काठमाडौं । अत्यन्त कम र असन्तुलित पौष्टिक तत्व भएका, उच्च क्यालोरीयूक्त, धेरै पहिले तयार गरेर बट्टा वा बोतलमा प्याक गरेर राखिएका, प्रशोधित एवं परिस्कृत, उच्च मात्रामा नुन चीनी र चिल्लो हालिएका र व्यापारिक प्रयोजनका लागि अखाद्य वस्तु समेत हालेर स्वादिष्ट बनाईएका, नपकाईकन पनि खान मिल्ने गरि तयार गरिएको खानेकुराहरूलाई चलन चिल्तीको भाषमा मृत खाना वा जंङ्कफूड भनेर भन्ने गरिन्छ।
यी खानेकुराहरूको सेवन गर्ने व्यक्तिलाई जाड, रक्सी वा चूरोटको लत जस्तै लत बस्दछ । यस्ता खानेकुरा लामो समयसम्म खाइरहेमा अनेकौ स्वास्थ्य समस्याहरू देखापर्न थाल्दछ।

स्वास्थ्यमा असरः
मुटु रोगः
जङ्कफूडको सेवनले मुटु तथा रक्तनलिको रोग लाग्दछ भन्ने तथ्य धेरैलाई थहा भईसकेको छ। जङ्कफूडमा प्रशस्त मात्रामा नुन वा चीनी र चिल्लो हालीनु, खाद्यरेशा नहुनु, भिटामीन र एण्टिअक्सीडेण्ट कम हुनु वा नहुनु, अन्य अखाद्य वस्तुहरूको पनि मिलावट भएका जङ्कफूड खाएर मुटुरोग लाग्न सक्छ ।
उच्चमात्रामा भएको कार्बोहाईड्रेटस अथवा चीनी छिटो छिटो पचेर पाचन पश्चात ग्लूकोज बन्दछ र रक्तग्लूकोज बढाउँदछ। यसैगरी उच्चमात्रामा भएको चिल्लोले रक्त कोलेस्टेरोलको मात्रा बढाउँदछ भने उच्च मात्रामा नुन वा सोडियम प्रयोग गर्नाले रक्तचाप बढ्दछ।
त्यसैगरि खानेकुरामा खाद्यरेशा, भीटामीन र एण्टिअक्सिडेण्ट नहुदा पनि रक्तनली सुन्निने र साघुरिने गर्दछ। यो क्रिया मुटुको रक्तनलीमा भए हामी त्यसलाई मुटुरोग भन्दछौ। जङ्कफूडमा उच्च मात्रामा हालिएको नुन, चीनी र चिल्लोले तौल बढाउने, रक्त कोलेस्टेरोलको मात्रा बढाउने, रक्तनलीहरूको ईफ्लामेशन गराउने, खाए पश्चात तनाव, चिन्ता, भय र उदासिनता बढाउने, मधुमेह र उच्च रक्तचाप गराउने जस्ता जोखिम कारक तत्वहरूलाई बढवा दिन्छ ।
मधुमेहः
जङ्कफूडको दीर्घकालिन सेवन गर्नेहरूलाई मधुमेहले पनि आफ्नो बनाउँदछ। जङ्कफूडलाई प्रशोधन गर्दा त्यसलाई सजीलै पच्न सक्ने बनाईएको हुन्छ र यी खानेकुरा खाएपश्चात तत्काल पच्ने र रक्त ग्लूकोज ह्वात्तै बढ्ने हुन्छ । रक्त ग्लूकोज बढ्ने बित्तिकै हाम्रो प्यान्क्रियाजले पनि ईन्सुलिन स्राव गरि बढेको रत्त ग्लूकोजलाई नियन्त्रण्मा लिईहाल्दछ । बार–बार रक्तग्लूकोज ह्वात्त–ह्वात्त बढीरहेमा ईन्सुलीन प्रतिरोधकता विकशित भई टायप–२ मधुमेहको समस्या देखा पर्दछ।
जंङ्कफूडमा कुनै पनि प्रकारका रेशा र चोकरहरू राखिएको हुदैन जसका कारणले पनि मधुमेहको खतरा बढ्दछ।
चायाँ पोतो र डण्डिफोर आउनेः
जङ्कफूडमा उच्च मात्रामा प्रशोधित कार्बोहाईड्रेट्स हुने भएकाले चाँया पोतो र डण्डीफोर जस्ता सौन्दर्यात्मक समस्याहरू पनि निम्त्याउँने गर्दछ। त्यसमा पनि उच्च ग्लाईसेमीक ईन्डेक्स भएका जङ्कफूडहरू जस्तै चकलेट, मिठाई, लड्डू, सोन्पापडी, आदीको सेवनले तुरून्तै रक्त ग्लूकोज र रक्त ईन्सुलिन बढाईदिने गर्छ । जसका कारणले एन्ड्रोजेन स्राव र तेल उत्पादन भई चाँया, पोतो र डण्डिफोर को समस्या जन्माउँछ। त्यसै गरि उच्च मात्रामा जङ्कफूडको सेवन गर्नेहरूलाई एक्जिमाको समस्या पनि देखा पर्दछ। एक्जिमा भनेको एक किसिमको छालाको एलर्जी हो ।
क्यान्सरः
जङ्कफूडको सेवनले तौल बढ्दछ । तौल बढ्नु क्यान्सरको जोखिम कारक तत्व हो। यसैगरि जङ्कफूडको सेवनले शरीरमा ईन्फ्लामेसनलाई बढाई दिने हुँदा क्यान्सरको जोखिम बढ्दछ। विभिन्न स्वास्थ्य अनुसन्धानहरूले दर्शाय अनुरूप जङ्कफूडको सेवनले ठूलो आन्द्रा र मलाशयको क्यान्सर, श्वासमार्गको क्यान्सर, फोक्सोको क्यान्सर, मुख, नाक, जीब्रो, घाटी, स्वरयन्त्र, आमशयको क्यान्सर हुने अनुसन्धानहरुमा उल्लेख गरिएको छ ।
त्यसैगरि डिम्बाशय र पाठेघरको क्यान्सरसँग पनि जङ्कफूड जोडिएको छ। यसैगरि तारेको, भूटेको, सेकुवा, भूटूवा, तरूवा, हटडग, बन, डोनट र कार्बोनेटेड–सफ्ट–ड्रिङ्क आदिको कारणले पनि क्यान्सर लाग्न सक्छ।
नैराश्यताः
जङ्कफुड सेवन र नैराश्यता बिच गहिरो सम्बन्ध रहेको छ । स्वस्थकर प्राकृतिक खानेकुराहरूलाई राम्रो मूड फ्रेसनरका रूपमा लिईन्छ जबकी जंङ्गफूडलाई मानसिक उत्तेजकको रूपमा बुझिने गरिएको छ । खानेकुरालाई जङ्क बनाउँदा यसलाई धेरै पटक सोधन र प्रशोधन गरेर उपयोग गरिने हुदाँ यीनका प्राकृतिक गुण धर्म नष्ट साथै भोजनलाई स्वादिष्ठ बनाउनका लागि प्रर्याप्त मात्रामा नुन, चीनी, चिल्लो, कृत्रिम रङ्ग, अजीनोमोटो जस्ता रसायनहरू हालिएको हुन्छ।
यस्ता खानेकुरा खाएपश्चात मस्तिष्क लगातार उत्तेजीत भईरहने हुँदा तनाव, चिन्ता, भय हुँदै विस्तारै नैराश्यताको शिकार हुन पुग्दछ। यसो हुनुको वास्तविक कारण रक्त ग्लूकोजको निरन्तर घट–बढ, न्यूरोट्रान्समीटर हरूको अनियन्त्रण र जङ्कफूडमा भएका हानीकारक तत्वहरूले शरीरका विभिन्न भागमा गर्ने ईन्फ्लामेसन आदिलाई मानिएको छ।
शक्तिहिनताः
जङ्कफूडको सेवन गर्नेहरूमा एकछिन फूर्तिफार्ति आए पनि कालान्तरमा शक्तिहिनता देखापरेको छ। यसो हुनुको मुख्य कारण जङ्कफूडको सेवन पश्चात रक्त ग्लूकोज र ईन्सुलिनको मात्रा ह्वात्त बढ्ने र तुरून्तै कम भई हाल्ने हुन्छ। पटक पटक रक्त ग्लूकोज बढ्ने र कम हुने गर्दा उर्जा हिनताको अनुभव हुन्छ।
कलेजोमा बोसो जम्नेः
जङ्कफूडमा हालिएको प्रशोधित कार्बोहाईड्रेटसको सेवनले कलेजोमा बोसो जम्ने फ्याट्टी लिवर भन्ने समस्यालाई जन्म दिन्छ। प्रशोधित कार्बोहाईड्रेटस त्यसमा पनि उच्च फ्रूक्टोज भएका खानेकुराहरू जस्तै चीनी, कर्न–सिरप, राईस–सिरप आदिको सेवन गर्दा ती तत्वमा भएको उच्च फ्रूक्टोज बोसोको रूपमा कलेजोमा संरक्षित भएर रहन्छ फलतः कलेजोमा बोसो लाग्दछ।
