मानवअधिकार वर्ष पुस्तक सार्वजानिक

७ फाल्गुन २०७७, शुक्रबार १९:३१

सन् २०२० मा कर्णाली प्रदेशमा ४८४ मानवअधिकार हनन्का घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा प्रकाशित मानवअधिकार वर्ष पुस्तक २०२० का अनुसार कर्णालीमा मानवअधिकार संरक्षणको अवस्था चिन्ताजनक रहेको तथ्याङ्क पाइएको हो ।

वर्ष पुस्तकमा राज्य पक्षबाट भएका घटनाबाट ५८ जना र अन्य पक्षबाट ४३६ नागरिक मानवअधिकार हननका घटनाबाट पीडित बनेको उल्लेख छ । सन् २०२० मा कर्णाली प्रदेशमा ३२ को हत्या भएको छ । यसमा राज्य पक्षबाट एक र र अन्य पक्षबाट ३१ जना छन् । सन् २०१९ मा प्रदेशमा ४१३ नागरिक मानवअधिकार हनन्का घटनाबाट पीडित बनेका थिए । इन्सेक प्रदेश संयोजक नारायण सुवेदीले कर्णालीमा वर्षेनि मानवअधिकार उल्लङ्घनका घटना बढ्दै गएको बताउनुभयो ।

“हत्या, अपरहण, कुटपिटजस्ता गम्भीर घटनादेखि अभिव्यक्ति स्वतन्त्रता, भेला र संगठित हुन पाउने अधिकारबाट बञ्चित भएका घटना वर्ष पुस्तकमा समावेश गरिएको छ,” उहाँले भन्नुभयो, “कर्णालीमा महिला तथा बाल अधिकार हनन्का घटनाबाट सबैभन्दा धेरै पीडित भएका छन् ।”

इन्सेकले बलात्कार, हत्या, विप्लव समूहका गतिविधि, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, बाल अधिकार, महिला अधिकारका घटनालाई मानवअधिकार हनन्का प्रमुख घटनाका रुपमा लिने गरेको छ । वर्ष पुस्तकमा सन् २०२० मै रुकुम पश्चिमको सोतीमा भएको घटनालाई ज्यादतीपूर्ण मानवअधिकार हनन्को घटनाका रुपमा व्याख्या गरेको छ ।

यसैबीच, मानवअधिकार वर्ष पुस्तक २०२० को विमोचन कार्यक्रममा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधिस नहकुल सुवेदीले मानवअधिकार संरक्षणमा न्यायालयको महत्वपूर्ण भूमिका हुने र पीडितलाई छिटो छरितो न्याय प्रदान गर्न प्रदेशमा आफूले नेतृृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउनुभयो । कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य देवी ओली, प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्त पन्त, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वडिन पीताम्बर ढकाललगायतले कर्णालीको मानवअधिकारको अवस्थाबारे विचार व्यक्त गर्नुभएको थियो ।

RSS

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.