भगवान् बनाउने मान्छे !


मानिसले हरेक कुरालाई गहिराइमा पुगेर यसको अर्थ र महत्व बुझ्न सक्यो भने जीवनमा नाम र दाम कमाउन कठिन छैन । जीवनमा कलाले रङ्ग मात्र भर्दैन, प्राण पनि थप्छ । बागलुङ नगरपालिका– २ श्रीनगर टोल निवासी सुवासचन्द्र लामिछाने चित्रकला र मूर्तिकलामा आफ्नो सृजनशीलता प्रस्तुत गर्न व्यस्त हुनुहुन्छ । उहाँ कलामा व्यावसायिकता अँगाल्ने कममध्येमा पर्नुहुन्छ ।

ढुङ्गाको आकर्षक मूर्ति र शिलालेख लेखनमा यस क्षेत्रमा लामिछानेको पृथक परिचय छ । उहाँले तयार गरेको मूर्ति नेपालका धेरै स्थानमा पुगेको छ । लामिछानेका दाजुभाइ पनि मूर्तिकला व्यवसायमा सक्रिय हुनुहुन्छ । सुवासचन्द्र सानै उमेरमा चित्रकलामा पोख्त हुनुहुन्थ्यो । उहाँ अहिले ४६ वर्षको हुनुभयो । पुख्र्यौली घर कुस्मा नगरपालिका–१० गहतेपखरा हो । त्यही गाउँबाट एसएलसी उतीर्ण गर्नुभएका लामिछाने अहिले धौलागिरिमा सफल व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । बागलुङ नगरपालिका– २ श्रीनगर टोल, क्याम्पस रोडमा बस्दै र व्यवसाय गर्दै आउनुभएका लामिछाने दाजुभाइ मूर्तिकला र शिलालेखको काममा सदैव भ्याइनभ्याइ हुन्छ ।

पुख्र्यौली चित्रकलामा पोख्त लामिछाने कक्षा २ मा अध्ययन गर्दा धौलागिरि अञ्चलमा नै चित्रकलामा प्रथम भएको बताउनुहुन्छ । “सानै उमेरमा चित्रकलामा बढी जोड थियो, धेरै पटक प्रतियोगितामा भाग लिँदा अधिकांशमा प्रथम भए, विद्यालयका गुरुलेसमेत चित्रकलाबाट आफूहरु प्रभावित बनेको बताउनुहुन्थ्यो”, लामिछानेले भन्नुभयो, “कुनैबेला व्यावसायिक बनिएला भन्ने लागेकै थिएन, धेरैको प्रेरणा, चित्रकलाको ज्ञान र अथक मेहनतले यसलाई निरन्तरता दिएको छु, नयाँ र फरक पेशा भए पनि निरन्तर लागे सफल भइन्छ भन्ने उदाहरण पनि हो ।”

अहिले लामिछानेका चारै भाई मूर्तिकलामा हुनुमा जेठा सुवासचन्द्रकै योगदान छ । सुवासचन्द्रका दुई भाइले सुवास ब्रदर मूर्ति उद्योग तथा मार्बल आर्ट सञ्चालनमा ल्याउनुभएको छ । भाइ लेखनाथको श्रीनगर टोलमा र भाइ विपिनले म्याग्दीमा मूर्ति उद्योग चलाउनुभएको छ ।

“कागजमा कोरेको चित्रलाई कमलो ढुङ्गामा उतार्न मन लाग्यो, सरस्वतीको मूर्ति छिनो र घनको सहायताले बनाए, त्यसपछि ढुङ्गामा समेत मूर्ति बनाउन सकिने रहेछ भन्ने लाग्यो”, लामिछानेले स्मरण गर्दै भन्नुभयो, “विसं २०४६ साउन १३ गतेदेखि ढुङ्गा कुँदेर मूर्ति निर्माण गर्न थालेको हँु, अहिले विद्युतीय औजारले केही सहजता बनाएको छ ।”

त्यतिबेला लामिछानेलाई मूर्ति बनाउने काम व्यावसायिक बन्ला भन्ने सोच थिएन । उहाँले २०५२ सालबाट व्यावसायिकरुपमा मूर्ति बनाउने काम कुस्मा बजारबाट गर्नुभएको हो । एसएलसी पास गरेपछि व्यावसायिक बन्नुभएका लामिछानेले पहिलोपटक पञ्चदेवीको मूर्ति बनाएर बिक्री गर्नुभएको थियो ।

उहाँले घन र फलासीले कुँदेर बनाएको उक्त मूर्तिलाई ५०० का दरले बिक्री गर्नुभएको थियो । हिन्दू धर्मका धेरै भगवान् र सँगै बौद्धको मूर्तिसमेत बनाउँदै आउनुभएका लामिछानेले मूर्तिको माग धान्नै धौधौ भएको बताउनुभयो । धौलागिरिका चार जिल्लामा शिला र मूर्ति बिक्री गर्दै आउनुभएको छ भने पोखरा, काठमाडौँ, चितवनलगायतका स्थानबाट मूर्तिको माग भइरहेको उहाँको भनाइ छ ।

