कांग्रेसले भन्यो- सरकार सञ्चालन गर्नेहरुको खराबीले सडकमा असन्तुष्टि प्रकट भएको हो

२४ मंसिर २०७७, बुधबार ०६:४९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको आज बसेको सर्वदलीय बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसले अहिले सरकारले गलत काम गरिरहेको बताएको छ । सरकारले गलत काम गरेकाले सडकमा असन्तुष्टि देखिएको कांग्रेसको भनाई छ ।

सरकार सच्चिएर संविधानको मर्म अनुसार चल्ने हो भने सबै ठीक हुने कांग्रेस नेताहरुले सरकारलाई सुझावसमेत दिएका छन् । कांग्रेसले अहिलेको प्रणाली र व्यवस्थाप्रति आन्दोलनप्रति साथ नरहने प्रतिवद्धता जनाएका छन्। संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले सरकारले राम्रो काम गर्न नसके पनि अहिलेको प्रणाली र व्यवस्थाप्रति आन्दोलनप्रति साथ नरहने प्रतिवद्धतासमेत जनाएका छन् ।

पछिल्लो समय देशका मुख्य शहररुमा सरकारको विरोध गर्दै राजतन्त्रको पक्षमा आन्दोलन भईरहेको छ । नेपाली कांग्रेसका नेताहरुले भने अहिलेको सडकमा देखिएको असन्तुष्टि वर्तमान सरकारप्रति असन्तुष्टि भएको बताएका हुन् । बैठकमा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘सरकारले गलत काम गरेको हुनाले विभिन्न रुपमा असन्तुष्टि प्रकट भइरहेको छ । राजवादी वा अरु नाममा सडकमा प्रकट भएको पनि त्यही हो ।’ उनले भने, ‘देशमा व्यापक असन्तुष्टि छ, त्यसमा दुईमत छैन,’ ।

‘सिस्टम वा लोकतन्त्रको खराबी होइन’ उनले भने, ‘सरकार सञ्चालन गर्नेहरुको खराबीका कारण हो । सरकार सच्चियो, लोकतान्त्रिक पद्धतिको मर्मअनुसार चल्यो भने भने कुनै पनि प्रवृत्ति सफल हुन सक्दैन । तपाईंहरु सच्चिने कि नसच्चिने ?’

बैठकमा कांग्रेस नेताहरुले राजसंस्था पुनर्स्थापनाका लागि देशभर भइरहेको प्रदर्शन, कोभिड महामारी लगायत समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । यस्तै बैठकमा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार असफल भएको बताएका छन् । भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण नागरिकमा निराशा छाएको, राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेको लगायतका विषयमा पनि सरकारलाई नेपाली कांग्रेसका ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.