काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको पूर्वसन्ध्यामा पूर्वराजदूत, पूर्वप्रशासकसहित विभिन्न क्षेत्रका १५ जना विज्ञले सरकार कामचलाउ भएकाले दीर्घकालीन क्षति पुग्ने कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्न ध्यानाकर्षण गराएका छन् । मन्त्री ज्ञवाली बिहीबार भारत भ्रमणमा जाँदै छन् ।
उनीहरूले बुधबार विज्ञप्ति जारी गरी दीर्घकालीन वा नीतिगत निर्णय गर्न नहुनेसमेत सुझाब दिएका छन् । ‘गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अकस्मात् प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा चुनाव गराउने भनी गरेको सिफारिसलाई राष्ट्रपतिले सदर गरिदिएपछि वर्तमान सरकारको हैसियत कामचलाउमा परिणत हुन पुगेको छ,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा छ, ‘लोकतन्त्र र संविधानवादमा आधारित सुशासनमा विश्वास गर्ने कुनै पनि सरकारले अहिलेको अवस्थामा दीर्घकालीन प्रकृतिका र नीतिगत निर्णय गर्दैन र गर्नु पनि हुँदैन ।’
वैदेशिक मामिलामा त कामचलाउ सरकारले कुनै सन्धि वा सम्झौता, समझदारी वा दीर्घकालीन दायित्व सिर्जना हुनेजस्ता काम गर्ने कुराको कल्पना पनि गर्न नसकिने उनीहरूको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति जारी गर्नेमा पूर्वराजदूतहरू लीलामणि पौड्याल, डा. ऋषि अधिकारी र हिरण्यलाल श्रेष्ठसहित इन्दिरा दली, कृष्ण ज्ञवाली, डा. खगेन्द्र प्रसाईं, दीपेन्द्रबहादुर क्षेत्री, निनु चापागाईं, मानवी पौडेल, युवराज पाण्डे, सूर्यनाथ उपाध्याय, डा. सूर्यराज आचार्य, डा. सोमलाल सुवेदी, शारदाप्राद त्रिताल र डा. शूरवीर पौड्याल छन् ।
परराष्ट्रमन्त्रीको भ्रमणबारे ध्यानाकर्षण भएको भन्दै उनीहरूले भनेका छन्, ‘शिष्टाचार र सद्भाव आदानप्रदान तथा सम्बन्ध नवीकरणका साथै मुलुकलाई परेका अप्ठेरा फुकाउने कुनै अपरिहार्य राष्ट्रिय स्वार्थका कार्यसूची छन् भने तिनलाई सम्बोधन गर्नका लागि भ्रमण गर्न सकिन्छ ।’
‘वास्तवमा सीमा विवादलगायत विभिन्न कुराहरूले गर्दा केही समयदेखि चिसिएको देखिएको भारतसँगको सम्बन्धलाई पारस्परिक विश्वास र समानताका आधारमा पुनः न्यानो बनाउँदै परस्परमा स्वीकार्य, सम्माजनक र सार्थक निष्कर्ष निकाल्ने सन्दर्भमा राजनीतिक तहमा प्रवेश गरेको अहिलेको प्रस्तावित द्विपक्षीय वार्तालाई निरपेक्ष ढंगबाट पूरै नकार्न सकिँदैन । साथै, कोभिड–१९ विरुद्धको भ्याक्सिन प्राप्त गर्ने विषय हाम्रो तत्कालको प्राथमिकता हुन सक्छ,’ उनीहरूले भनेका छन् । नयाँ पत्रिका
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com