नेकपाको बृहत जनसभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने

२३ माघ २०७७, शुक्रबार ०७:४६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज बृहत् जनसभासभा आयोजना गर्दै छ ।

“राष्ट्रिय स्वाधिनता, संविधानकोे रक्षा, अराजकताको अन्त्य, राजनीतिक स्थिरता र विकासको लागि ताजा जनादेश” भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागेकाे हाे ।

नेकपा बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने जानकारी गराए । सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरेकाे थियाे ।

मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्नुहुनेछ । सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ ।

जुलुसमा साङ्गीतिक प्रस्तुतिसहित कलाकारहरु पनि सहभागी हुनेछन् । पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको कमिटीका अध्यक्ष पोखरेलले जानकारी दिए ।सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ । सभा सम्पन्न गर्न जिल्ला, पालिका र वडास्तरीय परिचालन कमिटी गठन गरिएको छ । प्रदेश कमिटीले सभाको तयारीस्वरुप बुधबार काठमाडौँमा १० हजार मोटरसाइकलको र्याली गरेको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.