नयाँ संस्करणकाे आइपिएल अक्सनका लागि सन्दीपसँगै ८ नेपाली खेलाडीको नाम दर्ता

२४ माघ २०७७, शनिबार ०७:१७

काठमाडौं, माघ २४ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी—ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालका ८ खेलाडीले नाम दर्ता गराएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) मार्फत ८ नेपाली खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन् ।

अक्सनका लागि क्यानले पठाएको खेलाडीको सूचीमा सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र शरद भेषवाकर रहेका छन् ।

यस्तै दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनास बोहोरा अक्सनमा रहेको क्यानले जनाएको छ । सन्दीपले यस अघिका तीन सिजन आईपीएल खेलिसकेका छन् ।

दिल्ली क्यापिटल्सले सन्दीपलाई हालै रिलिज गरेको थियो । अन्य खेलाडीले आईपीएल खेलेका छैनन् ।

आगामी सिजनको आईपीएलका लागि कुल १ हजार ९७ जना खेलाडीले अक्सनका लागि नाम दर्ता गरेका छन् ।

आईपीएलको नयाँ सिजनका लागि भारतका ८ सय १४ र बाहिरका २ सय ८३ खेलाडी अक्सनमा परेका छन् । आईपीएलको अक्सन चेन्नेईमा फेब्रुअरी १८ मा आयोजना गर्ने बीसीसीआईको तयारी छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.