नेपाल आमा भन्छिन् (शनिबासरीय विशेष कविता)

४ पुष २०७७, शनिबार ०७:५५

आगो छैन कतै धुवाँ छ फिजिंदो पोल्दैछ आँखाहरू
जोगाऔं कसरी छ चिन्तन सधैं स्वाधीन यो आबरु
न्यानो पूर्ण प्रकाशका किरणमा निश्चिन्त बस्ने जन
देऊ वीर्य मलाई कान्तपनको सन्तान हुन् सज्जन ।


आस्थामा धमिरा पसे सलहझैं भो ऐक्यता खण्डित
सुक्यो बाबरी पारिजात दुइटै भेटिन्न कान्तास्मित
आफ्नै आर्जनले सहर्ष जिउने हे कर्मले नूतन
देऊ वीर्य मलाई हीनबिषयी सन्तान हुन् सज्जन ।


ऐजेरू लटरम्म स्वार्थपनको मौलाउने मानव
ऐसेलु किन खोज्दथे वन डुली टोप्रा समेटी सब
पीडाको पहिरो घसक्क नझरे यै बन्दथ्यो नन्दन
देऊ वीर्य मलाई प्रात अघिको सन्तान हुन् सज्जन ।


ज्योत्स्नापूर्ण धरा धपक्क नबले हट्दैन कालो तम
बाँझोमा किन फल्दथे श्रमविना अन्नादी ती उत्तम
बल्दो चेतनदीप बल्छ जहिल्यै आलोक आलोडन
देऊ वीर्य मलाई बुध्दपनको सन्तान हुन् सज्जन ।


मोती फल्छ यहीँ फलाउन सके रोकिन्न रे जाँगर
साँच्चै बन्दछ गर्वले शिर उचो बन्दैन जो पामर
कोटी रोग र भोक, शोक तुहिने सङ्कल्प गर्ने मन
देऊ वीर्य मलाई स्वच्छ सुकिलो सन्तान हुन् सज्जन।

कवि: मुक्तिनाथ घिमिरे

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.