बिबिसीले भने नेताका छोराछोरी भन्दा सपनाको काम र समर्पणलाई धेरै माथि देखेछ । उनलाई फिनल्याण्डकी प्रधानमन्त्रीदेखि कोरोनाभाइरसको भ्याक्सिन बनाउन खटिएकी सारा गिलबर्टसँगै उभ्याइएछ ! मानवताको मूल्य सधैँ उच्च हुन्छ नै । हामीले त महावीर पुन या अनुराधा कोइरालाहरूलाई पनि आफै चिनेका होइनौं । १८ वर्षकै कलिलो उमेरमा चुपचाप मानवसेवामा होमिएकी सपना रोकालाई मनभरिको बधाई !

यति धेरै दम्भ, आडम्बर र आत्मश्लाघा भ्रम कहाँबाट आउँछ होला ? कहिले विकासको बाढ़ीले अरू आत्तिए भनेको छ, कहिले सरकारको समृद्धि देखेर विश्व नै दङ्ग छ भनेको छ ! कहिले नयाँ युग सुरु भयो भनेको छ कहिले आफू नभए देश नै डुब्ने कुतर्क गरेको छ । हस्पिटलमा बेड र धरौटी राख्ने रकम नपाएर मान्छे मरेका छन्, र पनि शानसँग कोभिड़को विश्वकै उत्कृष्ट व्यवस्थापन गरेको दाबी छ । भ्रष्टाचार गर्दिन भनेको छ, विष्णु पौडेलदेखि गोकुल बाँस्कोटा र वाइडबड़ीदेखि ओम्नी र यतिसम्मलाई काखी च्यापेको छ । माखो नमर्दा त यस्तो ओठे घमण्ड छ, अलिकति काम भएको भए के हुँदो हो ? आफैले दाबी गरेझैँ घरघरमा ग्यासको पाइप आएको भए, पाँच ठाउँमा स्मार्ट सिटी बनेको भए, देशभित्रै पेट्रोल उत्खनन भएर साउदी अरबलाई बेचेको भए, काठमाडौंमा मेट्रो वा मोनोरेल चलेको भए, वैदेशिक श्रममा रहेका चालीस लाख युवालाई देशमैं रोजगारी सिर्जना गरेको भए, बीजिंग-काठमाडौं चुच्चे रेलको लिक सुरु भएको भए या मिति नै तोकेको पानी जहाजमा चढेर कलकत्ता पुग्न सकिएको भए के हुन्थ्यो होला । विश्वको कुन सरकार यस्तो महामारीमा जनताको निःशुल्क उपचार गर्दिन भनेर अदालत गएको होला ? ओली सरकारले त्यो रेकर्ड पनि राखेकै छ ! भ्रष्टाचारका विषयमा त पार्टीकै बहुमत सचिबालय सदस्यले लिखित रूपमैं सचेत समेत गराएका छन् । भ्रष्टाचार कसरी हुन्छ भन्ने नमुना त आफैले उद्घाटन गरेको बिजुली बस नै पनि हो । दाताले लुम्बिनीका नाममा दिएको करोडौं रुपियाँ पचाउन नक्कली बिजुली बस किनेर दर्तासमेत नहुँदै हतार हतार उद्घाटन भएको घटना पुरानो होइन । पहिलोपल्ट बहालवाला प्रधानमन्त्रीले संसदको रेकर्डबाटै हटाउनुपर्ने गरी क्षुद्र शब्द बोलेको रेकर्ड पनि आफ्नै हो भन्ने नभुल्नुपर्ने हो । आफ्नै सहकर्मी माधव नेपालले शीघ्र स्वास्थ्यलाभको कामना गर्दा समेत तेरो शुभकामना चाहिन्न भन्नेसम्मको दम्भ र तुच्छता अरू कसैको होइन ।