तनहुँको म्याग्दे गाउँपालिका–३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाउनुभयो । श्रीमान् बित्दा उहाँको काखमा पाँच वर्षकी छोरी थिइन् भने कोखमा पाँच महिने छोरा । उहाँलाई सहारा दिने आफन्त कोही थिएनन् । पति गुमाउनुको पीडा एकातिर थियो नै, समाजको हेपाइ पनि उत्तिकै । सङ्घर्षले छोरा छोरी हुर्काउनुभयो, बढाउनुभयो र पढाउनुभयो । अहिले तिनै छोराछोरी पदममायाको सहारा बनेका छन् ।
श्रीमान्को मृत्युपश्चात् कहिल्यै पनि रातो टीका नलगाएकी उहाँले २३ वर्षपछि निधारमा रातो टीका लगाउनुभयो । साथै रातो पछ्यौरा पनि पहिरिनुभयो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा म्याग्दे गाउँपालिकाले आयोजना गरेको एकल महिलालाई रातो टीका, रातो पछ्यौरा सम्मानमा सहभागी भएर उहाँले टीका र पछ्यौरी पहिरिनुभएको हो ।

गाउँपालिका अध्यक्ष मायादेवी रानाले पदममायालाई रातो टीका र पछ्यौरी ओढाएर सम्मान गर्नुभयो । एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण फेर्न आफूले रातो पछ्यौरीसँगै रातो टीका लगाएको पदममायाले बताउनुभयो । “मुखले नारी पुरुष बराबरी भने पनि पुरुषप्रधान देशमा नारीहरु अपहेलित भएको अवस्था छ”, उहाँले भन्नुभयो, “त्यसैले पनि आज रातो टीका ग्रहण गरेँ ।”
म्याग्दे–३ धयरेनिवासी अञ्जु आलेले विवाहको चार वर्षमा श्रीमान् गुमाउनुभयो । श्रीमान्को मृत्युपछि भर्खर कलकलाउँदो उमेरमा उहाँको पहिरन फिक्का बन्यो । रातो पहिरन लगाउन मन भए पनि समाजले नराम्रो सोच्ला भन्ने डर थियो । समाज परिवर्तन हुनुपर्छ भन्ने सोचेर अञ्जुले २८ महिनामा रातो पछ्यौरी पहिरिनुभयो ।
कार्यक्रमको शुरुआतमै गाउँपालिका अध्यक्ष मायादेवी रानाले पनि रातो टीका र पछ्यौरा ग्रहण गर्नुभयो । उहाँलाई आफ्नै साइँली जेठानी सुकमाया राना र काइँली जेठानी विष्णुमाया रानाले रातो टीका लगाएर पछ्यौरी ओढाइदिनुभयो । अध्यक्ष रानाले चार वर्षअघि मात्रै श्रीमान् गुमाउनुभएको थियो ।
हिन्दू परम्पराअनुसार श्रीमान् गुमाएपछि रातो टीका र पहिरन नै लगाउन हुँदैन भन्ने सामाजिक मान्यता छ । त्यस्तो सामाजिक मान्यता चिर्नका लागि एकल महिलालाई रातो टीका र रातो पछ्यौरा ओढाउने कार्यक्रम गरिएको अध्यक्ष रानाले बताउनुभयो । “यो कार्यक्रम गर्दा कतिले प्रशंसा गरेका छन् भने कतिले आलोचना पनि”, उहाँले भन्नुभयो, “ती नकारात्मक कुरालाई पनि ऊर्जामा रूपान्तरण गर्छु ।” एकल महिलालाई आत्मनिर्भर बनाउन विविध कार्यक्रम बनाउने पनि रानाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा आयोजित कार्यक्रममा गाउँपालिकाले १२७ एकल महिलालाई रातो टीका र पछ्यौरीले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com