समानान्तर सत्ताको अभ्यास भएपछि संसद विघटन गरेको हुँः प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीबाट समानान्तर सत्ता सञ्चालनको प्रयास भएपछि संसद विघटनको कदम चाल्नु परेकाे बताएका छन्।

सरकार गठन भएदेखि नै यस किसिमका प्रयासहरु आफ्नै पार्टीबाट भएकोले संसद विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनमा जाने निर्णय लिनुपरेको उनले बताए।

उनले सुरुदेखि नै व्यवधान खडा गरिएका भए पनि पछिल्लो एक वर्षदेखि त समानान्तर सत्ता नै सञ्चालन गर्न खोजिएको आरोप लगाए।

उनले भने, ‘पार्टी भित्रैका केही शीर्ष नेताहरुको कुण्ठाको बाछिटा व्यवस्थापिकामा नपरोस् भन्नेमा हरदम सचेत थिएँ । समय भन्दा अगावै निर्वाचनको बाटोमा हिँड्न नपरोस भनेर मैले धेरै प्रयास गरेँ तर सफल भएन, समानान्तर सत्ता सञ्चालनको प्रयास भयो।’

सरकारका तीन वर्षका उपलब्धी सार्वजनिक गर्ने  कार्यक्रममा प्रधानमन्त्रीले पुष पाँच गते अपरान्हसम्म पनि संसद विघटनको निर्णयमा जान नपरोस् भनेर आफूले प्रयास गरेको बताए।

‘अचानक निराधार र झुटा फौजदारी अभियोग छापेर, देशभरि वितरण गरेर सरकारमाथि हमला गर्ने बाटोमा हिँडेका नेताहरुलाई सम्झाउने र परिस्थितिलाई सकारात्मक बनाउने प्रयास लगातार गरिरहेँ । र यो प्रयास गत पुष ५ गते विघटनमा हस्ताक्षर हुनुभन्दा अगाडि २ बजेसम्म पनि मैले गरेँ । तर सम्भव नभएपछि विघटन गरेर निर्वाचनमा जानु पर्ने अवस्था आयो’, प्रधानमन्त्रीले भने।

उनले झुटो अभियोग र निराधार आरोप लगाएर खुइल्याउने प्रयास नगरौँ र स्वस्थ ढंगले सरकार र पार्टी चलाऔँ भनेर प्रयास गरेको भए पनि त्यसमा अर्काे पक्षले साथ नदिएको बताए।

प्रधानमन्त्री ओलीले ६४ प्रतिशत सदस्यद्वारा समर्थित, निर्विरोध र सर्वसम्मत्त जस्तो प्रधानमन्त्रीले विघटन गरेको संसद अब पुनस्र्थापनाको कुनै सम्भावना नरहेको बताए।

आफूविरुद्ध पार्टीको संसदीय दलमा कुनै उजुरी नरहेको उनले दाबी गरेका छन् । ‘संसदीय दलको नेता बदल्नुपर्छ भन्ने कुरा उठेको छैन र त्यो सम्भव पनि छैन’, प्रधानमन्त्रीले भने, ‘नेकपा भन्दा बाहिरबाट अर्को सरकार गठन हुने कुनै सम्भावना छैन।’

उनले नेकपा भन्दा बाहिर ३६ प्रतिशत संख्या रहने र त्यसलाई जतिपटक गने पनि ५१ प्रतिशत नहुने बताए।

उनले विघटनको बाटो नगएर अरु विकल्पमा गएको भए देश अस्थिरतातर्फ जाने भएकाले ताजा जनादेशमै जाने निर्णय लिएको बताए।

‘संसदको बाँकी कार्यकाललाई राजनीतिक अस्थिरताको खेल मैदान बन्न दिनुहुँदैनथ्यो’, प्रधानमन्त्रीले भने।

प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिलाई अस्वस्थ खेलतर्फ जान मञ्जुरी दिने या उपलब्धीको रक्षा गर्दै स्थिरता, स्थायित्वको बाटो र जनताको अभिमतबाट निर्णय गर्ने भन्ने दुईवटा विकल्प मध्ये आफूले पहिलो विकल्प रोजेको बताए।

केही व्यक्तिका साँठगाँठबाट राष्ट्रिय राजनीति प्रदुषित हुने बाटोमा जान दिनुहुँदैन भनेर ताजा जनादेशमा जाने निर्णय लिएको उनले बताए।
उनले निर्वाचनमा जाने कुरालाई प्रतिगमन भनिरहेकोमा आक्रोश पोखे।

‘संसद विघटनलाई कतिपयले संविधान विपरीत र प्रतिगमन जस्ता आपत्तिजनक आरोपहरु लगाइएका छन्। मलाई उदेक लागिरहेको छ । केलाई प्रतिगमन भनेको उहाँहरुले?’ ओलीले प्रश्न गरे, ‘निर्वाचन प्रतिगमन हो? निर्वाचन हुँदा राजनीतिक प्रणाली समाप्त हुन्छ? त्यसो भए डेढ दुई वर्षपछि चुनाव त हुने नै थियो। फेरि प्रतिगमन त हुन्छ नै।’

उनले सधैँ सत्तामै बसिरहन्छु भनेर आफूले कहिल्यै नभनेको बताए।

‘चुनाव गराउँदैन र शासनमा बसिरहन्छु भनेर मैले भनेको छैन । चुनाव गराउँछु भनिरहेको छु । कुनै हालतमा चुनाव गराउँदैन भनेर उहाँहरुले राजनीति गरिरहनुभएको हो कि ज्योतिष शास्त्रको अध्ययन गरेको हो । कस्तो भविष्यवाणी गर्नुहुन्छ उहाँहरु?’ ओलीले प्रश्न गरे।

उनले विगतका सरकार ढाल्न के कस्ता खेल भएका थिए भनेर इतिहासका घाउ कोट्याउन नचाहेको बताए।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope