आइतबारदेखि मनकामना केबुलकार सञ्चालन हुने, बली दिने पशुपन्छी ढुवानी गर्न नपाइने

२५ मंसिर २०७७, बिहीबार ०८:२९

काठमाडौं । कोभिड–१९ का कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो मंसिर २८ गते आइतबार देखि पुनः सञ्चालनमा आउने भएको छ ।

मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको स्थानीय तह सहितको सरोकारवालाको बैठकको निर्णय अनुसार मनकामना मन्दिर र बजार खोल्ने निर्णय भएपछि मनकामना केबुलकार पनि एकै साथ सञ्चालनमा आउन लागेको हो । 

स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्यूअर पालना गर्दै केबुलकार सेवा सञ्चालनमा ल्याउन लागेको संचालक राजेश बाबु श्रेष्ठले जानकारी दिए ।

सुरक्षा मापदण्ड अन्तर्गत केबुलकारको दुवै स्टेशनमा यात्रुहरुको ज्वरो मापन गरिने छ । सय फरेनहाइट भन्दा माथि ज्वरो भएका र रुघाखोकीको लक्षण देखिएका यात्रुहरुलाई प्रवेश नदिइने कम्पनीले जनाएको छ । केबुलकार प्रवेश गर्दा अनिवार्य रुपमा माक्स लगाउनु पर्ने, हात सेनिटाईज गर्नु पर्नेछ । यात्रुले लाइनमा बस्दा अनिवार्य रुपमा भौतिक दूरी कायम गर्न लगाइएको चिन्ह अंकित घेरामा लामबद्ध भई बस्नु पर्नेछ ।

केबुलकार हाता भित्र प्रवेश गर्दा स्वचालित हेण्ड सेनिटाइजर वा साबुन पानीले हात धुनु पर्नेछ । स्टेशन हाता भित्र भिडभाड नगर्ने तथा पिकनिक र बनभोजलाई अस्थाई रुपमा बन्द गरिएको उनले बताए । केबुलकार सेवा क्षमताको ५० प्रतिशत (प्रति घण्टा ३३० जना) यात्रुलाई सेवा दिइने र तत्पश्चात् स्वतः प्रवेश बन्द गरिने श्रेष्ठ बताए ।

बली दिने प्रयोजनको लागि पशुपन्छी ढुवानी गर्ने सेवा अस्थाई रुपमा बन्द गरिएको छ । संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता सेवा प्रदायक कम्पनीसँग सम्झौता गरी सकेकाले टिकट डिजिटल माध्यमबाटै खरिद गर्न सक्ने उनले बताए ।

श्रेष्ठका अनुसार आप्mनो जनशक्तिलाई फेस सिल्ड, माक्स लगायतको स्वास्थ्य सुरक्षाको प्रबन्ध गरिएको छ । केबुलकार बिहान ९ बजे देखि सांझ ५ बजेसम्म मात्र सञ्चालनमा आउने छ । साथै, केबुलकार र परिसरलाई दैनिक रुपमा डिसइन्फेक्सन समेत गरिने उनले बताए ।

त्यसैगरी, केबुलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेष्ट पनि आगामी पुस ३ गते शुक्रबारदेखि सञ्चालनमा आउने पनि जनाएको छ । केबलकार संचालनको जानकारी मनकामना क्षेत्र विकास समितिले गराएको पनि जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.