सगरमाथाको उचाई झन्डै एक मिटर बढ्यो

२४ मंसिर २०७७, बुधबार ०६:२८

काठमाडाैं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई झण्डै एक मिटर बढेको छ ।

नेपाल र चीन सरकारले संयुक्त रूपमा गरेको अध्ययनले ८८४८ मिटर रहेको सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको पुष्टि गरेको हो । सन् १९५४ मा ‘सर्भे अफ इन्डिया’ले सार्वजनिक गरेको ८८४८ मिटरलाई हालसम्म आधिकारिक मानिँदै आएको थियो भने अहिलेको सर्भेले ८६ सेन्टिमिटर बढेको अध्ययनले देखाएको छ । मंगलबार नेपाल र चीन सरकारले संयुक्त भर्चुअल पत्रकार सम्मेलनमार्फत काठमाडौं र बेइजिङबाट एकसाथ नयाँ उचाई सार्वजनिक गरे ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहितको नेपालको तर्फबाट भूमिव्यवस्था मन्त्रालयका प्रतिनिधिहरू तथा र चीनको तर्फबाट विदेशमन्त्री वाङ यीको टोलीले सगरमाथाको नयाँ उचाई संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।
२०७२ को भूकम्पपछि सगरमाथाको उचाईमा घटबढ भएको हुनसक्ने भन्दै प्रश्न उठेपछि सरकारले एकल पहलमा सगरमाथाको उचाई मापन सुरु गरेको थियो । तर, चिनियाँ पक्ष पनि पछि त्यसमा मिसिएपछि दुवै मुलुकको अपनत्व हुनेगरी उचाइ मापन गरियो । यसअघि नेपाल र चीनबीचसगरमाथाको उचाईको विषयलाई लिएर विवाद देखिने गरे पनिसंयुक्त अध्ययनपछि अब विवादको टुंगो लागेको छ ।

सन् २०१९को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणमा नेपाल र चीनबीच संयुक्तरूपमा सगरमाथाको उचाई सार्वजनिक गर्ने सहमति भएको थियो । त्यसपछि नेपाल र चीनका सर्भे टोलीले छुट्टाछुट्टै गरेको सर्वेक्षणको संयुक्त रूपमा प्रशोधन गरी मूर्तरूप दिएको नापी विभागले जनाएको छ ।
सगरमाथाको उचाई मापनमा तीन हजार जनशक्ति सहभागी भएका थिए । विभागबाट खटिएको टोलीले सगरमाथाको आरोहण नै गरी स्थलगत मापन गरेको थियो । अघिल्लो वर्षको जेठमा नै टोली सगरमाथाको चुचुरोमा पुगेको थियो भने करिब २ वर्षको समयमा नतिजा तयार भएको विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिए । “करिब १३ करोड रुपैयाँ लागतमा सिरहाको माडरलाई ‘प्री साइड लेभलिङ’लाई आधार बनाएर विश्वमा प्रयोग भएका पुनाना र नयाँ मापनका विधिलाई अनुसरण गरेर स्थलगत तथ्य संकलन, प्रशोधन गरी नतिजा सार्वजनिक गरिएको हो,” ढकालले भने ।
मंसिर १० को मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेको थियो । नेपाल र चीनबीचमा रहेको सगरमाथाको ६० बर्षअघि सीमाना कायम गर्ने क्रममा पानी ढलो सिद्धान्त अनुसार उत्तरी भाग चीनमा र दक्षिणी सर्वोच्च भाग नेपालको रहेको नापी विभागका पूर्व महानिर्देशक तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताए । उनले भने, “चुचुरोमा रहेको भिरालो भाग नेपालको होे ,सन् १९६१-६३ मा सिमाङ्कन हुँदा ३१ भूभागमा र १ चुचुरोमा नेपाल चीन विवाद आएको थियो ।” सगरमाथाको चुचुरो पानीढलो सिद्धान्तअनुसार प्रधानमन्त्री तहबाट समाधान भएको सीमाविद् श्रेष्ठ भन्छन् । सगरमाथाको आरोण दक्षिणी र उत्तरी मोहोडाबाट आरोहण गर्ने गरिएको भए पनि नेपाली भागबाट बढी आरोहण हुने गरेको छ ।
तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एनलाईले सगरमाथाको चुचुरो नेपालको भएको वि. सं. २०१७ वैशाख १६ मा सिंहदरबार ग्यालरीमा पत्रकार सम्मेलन मार्फत आधिकारीक जानकारी गराएको श्रेष्ठले बताए । विश्वमा सगरमाथाको उचाई ८८४८.८६ मिटरनै हो भनेर आधिकारीक जानकारी गराउन चीनले नेपालसँग मिलेर संयुक्त पत्रकार सम्मेलनमार्फत प्रस्तुत गर्नु सकारात्मक भएको उनको टिप्पणी छ ।

उचाइ मापन टोलीले आरोहण गरी सर्वाेच्च शिखरमा १ घण्टा १६ मिनेटसम्म डाटा संकलन गरेको र करिब २ घण्टा टोलीले शिखरमा बिताएको शिखर आरोणमा संलग्न रहेका टोली सदस्यको भनाइ छ । जीएनएसएस र जीपीएस विधिबाट सिरहाको माडरदेखि सोलुखुम्बुको पिके, पातले डाँडा, चुलायमुनसम्म करिब २४८ किलोमिटरमा समतल नापीको सर्वेक्षण गर्नेदेखि ३४६ स्टेसनबाट जीएनएसएस सर्भे गरी तथ्यांक संकलन तथा प्रशोधनपछि नतिजा प्राप्त भएको विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.