पशुपतिनाथ मन्दिरमा आज क्षमा पूजा, बुधबारबाट सर्वसाधारणका लागि खुला

३० मंसिर २०७७, मंगलवार ०७:४४

काठमाडौं ।  पशुपतिनाथ मन्दिरमा आज बिहान क्षमा पूजा गरिने भएको छ ।

कोरोना महामारिका कारण नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएपछि क्षमा पूजा गर्न लागिएको हो । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो ।

पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन ।

लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको पनि कोषले जनाएको छ । यसका लागि सबै सुरक्षा निकायलाई राखेर बैठक गरिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए ।

चैतदेखि नै पशुपति क्षेत्रमा धार्मिक पर्यटक समेत आएका छैनन् । मन्दिर नखुल्दा फूल प्रसाद बेच्न राखिएका पसल पनि नौ महिनादेखि बन्द छ जसबाट कोषलाई करिब रु ७० करोड घाटा लागेको कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले बताए । नौ महिनासम्म पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको थियो । महामारी लगायत कारण यति लामो समय पशुपतिनाथ मन्दिर बन्द रहेको इतिहास वंशावली लगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रकै विषयमा विद्यावारिधि शोध गरेका कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले बताए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.