दोस्रो चरणमा गम्भीर रोग भएकालाई कोरोना खोप दिने सरकारको तयारी

२३ माघ २०७७, शुक्रबार ११:५८

काठमाडौं, माघ २३ । सरकारले दोस्रो चरणमा गम्भीर प्रकृतिका रोग भएका व्यक्तिहरूलाई खोप दिने तयारी थालेको छ ।

गम्भिर प्रकृतिका रोग भएका ५५ वर्षमाथिका महिला तथा पुरुषलाई खोप दिने गरी स्वास्थ्य मन्त्रालयले तयारी अघि बढाएको हो ।

त्यसका लागि विवरण संकलन थालिएको छ । गम्भीर रोग लागेका व्यक्तिहरूसँग भएका चिकित्सकका रिपोर्ट वा औषधि सम्बन्धीको हेरेर त्यस्ता मानिसहरूलाई खोप कार्यक्रममा सहभागी गराउन लागिएको मन्त्रालयले जनाएको छ ।

दीर्घरोग भएका ४० देखि ५४ वर्ष उमेरका व्यक्ति, दीर्घ रोग भएका शरणार्थी र प्रवासी कामदारलाई पनि दोस्रो चरणमा नै खोप उपलब्ध गराउने गरी तयारी थालिएको छ ।

दोस्रो चरणमा ५५ लाख ८३ हजारलाई खोप दिने योजना छ । तेश्रो प्राथमिकतामा १८ वर्ष उमेर समूहभन्दा माथिका सबैलाई खोप उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी, स्वास्थ्य कर्मचारी लगायतलाई भारतबाट प्राप्त कोभिशील्ड खोपको पहिलो मात्रा सरकारले दिइरहेको छ ।

भारतमा उत्पादित कोभिशील्डले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । नेपालले कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ५६ हजार डोज कोरोना भाइरस विरुद्धको खोप पाउने भएको छ ।

हाल भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप नेपालभर लगाउन थालिएको छ । चीनले पनि तीन लाख डोज खोप सहयोग स्वरुप दिने घोषणा गरेको छ ।

बाँकी खोप किन्ने सरकारको तयारी छ । अहिले निश्चित गरिएको देशको ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउँदा ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.