आज ४५ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवस, किन मनाईन्छ यो दिवस ?

१६ पुष २०७७, बिहीबार ११:२९

काठमाडौं, १६ पुष । नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् । यसै सन्दर्भमा कांग्रेसले आज ७७ वटै जिल्लामा बिभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै छ ।

नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले आज आयोजना गर्न लागेको ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ सम्बन्धी भर्चुअल कार्यक्रमलाई पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

पार्टीका संस्थापक नेता बीपी कोइरालासहित नेपाली कांग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको ४४ बर्ष पूरा भएको छ । आठबर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर नेपाल फर्किनुभएको थियो ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल चलान गरिएको थियो । त्यसपछि २०२५ सालमा विपी सहितका कांग्रेस नेता भारत प्रवासमा जानुभएको थियो ।

तर भारतमा पटकपटक अपमानित समेत हुनुपरेको तथा भारतले आफ्नो अनुकुलमा नेपालको राजनीति अघि बढाउन चाहेको ठहर गर्दै विपी सहितका नेता बरु नेपालमा राजासँगै हातेमालो गर्न सकिने तर पराई भूमिमा बस्नु ठीक नहुने निष्कर्ष निकाल्दै भारतबाट त्रिभुवन विमानस्थलमा अवतरण भएका थिए । तर विमानस्थलबाटै कांग्रेस नेताहलाई पक्रेर सुन्दरीजल बन्दीगृहमा लगिएको थियो । त्यहि दिनको सम्झनामा पुस १६ गतेलाई मेलमिलाप दिवसका रुपमा मनाउन थालिएको हो ।

आज ४५ औ राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाइदैछ । दलहरुले गरेको गठबन्धन पनि देशभित्रका समस्या समाधानका लागि देशभित्रबाटै समाधान गर्नुपर्ने र सवैले आ आफ्ना अडानबाट लचिलो हुनुपर्ने सन्देशसहितको मेलमिलापको नीति उत्तिकै सान्दर्भिक भएको देखिएको छ ।

कति र किन छ सान्दर्भिक ?
मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेता बिपी कोइरालाले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति राजनीतिक दल र राजशक्ति राजा मिल्नुपर्ने धारणा राखेका थिए ।

तत्कालीन अवस्थामा नेपालको सार्वभौम सत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्कनुभएका नेता बिपी कोइराला, गणेशमान सिंहलगायतलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो । यसअघि तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए ।

शाही ‘कु’पछि कांग्रेस नेतालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाई सोही वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी स्थानान्तरण गरिएको थियो । नेपालमा केही समय जेल जीवन बिताइसकेपछि विसं २०२५ मा भारत प्रवासमा गएका कांग्रेस नेता राष्ट्रियतामाथि खतरा देखिएपछि आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका जननायक बिपी कोइरालाले राजनीति मात्र होइन, नेपाली साहित्यमा पनि छुट्टै पहिचान बताएका छन् । बिपीका साहित्य सन्देशले समाज परिवर्तनमा ठूलो सहयोग पुर्याएको छ । नेपालमा बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि सान्दर्भिक र अपरिहार्य छ ।

राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै कांग्रेसले ४४ वर्षअघि अबलम्वन गरेको नीति मुलुकको पछिल्लो राजनीतिक घटनाक्रममा झन सान्दर्भिक बनेको छ । सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’(आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’ शीर्षकमा प्रकाशित) लेख्नुभएको थियो । बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उहाँको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.