कांग्रेसकै अनिच्छाले संयुक्त आन्दोलनमा जान सकिएन : बाबुराम भट्टराई

२२ माघ २०७७, बिहीबार १९:०३

संखुवासभा, माघ २२ ।  नेपाली कांग्रेसको अनिच्छाका कारण संवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलनमा जान नसकिएको पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बताएका छन्।

जनता समाजवादी पार्टीले संखुवासभाको सदरमुकाम खाँदबारीमा बिहीबार गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले कांग्रेस नै संयुक्त आन्दोलनको बाधक बनेको आरोप पनि लगाए।

असंवैधानिक कदमविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाइरहेको उनको भनाइ थियो। उनले भने, ‘अहिले नेकपा विभाजनको औपचारिक टुंगो नलाग्नु र कांग्रेस पर्ख र हेरको अवस्थामा रहेकाले दलहरुबीच साझा आन्दोलन हुन सकेन।’ 

प्रतिनिधिसभा पुनर्स्थापनाबिना कुनै पनि हालतमा वैशाखमा निर्वाचन हुन सक्ने पनि उनले दाबी गरे।

प्रतिनिधिसभा जीवित भएको भन्दै उनले राज्यका सबै अंग नियन्त्रणमा लिएर दुई तिहाइ मतप्राप्त प्रधानमन्त्रीले संसद भंग गर्नु चरम निरंकुशता र तानाशाही प्रवृत्ति भएको पनि बताए।

यस्ता प्रतिगमन नटिक्ने भन्दै नागरिकको अधिकार नमिच्न र संविधानमाथि आक्रमण नगर्न चेतावनी दिए। शुक्रबार हुने विरोध सभालाई सम्बोधन गर्न पत्नी हिसिला यमिसहित नेता भट्टराई संखुवासभाको खाँदबारी आइपुगेका छन्।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.