कुनै दिन पर्यटकले भरिभराउ हुने कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ स्थित अष्ट्रेलियन क्याम्पमा चहलपहल हराएको एक वर्ष भयो । कोरोना महामारीका कारण थलिएको पोखराको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै आए पनि अष्ट्रेलियन क्याम्प भने सुनसान छ । फाट्टफुट्ट आन्तरिक पर्यटकबाहेक अहिले हाइकिङ गन्तव्यका रूपमा रहेको चर्चित अष्ट्रेलियन क्याम्प सुनसान भएको अष्ट्रेलियन क्याम्पका पर्यटन व्यवसायी बताउँछन् ।
कुनै बेलाको गौचरन ठूलो खर्क अहिले पर्यटनका लागि प्रख्यात भए पनि कोरोनाले समस्या ल्याएको ट्रेकिङ व्यवसायी बताउँछन् । पोखराको फेदीदेखि पदयात्रामार्फत धम्पुस हुँदै अष्ट्रेलियन क्याम्प र अष्ट्रेलियन क्याम्प हुँदै फर्किँदा काँडे आउने पदमार्गको रुट छ तर पछिल्लो समय धम्पुससम्म सडक पुगेपछि धम्पुसबाट एक घण्टाको पदयात्रा गरी अष्ट्रेलियन क्याम्प पुग्न सकिन्छ ।

हाइकिङ गरी अष्ट्रेलियन क्याम्प पुगेका पर्यटक आँखै अगाडिको माछापुच्छे« हिमाल देखेर मोहित हुने गरेका छन् । कोरोना भयावहका कारण विदेशी पर्यटक आउने क्रम रोकिएपछि अष्ट्रेलियन क्याम्प एक वर्षदेखि सुनसान भएको अष्ट्रेलियन क्याम्पमा २० वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका अष्ट्रेलियन क्याम्प गेष्टहाउस तथा रेष्टुरेण्टका सञ्चालक हरिबहादुर केसीले बताउनुभयो ।
“यो स्थान विशेषगरी विदेशी पर्यटकको रोजाइमा पर्दछ, सिजनमा पूरै क्याम्प नै भरिने गरी पर्यटक आउँथे”, केसीले भन्नुभयो, “सिजनको समयमा झण्डै दैनिक ३०० विदेशी पर्यटक आउने अष्ट्रेलियन क्याम्प एक वर्षदेखि सुनसान छ ।” कोरोनापछि केही आन्तरिक पर्यटक हाइकिङका लागि मात्रै आउने गरेको केसीको भनाइ छ । अष्ट्रेलियन क्याम्पमा झण्डै रु तीन करोड लगानीमा होटल व्यवसाय सञ्चालनमा ल्याउनुभएका उहाँले अहिलेजस्तो सुनसान २० वर्षको अवधिमा कहिल्यै नभएको बताउनुभयो । अहिले होटलमा कामदार छैनन् । परिवारका सदस्यमात्रै पर्यटक कुरेर बस्दै आएका छन् । कोरोनाअघि उक्त होटलमा चार कामदार थिए । अहिले होटलमा पर्यटक आउन छोडेपछि कामदारलाई बिदा दिइएको हो ।
पन्ध्र वर्षदेखि अष्ट्रेलियन क्याम्पमा माछापुच्छ«े लज सञ्चालन गर्दै आउनुभएका शिव देवकोटाले अहिले घाँस, दाउरा गरेर समय कटाएको बताउनुभयो । जङ्गलको बीचमा रहेको उक्त क्याम्प निकै मनमोहक छ । क्यापभित्र टेन्टमा बास बस्ने सुविधासमेत छ । टेन्टमा रात कटाउन पर्यटक रुचाउने गरेका छन् । “अहिलेको अवस्था शून्य छ, अब पर्यटक आउने आशा छ”, देवकोटाले भन्नुभयो, “पर्यटकलाई लक्षित गरी पालिएको बाख्रा, कुखुरा तथा तरकारी त्यसै छन्, पर्यटक आउँदा खोसाखोस हुन्थ्यो ।”
चरिचरन रहेको अष्ट्रेलियन क्याम्पलाई पहिला स्थानीयवासीले ठूलो खर्कका रूपमा चिन्थे । माछापुच्छे« र अन्नपूर्ण हिमाल आँखै अगाडि देखिने, मिलेको भूबनोट र प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त ठूलो खर्कमा २० वर्षभन्दा अघि अष्ट्रेलियालीहरुले क्याम्प खडा गरेर बास बसेका कारण ‘अष्ट्रेलियन क्याम्प’का नामले चिनिन थालेको हो । समुद्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको अष्ट्रेलियन क्याम्प अहिले पर्यटकको पर्खाइमा छ ।
भौगोलिकरूपमा निकै रमणीय रहेको अष्ट्रेलियन क्याम्पको मुख्य आर्कषक अस्थायी क्याप खडा गरी टेन्टमा बस्नु हो । पहिला पर्यटक आफैँले टेन्ट तथा खानेकुरा लगेर जाने यस स्थानमा पछिल्लो समय होटल सञ्चालन हुनाले केही सहज भएको छ । अन्नपूर्ण तथा मर्दी हिमालको आधार शिविर जाने पदमार्गकै छेउछाउ भएकाले पनि यो ठाउँ निकै प्रख्यात भएको थियो ।
यहाँका होटल व्यवसायीले सडक नभएका कारण मानिसलाई बोकाएर खाद्यान्न लैजाने गरेका छन् । यस क्षेत्रमा खानेपानीको भने समस्या छ । विदेशी पर्यटक आउन केही ढिला हुने भएपछि आन्तरिक पर्यटकलाई ल्याउन प्रचारप्रसारजस्ता कार्यक्रम सञ्चालनमा ल्याइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । उहाँले कोरोनापछि घान्द्रुकमा आन्तरिक पर्यटक बढेको बताउँदै अष्ट्रेलियन क्याम्पमा पनि नेपाली पर्यटक पुग्न शुरु भइसकेको बताउनुभयो ।
RSS
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com