देश धर्म निरपेक्षतामा गइसकेपछि झनै आफ्नो धर्म, संस्कृति तथा मठमन्दिर निर्माणमा तीव्रता दिइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मठमन्दिर बनाउने शिला लेख्ने कार्य निकै बढेको र आफ्ना बाउबाजेले निर्माण गरेको मठमन्दिरमा मूर्ति राख्ने परम्परासमेत बढेको छ ।”

आफूलाई धेरैले भगवान् बनाउने मान्छे भन्ने गरेको उहाँको भनाइ छ । आफूले केबल ढुङ्गामा कला भरेको तर त्यस्तो मान्छे नभएको लामिछानेको स्पष्टोक्ति छ । “भगवान् ढुङ्गामा हुन्छ, परापूर्वकालदेखि मानिसले ढुङ्गालाई पुज्ने गरेका छन्”, लामिछानेले भन्नुभयो, “ढुङ्गा आफैँमा देउता हो, पहिचान गर्ने क्षमता फरक होला, मैले ढुङ्गा देख्नासाथ भगवान् सम्झन्छु त्यही भगवान् ढुङ्गा कुँदेर निकाल्छु, ढुङ्गामा भगवान्को बास हुन्छ, कालीगढ एउटा माध्यम मात्रै हो, मैले ढुङ्गाभित्रको भगवान्लाई आकार मात्रै दिएको हो ।”

लामिछानेले आफूले प्रत्येक ढुङ्गामा लाख–लाख देख्ने गरेको रोचक अनुभव सुनाउनुभयो । उहाँले भगवान् बनाउन नसक्ने भगवान्को स्वरुपलार्ई बाहिर ल्याउने प्रयास गर्नु नै मूर्तिकारको मुख्य काम भएको बताउनुभयो । पहिला ठूलो शिला पुज्ने गरिन्थ्यो अहिले कालिगढले शिलालाई आकारमा मात्रै ढालेको उहाँको तर्क छ । मूर्ति उद्योगमा प्रायः शिवलिङ्ग, शिव भगवान्, विष्णु, नाग, सरस्वती, देवी, पार्वती र नारी स्वरुपका मूर्ति बनाउने गरेको उहाँले बताउनुभयो ।

मूर्तिकलामा प्रविधिले निकै सहयोग गरेको छ । उहाँले भन्नुभयो, “पहिला महिनौँ लाग्ने मूर्तिलाई अहिले हप्तामै बनाउन सकिन्छ, यसमा विद्युतीय औजारको सहयोग धेरै छ ।” विसं २०६० देखि विद्युतीय औजार चलाएको उल्लेख गर्दै उहाँले विसं २०६० बाटै शिला लेख्न थालेको बताउनुभयो ।

ढुङ्गामा कोरेर भावना, संस्कृति तथा दर्शन निकाल्न सक्ने भन्दै अधिकांश ढुङ्गाले संस्कृति देखाउने बताउनुभयो । अलि कडा र नटुक्रिने ढुङ्गाबाट राम्रो मूर्ति बन्ने र ढुङ्गा खोज्न विभिन्न जिल्ला भौतारिनुपर्ने अवस्था छ । एउटै ढुङ्गालाई उद्योगसम्म ल्याउन ५० हजारदेखि एक लाखसमेत खर्च हुन्छ ।

कुनै पनि विषय, क्षेत्रको काममा नयाँ र फरक हिसाबले सोच, सोध र खोज गर्नसके युवा विदेश पलायन हुन नपर्ने मूर्तिकार सुदीप लामिछाने बताउनुहुन्छ । उहाँले दाजुको मेहेनत र लगाव देखेर आफू पनि यसप्रति अग्रसर भएको बताउनुभयो । बाइस वर्षीय सुदीप ल्याब टेक्निसियन अध्ययन गर्दागर्दै दाजुको कर्म देखेर मूर्तिकलामा लागेको र अब यसमै लागिरहने उहाँको सङ्कल्प छ ।

सुवासचन्द्रले आफू उक्त व्यवसायबाट निकै सन्तुष्ट बनेको बताउनुभयो । उहाँले मूर्तिकला व्यवसायबाटै केही सम्पत्ति जोडेको बताउनुभयो । “यो धूलोमैलोमा खेल्ने पेशा हो, कतिले आफैँलाई आएर साहुजी खोईभन्दा अचम्म लाग्छ”, उहाँले पृथक स्मरणीय घटना सुनाउँदै भन्नुभयो, “अहिले कुर्चीमा बसेर खाने जागिर चाहिएको छ, मैले आफू जस्तै मेहेनत गर्ने कामदारसमेत पाउन सकेको छैन ।”


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope