काठमाडौं । सरकार कोभिड१९ भ्याक्सिन नेपाल भित्र्याउनका लागि आवश्यक तयारीमा जुटेको छ।
भ्याक्सिन आएपछि त्यसको उचित भण्डारणका लागि पूर्वाधार र संरचनाको समेत विश्लेषण सुरु गरिसकेको छ।
विश्व स्वास्थ्य संगठन, गाभीलगायत संस्थाहरुको समन्वयमा बनेको कोभ्याक्स फ्यासिलिटिमार्फत २० प्रतिशत भ्याक्सिन सहयोग हुने भएपछि बाँकी भ्याक्सिन आफँै खरीद गर्ने योजना सरकारको छ।
हाल केन्द्रमा र पाँच वटा प्रदेशमा कोल्डचेन भए पनि दुई वटा प्रदेशमा भने कोल्ड चेन छैन। प्रदेश २ र कर्णाली प्रदेशमा कोल्डचेन आवश्यक भएकाले निर्माण गर्नुपर्ने योजनामा सरकार छ।
सरकारद्धारा गठित कोभिड भ्याक्सिन सचिवालयले भ्याक्सिन भण्डारणका लागि दुई प्रदेशमा कोल्डचेन निर्माण गर्नुपर्ने योजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पेस गर्न लागेको छ।
सचिवलयका एक सदस्यले भने,‘अहिले हामीसँग पहिलेकै संरचना छ। साविकको ५ विकास क्षेत्रमा मात्र कोल्ड चेन रहेकाले कोल्डचेन नभएका प्रदेश २ कर्णालीमा कोल्डचेन आवश्यक छ।’
उनका अनुसार तत्काल कोल्डचेन निर्माण नसकिँदासम्म प्रदेश २ मा हेटौँडा र कर्णाली प्रदेशका लागि नेपालगन्जमा रहेको कोल्डचेनबाट व्यवस्थापन गर्ने विषयमा पनि सचिवालयमा छलफल भएको छ।
नेपाल सरकारले माइनस २० डिग्री सेल्सियससम्म भण्डारण गर्न मिल्ने भ्याक्सिनका लागि तयारी गरेको छ। त्यसका लागि कोल्डचेनको क्षमता बिस्तार गर्न ४ करोड रुपैयाँ बजेट समेत विनियोजन भइसकेको छ।
नेपालमा हाल २ देखि ८ डिग्री सेल्सियससम्ममा मात्र भ्याक्सिन भण्डारण गर्ने क्षमता छ।
स्वास्थ्य मन्त्रालयद्धारा गठित कोभिड भ्याक्सिन प्राविधिक सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतिले २ देखि ८ डिग्री सेल्सियससम्ममा भण्डारण गर्ने भ्याक्सिन आएमा कोल्डचेन थप गर्नु नपर्ने बताए।
नेपालमा अहिले नै कुन देश वा कम्पनीले उत्पादन गरेको कोभिड भ्याक्सिन आउने छ भन्ने टुंगो छैन।
तर, कोभ्याक्सले उपलब्ध गराउने भ्याक्सिनका आधारमा बाँकी भ्याक्सिन खरीद गर्ने सरकारको मनसाय छ।
कोभिड भ्याक्सिन सचिवालयका एक सदस्यका अनुसार नेपालमा पहिला कोभ्याक्सकै भ्याक्सिन आउने छ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com