मृगौलालाई क्षतिः
लामो समयसम्म जंङ्कफूडको सेवनले मृगौलाको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्दछ। यसो हुनुको मुख्यकारण जङ्कफूडमा उच्चमात्रामा हालिएको नुन, चिनी र चिल्लो, अखाद्य रसायनहरू हुन। उच्च मात्रामा नुन चिनी र चिल्लोको सेवनले मृगौलाका सूक्ष्म रक्तनलीहरूलाई क्षती पु¥याउने हुँदा मिर्गौला क्षतिग्रस्त हुन सक्छ।
श्वास–प्रश्वासमा समस्याः
जङ्कफूडको सेवनले विशेषतः तौल बढाउने काम गर्दछ । धरै तौल बढ्दै गएमा मोटोपन अर्थात ओबेसिटीले सताउँछ। माटोपनका समस्याले ग्रस्त रोगीहरू लाई दम बढ्ने र श्वास फूल्ने समस्याले सताउँछ। जङ्कफूडको सेवनले दम जन्माएको विशेषतः केटाकेटीमा ज्यादा देख्न सकिन्छ।
दाँत र हड्डीमा असरः
जंङ्कफूडको सेवन गर्ने मान्छेहरूलाई एसिडिटीको समस्याले ज्यादा पिरोल्ने र पेटको एसिड मुखमा आएर दाँतको ईनामेल खुईल्याई दिने गर्दछ। दाँतको ईनामेल खुईलिई सकेपछि त्यस ठाँउमा ब्याक्टेरियाहरूको संक्रमण भई दाँतमा क्याभिटी बन्ने, किरा लाग्ने जस्ता समस्या देखा पर्दछ। त्यसैगरि जंङ्कफूडमा भएको प्रशोधित कार्बोहाईड्रेटस दाँत, गीजा र मुखमा टासिएर ब्याक्टेरियालाई आकर्षित गरेर दाँतलाई संक्रमित बनाउँछन्। यसैगरि लामो समयसम्म जङ्कफूडको सेवन गर्ने गरे हड्डीको अस्थी घनत्व कम हुने, हड्डी खिईने आदि जस्ता समस्या देखा पर्दछन्।
उच्च रक्तचापः
जङ्कफूडको सेवन गर्ने धेरैलाई उच्च रक्तचापको समस्यालाई सताउँछ। शरीरमा नुन वा सोडियमको मात्रा चाहीने भन्दा धेरै भए सोडियमले पिसावबाट उत्सर्जित भएर जाने पानीलाई समेत पुन शरीरमा खैचिएर रगतको आयतन बाढाई रक्तचाप बढाउँछ। यसैगरि जङ्कफूडमा उच्च मात्रामा हालिएको चिल्लोले पनि रक्तचिल्लोको गडबडी गराई नशालाई साघु¥याई दिने हुदा रक्तचाप बढाउँछ। यसै गरि जंङ्कफूडमा हालिएका धेरै अखाद्य पदार्थहरूले रक्तनलीको भित्री पत्रको ईन्फ्लामेसन गराउने हुँदा यसले पनि रक्तचाप बढाउन मद्धत गर्छ।
रक्त चिल्लोको गडबडीः
जङ्कफूडको सेवनले व्यापक रूपमा रक्तचिल्लोको गडबडी गराउँछ। उच्च चिल्लोले शरीरमा कोलेस्टेरोल र ट्राईग्लिसिराईडको मात्रा बढ्छ। यसै गरि जङ्कफूडमा हालिने ट्रान्स फ्याटले पनि राम्रो कोलेस्टेरोल एचडीएलको रक्तमात्रा कम गर्ने र नराम्रो कोलेस्टेरोल एलडीएललाई बढाउने काम गर्दछ। यसै गरि जङ्कफूडमा हालिएको उच्च चिल्लोले फ्याट्टि लिवर गराउने हुदाँ यसले पनि रक्त चिल्लोको गडबडी गराउनमा मद्धत गर्दछ।
(डा.हेमराज कोइराला योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालाय भरतपुर–१ वागीश्वरी चितवनका मेडिकल डाईरेक्टर हुन्।)
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com