२९ गते देशभर सरकारविरुद्ध सशक्त प्रदर्शन गर्ने कांग्रेसको निर्णय

२५ मंसिर २०७७, बिहीबार १६:४४

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध ७७ वटै जिल्लामा बृहत प्रदर्शन गर्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिकलण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकले पार्टी बरिष्ठ नेता रामचन्द्र पौडेललाई दुर्व्यवहार गरेको विरोधमा २९ गते सबै जिल्लामा सरकारविरुद्ध सशक्त प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सरकारले भ्रष्टाचारलाई संरक्षण दिएको र कोरोना भाइरसको उपचार तथा नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको कांग्रेसको निस्कर्ष छ ।

कांग्रेसले मोरङमा बर्बर ढंगले शिक्षक हत्याको भएकोमा विरोध जनाउँदै कडा कारबाहीको माग समेत गरेको प्रवक्ता शर्माले बताए । कांग्रेसले चन्द नेतृत्वको नेकपालाई ब्यक्ति हत्याको बाटो छोडेर शान्तिपुर्ण मार्गमा आउन आग्रह समेत गरेको छ ।

कांग्रेसले फरक विचारधारालाई सरकारले दुस्मनका रुपमा हेरेको, कतिपय ठाउँमा कांग्रेस कार्यकर्ताको हत्या र कुटपिट भएको, तनहुँमा वरिष्ठ नेतामाथि दुर्व्यवहार गरिएको भन्दै यसअघि नै आन्दोलन गर्ने जनाएको थियो ।

पदाधिकारी बैठकमा चौधौं महाधिवेशनको तयारीका कृयाशिल सदस्य एवं जनसम्पर्क समितिबारे पनि छलफल भएको नेताहरुले बताएका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.