ढुक्क भएर चुनावको तयारीमा लाग्न प्रधानमन्त्रीको आह्वान

१७ माघ २०७७, शनिबार १५:४८

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित मितिमै चुनाव हुने भन्दै ढुक्क भएर तयारीमा लाग्न आह्वान गर्नुभएको छ ।

ओली समूहले शनिबार चितवनको भरतपुरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले केही व्यक्तिले चुनाव हुँदैन भनेर चलाएको हल्लाको पछि नलाग्न आह्वान गर्नुभयो । नेकपा विभाजित नभएको र केही व्यक्ति मात्र बाहिरिएको उहाँको जिकिर थियो ।

प्रधानमन्त्री ओलीले देश समृद्धिको यात्रामा रहेको भन्दै आफ्नै पार्टीको सरकारले गरेका विकास निर्माणका कामको प्रचार गर्न नजान्ने प्रवृत्तिका कारण अहिलेको अवस्था आएको बताउनुभयो । चौतर्फि घेरावन्दी गर्ने प्रयास गरेका कारण प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशका लागि मध्यावती चुनावको घोषणा गरेको उहाँको दाबी थियो ।

पुष्पकमल दाहालप्रति संकेत गर्दै उहाँले माडीमा आएर आफैँले मणि बनाउने उद्घोष गरेर चुनाव जिताएको तर कुहिएको आलु परेको भन्दै व्यङग्य गर्नुभयो । प्रधानमन्त्री ओलीले माडीमा अयोध्याधाम बनेरै छाड्ने भन्दै ढुक्क रहन आग्रह गर्नुभयो ।

माघ १४ गते कोरोना खोपको अभियान शुभारम्भ गर्दै तीन महिनाभित्र सबै नेपालीलाई कोभिड–१९ विरुद्धको खोप दिने बताउनुभएका प्रधानमन्त्री ओलीले शनिबार भने बोली फेर्नुभएको छ । भारतबाट १० लाख खोप अनुदानमा आएपछि खोप अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई निःशुल्क कोरोना खोप दिने बताउनुभएको थियो ।

शनिबार चितवनमा आयोजित आमसभामा प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र फ्रन्टमा काम गर्नेहरूलाई खोप दिने बताउनुभयो । बाँकी जनतालाई क्रमशः २०२१ भित्र खोप लगाएर कोभिड–१९ लाई नेपालबाट भगाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले पार्टीमा फर्कन अर्को समूहलाई आग्रह गर्नुभयो । जनताले एकता, विकास र समृद्धि चाहेको भन्दै उहाँले गल्ती सच्चाएर फर्कन आग्रह गर्नुभयो । कार्यक्रममा भौतिक विकास मन्त्री बसन्त नेम्वाङ र शहरी विकासमन्त्री प्रभु साहले पनि सम्वोधन गर्नुभएको थियो ।

यसैबीच प्रधानमन्त्री ओलीले आजै भरतपुरका दुई महत्वपूर्ण आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ सडक ६ लेन कार्यको शिलान्यास गर्नुभयो । त्यसअघि प्रधानमन्त्री ओलीको विरोधमा दाहाल नेपाल समूहले विहानै सडकमा टायर बालेर पर्चा छरी विरोध गरेको थिए ।

प्रधानमन्त्री ओली हेलिकप्टरबाट भरतपुर विमानस्थल ओर्लनासाथ प्रतिगामी कदम लेखिएको कालो बेलुन आकाशमा उडाइएको थियो । जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.