काम गर्न दिएनन् भन्नु त गोयबल्स आरोप हो । दुई वर्षसम्म संवैधानिक इम्युनिटी नै थियो । केन्द्रदेखि प्रदेशसम्म आफ्नै सरकार थिए । एउटा कुलपति या राजदूत फालिदिए आँखा चिम्लेर जयजयकार गर्ने प्रतिपक्ष थियो । आफ्नै पार्टीको बहुमत हुँदासमेत नाकाबन्दीका नाइके उपेन्द्र यादवहरूलाई माओवादी खेमाभन्दा माथि राखेर मन्त्री बनाउँदा पनि कसैले रोकेको या टोकेको थिएन । एउटा चर्चको होली वाइन पिलाउने कार्यक्रममा सिङ्गो सरकारलाई होटलमा पुऱ्याउँदा समेत कस्ले रोकेको थियो र ? कर्णालीका जनतासँग आङ् ढाक्ने टालो नहुँदा समेत झापामा दुई अर्बको भ्युटावर बनाउने बजेटमा पनि कसैले औँला उठाएका थिएनन् । काम हुन नदिएको या अलि चर्को विरोध भनेको संविधानकै विपक्षमा गएर महामारीको बीचमा पार्टी फोड्ने अध्यादेश ल्याउँदा होइन ? भेन्टिलेटर किन्नुपर्ने बेला सांसद अपहरण गर्ने खेलमा लाग्न खोज्दा होइन ? त्यसपछि पनि गुट नहेरी एउटा सक्षम र स्वच्छ छविको व्यक्तिलाई अर्थमन्त्री बनाएको भए यो अवस्था शायदै आउँथ्यो । आफ्नै पार्टीको स्थायी समितिलाई हुल्लड़बाज भन्ने सम्मको स्वतन्त्रता त थियो नि ! अलिकति नम्रता, बोलीमा आदर र काममा स्वच्छता हुन्थ्यो भने त्यो सिंहासन हल्लाउन सक्ने कोही हुँदैनथ्यो । संसारकै गुनिला कार्यकर्ता छन् । फेरि शिरमा बोक्ने थिए । आम जनताको आक्रोश कामसँग हो, नामसँग होइन । तिनलाई ओली फालेर माधव या प्रचण्ड चाहिएको होइन, बिरामी हुँदा एम्बुलेन्सबाट झर्न मिल्ने हस्पिटल चाहिएको हो । सत्य बोल्ने इमान्दार सरकार चाहिएको हो । तर आफूबाहेक सिङ्गो संसार खराब छ भन्ने आत्मवञ्चना र हठले आफू र देश दुबै डुब्ने डर हुँदा पनि चाटुकारको घेरा नतोडिनु दुर्भाग्यबाहेक के होला ?

नेकपा कार्यकर्ताको नाममा दुई शब्द !-नेकपाका दुबै अध्यक्ष जाली, भ्रष्ट, षड्यन्त्रकारी र पदलोलुप हुन् भन्ने अरू कसैले होइन, उहाँहरू आफैले परस्पर स्वीकार गर्नुभएको तथ्य हो । -‘यति’देखि वाइडबड़ी र ओम्नीसम्मका भ्रष्टाचारमा सरकारको संलग्नता पनि पार्टीकै सचिबालयको बहुमतले स्वीकार गरेको र दस्ताबेजीकरण गरेको अवस्था छ । -राष्ट्रपति राष्ट्रको नभएर एउटा पार्टीको, त्यसमा पनि एउटा गुट या एउटा व्यक्तिको बढ़ी भएको सत्य पनि दलदास बाहेक सबैलाई थाहै छ । -दलदेखि सरकारसम्मको रिमोट देशबाहिर रहँदै आएको त थाहा थियो तर यसअघि अलिकति पर्दा, अलिकति लाज र अलिकति डर हुन्थ्यो, आज त्यो पर्दा र लाज समेत हटेको पनि सबैले देखेकै सत्य हो । -वैदेशिक हस्तक्षेप एकै दिनमा यत्तिकै हुने होइन, यसै गरी ढोका खोल्दै गएपछि त्यो संस्थागत बन्ने हो भन्ने पनि धेरैलाई थाहा नै होला । -नक्कली सुकुम्बासी बनेर सरकारी जग्गा हडप्ने जस्तो उच्च नैतिक धरातल भएकाहरू जेलमा या ढुकुटीको मुखमा, कहाँ छन् भन्ने पनि नाङ्गो आँखाले देख्न सकिने सत्य हो । -कोभिड़, जनस्वास्थ्य, गरिबी, बेरोजगारी, भ्याक्सिन, मल, खानेपानी र विकास जस्ता विषयमा रातदिन सिंहदरबारमा घोटिनुपर्ने प्रधानमन्त्री महिनौंदेखि बालुवाटारमा बसेर तोड्ने र फोड्ने षड्यन्त्रमा व्यस्त रहेको पनि नाङ्गो सत्य नै हो । -ओम्नी र सेनामार्फ़त किनिएका स्वास्थ्य सामग्रीमा अनियमितता भएको त संसदीय समितिले समेत स्वीकार गरेकै थियो । तैपनि स्वास्थ्यमन्त्री नफेरिनु र पार्टी समहमति नै भङ्ग हुने गरी अर्थमन्त्रालयमा ‘यसम्यान’ राख्ने हठ आउँदै गरेको भ्याक्सिन खरिद र कमिशनको खेल हो भन्ने पनि नलुकेको सत्य हो । अब भन्नुस्, मिलापत्र, सम्झौता या सहमतिले गर्ने के हो ? यिनै भ्रष्टाचार, षड्यन्त्र र स्वार्थलाई ढाकछोप गर्ने र अनियमिततालाई थप मजबुत बनाउने होइन ? यो लड़ाइँ तैंले मात्रै खाने र म किन हेरिरहने भन्नेमा होइन ? सम्झौता भनेको बाँडेर खाऊँ भन्ने होइन ? के तपाईंका नेताले भनेका शब्द र आरोप झूठा हुन् ? हुन् भने यस्तरी झुटो बोल्नेलाई फेरि महान् नेता मान्न तपाईंको आत्माले सराप्दैन ?तपाईंहरूले बाकसमा भोट खसाल्नुभएको हो, विवेक होइन । पार्टीको शीर्ष तहमैं भ्रष्टाचारको पोल यसरी छताछुल्ल हुँदा घरको समस्या घरभित्रै हल गर्नुपर्छ भन्नु र मिलेर जानुपर्छ भन्नु प्रकारान्तरले विवेकको बलि दिनु हो । याद राख्नुस्, तपाईंको घर पार्टी होइन, देश हो । र पार्टी केही जालीहरूले एक्लै या मिलेर जालझेल गर्ने सम्झौता गर्दैमा बच्ने होइन । जालझेलमुक्त बनेर मात्रै बच्ने हो ।
ओलीजी,तपाईंमाथि भ्रष्टाचारका आरोप प्रचण्ड या तपाईंकै पार्टीको सचिबालयले मात्रै लगाएको होइन । १-वाइडबड़ी काण्डमा संसदीय छानबिन समितिले अनियमितता भएको ठहर गरेर कारबाही गर्न सिफारिश समेत गरेकै हो ! तपाईंले व्यक्तिगत रूपमा सफाइ दिएर आफूखुसी छानबिन समिति गठन गर्नुभएको थियो । निष्कर्ष पहिल्यै आफैले तोकेर तपाईंले गठन गरेको छानबिन समितिले के प्रतिवेदन दियो भन्ने तपाईंले लुकाउनुभयो । २-ओम्नीले कसरी र किन ठेक्का पाएको थियो भन्ने जगजाहेर छ । तपाईंले त्यसको पनि हत्तपत्त बचाउ गर्नुभो । गुणस्तरहीन सामान तीन गुना बढ़ी मूल्यमा ल्याइएको तथ्य प्रचण्ड या माधव नेपालले होइन, तपाईंकै सरकारी निकाय स्वास्थ्य विभागले स्वीकार गरेको हो । तपाईंले बचाउ गरेको ओम्नीको ठेक्का प्रचण्डले रद्द गरेको हो ? ओम्नी काण्ड फेल भएपछि सेना प्रयोग गरेर रक्षामन्त्रीले तिनै सामान झन बढ़ी मूल्यमा ल्याउने षड्यन्त्र गरेको त सेनाले समेत बुझेर हात झिकेको होइन ? विभाग आफैले खुला प्रतिष्पर्धा मार्फ़त् १५ रुपियाँमा किनेको मास्कलाई सोही समयमा सेनामार्फ़त ५२ रुपियाँ तिरिएको होइन ? यस्तो सस्तोमा किनेपछि बाँकी सामान पनि यसरी किन्नुपर्नेमा स्वास्थ्य विभागकै निर्देशकहरूलाई कोभिड़कै बीचमा सरूवा गरिएको होइन ?