गाउँपालिका कार्यालयमा प्रधानमन्त्रीको हटाएर प्रचण्डको फोटो

६ माघ २०७७, मंगलवार ११:२४

काठमाडौं । सुनकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको कार्यकक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो हटाएका छन् ।

प्रधानमन्त्री ओलीको फोटो हटाएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो राखिएको पाइएको छ ।

सरकारी कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने चलन छ । सोहीअनुसार, सुनकोसी गाउँपालिकाको कार्यालयमा यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको फोटो राखिएको थियो ।

नेकपामा विवाद भएसँगै गाउँपालिका कार्यालयबाट समेत प्रधानमन्त्रीको फोटो हटाएर प्रचण्डको फोटो टाँसेको पाइएको छ । राष्ट्रपतिको फोटो भने टाँसिएकै छ ।

प्रतिनिधिसभा विघटनपछि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले प्रधानमन्त्री ओलीको फोटो हटाएका हुन् ।

गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल र उपाध्यक्ष दिर्वसिंह मोक्तानले पूर्वमाओवादीको तर्फबाट राजनीति गरेर चुनाव जितेकाले प्रचण्डको फोटो राखिएको बताएका थिए ।

सरकारी कार्यालयमा राजनीतिक दलका नेताको फोटो राखिएको यो सम्भवत पहिलो पटक हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.