नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा देव वाटमोर नियुक्त

२ पुष २०७७, बिहीबार १९:३३

काठमाडौं, पुस २ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका देव वाटमोर नियुक्त हुनुभएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टोलीका प्रशिक्षक नियुक्त गरेको हो । वाटमोरले आगामी जनवरी १ तारिकदेखि नेपाली क्रिकेट टोलीलाई सम्हाल्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।क्यानले नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षकका लागि गत कात्तिक अन्तिम साता अन्तर्वार्ता लिएको थियो । श्रीलङ्कामा जन्मिनुभएका ६६ वर्षीय वाटमोर अस्ट्रेलियाका पूर्वक्रिकेट खेलाडी हुनुहुन्छ ।

उहाँकै प्रशिक्षणमा श्रीलङ्काले सन् १९९६ को एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । श्रीलंका, पाकिस्तान जस्ता देशलाई प्रशिक्षकको रुपमा नेतृत्व गरिसकेका वाटमोरको प्रशिक्षण जगतमा विशिष्ट पहिचान रहेको छ ।उहाँले सन् २००३ देखि सन् २००७ सम्म बङ्गलादेशका प्रशिक्षकका रुपमा काम गर्नुभएको थियो । वाटमोरले भारतको यु–१९ क्रिकेट टोलीलाई पनि प्रशिक्षण दिनुभएको थियो ।

यस्तै उहाँले सन् २०१० र २०११ को याममा इण्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकता नाइट राइडर्सलाई प्रशिक्षण दिनुभएको थियो । वाटमोर सन् २०१२ देखि सन् २०१४ सम्म पाकिस्तानको प्रशिक्षक बन्नुभएको थियो । यस्तै सन् २०१४ मा वाटमोरले जिम्बावेको प्रशिक्षकका रुपमा काम गर्नुभएको थियो ।

उहाँ सन् २०२० मा सिङ्गापुरको प्रशिक्षक बन्नुभएको थियो । क्यानले गत भदौमा मुख्य प्रशिक्षकका लागि खुल्ला आवेदन आह्वान गरेको थियो । मुख्य प्रशिक्षकका लागि ७२ जनाले आवेदन दिएका थिए । गत वर्ष माघमा भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

यस्तै क्यानले रौनकबहादुर मल्ललाई महाप्रबन्धक, रमेशकुमार न्यौपानेलाई मुख्य वित्त व्यवस्थापक तथा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासलाई क्रिकेट व्यवस्थापकमा नियुक्त गरेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.