३-यति बारेको आरोप माधव नेपालले हो र लगाएको ? तपाईंले चीन भ्रमण गर्दा सरकारी विमान छोडेर यतिकै लगानीको हिमालयन एअर किन चार्टर गर्नुभएको ? विदेशमा अलपत्र मजदुरको उद्धारको नाममा बीस हजार पर्ने भाड़ालाई पचास हजार तोकेर हिमालयनलाई किन पोस्नुभएको ? गोकर्ण रिसोर्टदेखि दरबार मार्गसम्म किन कुनै एउटा कम्पनीलाई नाफ़ा हुने गरी नीतिनियम फेरबदल गर्ने काम हुन्छ ?४-बालुवाटार काण्डमा प्रत्यक्ष लाभग्राही नेता थिए विष्णु पौडेल । उनले चार चोटि पास भएको भनिए पनि सरकारी छानबिन समितिले नै भूमाफिया भनेर किटेका शोभाकान्त ढकालसँग सोझै जग्गा किनेका थिए । भूमाफियासँग उनको पुरानो दोस्ती र सम्बन्ध सार्वजनिक समेत भएको थियो । उनले तिरेको भनिएको मूल्यमा त्यहाँ एक बित्ता जग्गा पनि आउन्न भन्ने त दुनियाँलाई थाहा छ । फेरि उनी त प्रमाणित सुकुम्बासी । एउटा सुकुम्बासीले बालुवाटार किन्न सक्नु या बालुवाटार किन्न सक्नेले सुकुम्बासी बनेर राज्यसँग जग्गा उछिट्याउनु छानबिनसम्मको विषय पनि होइन ? सामान्य अध्ययन पनि पूरा नगरेका उनी कुन नैतिकता, छवि र योग्यताका आधारमा अर्थमन्त्री बनाइए ?एउटा चकलेट व्यापारी पोस्न नीति नै फेर्नेदेखि सरकारी गोप्य सूचना स्वार्थपूर्तिका लागि चुहाउनेसम्मका आरोप पनि मिडियामा सप्रमाण आएका आरोप हुन् । विश्व कोभिड़सँग लड्दै गर्दा राष्ट्रपतिलाई दुरुपयोग गरेर रातारात पार्टी फुटाउने विधेयक कस्ले ल्याएको हो ? हरेक पटक भ्रष्टाचारको विषय उठ्ने बित्तिकै छानबिन हुनुअघि नै सफाइ दिने को हो ? चोरको खुट्टा काट्ने कुरो सुन्नेबित्तिकै खुट्टा तान्ने को हो ? होला, सुशासन र विकासभन्दा पनि प्रचण्ड समूहलाई सत्ता र शक्तिमा हिस्सा चाहिएको होला । तपाईंले मात्रै खाएकोमा ईर्ष्या लागेको होला । यी मुद्दा या आरोपहरू हतियार बनाइएका होलान् । तर, यी मुद्दा प्रचण्डले सिर्जना गरेका होइनन् । प्रचण्डलाई मात्रै जबाफ या भाग दिएर यो विषय पक्कै सकिँदैन । ओलीज्यू, प्रचण्डलाई चिठ्ठी लेखेजस्तै एकपल्ट जनतालाई पनि चिठ्ठी लेखेर बताइदिनुहोस् न !- महामारीदेखि आर्थिक सङ्कटसम्मका विषयमा हरेक दिन सिंहदरबारका बैठकमा सहभागी हुनुपर्ने व्यक्ति बालुवाटारमैं बसेर दिनहुँ पार्टीको भागबण्डामा षड्यन्त्र बुन्दै बस्ने कहिलेसम्म ?- र, चाडबाडमा देशका मुख्य मन्दिर र स्कुलहरू बन्द गरेर आमसभा गर्दै आत्मप्रसंशाको भाषणमा रमाउने कहिलेसम्म ?

देउबासँग एक भएर छोरीलाई मेयर बनाएको एक महिना नबित्दै आफैले लिङ्ग नछुट्टिएको भनेको ओलीसँग एकता गर्ने प्रचण्डले सिद्धान्त र वैचारिकताको चर्को भाषण गर्छन् र हामी ताली बजाउँछौं !-नक्कली सुकुम्बासी बनेर सरकारी जग्गा हड़प्नेलाई अर्थमन्त्रालय नै सुम्पिनेदेखि महामारीको नाममा यति र ओम्नीलाई मालामाल गराएर, जनतालाई ‘सक्ने जति बाँच्ने हो’ भन्न सक्ने ओलीले सुशासन र समाजवादको भाषण गर्छन् र पनि हामी ताली बजाउँछौं । -आफ्नै नेतृत्वमा भएको चुनाबमा सातवटै प्रदेशमा पार्टी पत्तासाफ भएको देखेर, सबै नियुक्ति बदर हुँदासमेत सासू अड़किएको देखेर, पार्टीको कार्यकालभरि एउटा विभागलाई पूर्णता दिन समेत नसकेको देखेर अनि संसदमा उभिएर प्रतिपक्षी नेताले दिएको एउटा सम्झन लायकको वक्तव्य समेत नभेटेरै पनि हामी देउबा जिन्दाबाद भन्छौं र ताली बजाउँछौं । -कुन हस्पिटलमा कति बेड र कति भेन्टिलेटर खाली छ भन्ने स्तरको सामान्य सूचना र समन्वय समेत नहुँदा एम्बुलेन्सबाट हस्पिटल चहार्दै नागरिकको मृत्यु भएको छ । सङ्क्रमण र रोग तीव्र रूपमा भयावह बन्दै छ । सड़कमा एक छाक खान पाउँदा खुशी हुनेको लाइन छ । यस्तो इतिहासकै संवेदनशील समयमा समेत निर्लज्ज रूपमा बालुवाटारदेखि शीतलनिवास र खुमलटारसम्म सत्ता, शक्ति र लेनदेनको नाङ्गो नाच चल्दै छ, र पनि हामी ताली बजाउँछौं । -आफ्नै आमा बिरामी हुनुभो भने कहाँ लैजाने हो भन्ने हामीलाई थाहा छैन । हस्पिटलले पहिले धरौटी माग्ला, केही गरी पैसा जुट्यो या माथिको नेताको फोनले काम गर्यो भने फेरि पीसीआर रिपोर्ट माग्ला । त्यसैमा दुई दिन जान्छ । त्यसपछि आईसीयुमा बेड खाली नभएको भन्दै अर्को हस्पिटल रिफर होला । यही भूमरीमा छटपटिएर आमा जब चितामा पुग्नुहुन्छ, त्यहाँ पनि झण्डा ओढ़ाएर हामी ताली नै बजाउँछौं !लाग्छ, हामी ताली बजाउने मेसिन मात्रै हौँ !
सम्पूर्णरुपमा उनका पोस्टहरु हेर्न उनको फेसबुक वाल यहाँ गएर हेर्न सकिन्छ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com