बलेवामा विकासको लहर

२६ फाल्गुन २०७७, बुधबार १८:५८

अनेक हिसावले चर्चामा रहन्छ बागलुङको बलेवा क्षेत्र । ढोरपाटन, गलकोट, कुश्मीशेरा र बलेवा क्षेत्र बागलुङ प्रवेश गरेपछि धेरैले सुन्ने नाम हुन् । बलेवा आर्थिक सामाजिक, सांकृतिक र धार्मिक हिसावले समेत चर्चामा रहने क्षेत्र हो । बागलुङ बजार पछिको शहरी क्षेत्र बिस्तारको सम्भावना रहेको बलेवामा पछिल्लो पटक भइरहेका पूर्वाधार विकासले बलेवाको उज्वल भविष्यको बाटो बनाइरहेका छन् ।

साविकका तीन गाउँ विकास समिति अर्थात् हालको बागलुङ नगरपालिका– १२, १३ र १४ नम्बर वडा, अमलाचौर, पैयूँपाटा र नारायणस्थानलाई बलेवा नामले बढी चिनिन्छ । यद्यपि, तत्कालीन बाइसे चौविसे राजाका पाला बलेवा कोटमा समाबेश भएका रायडाँडा, भकुण्डे र कुश्मीशेरा पनि बलेवा क्षेत्रअन्तर्गत पर्छन् ।

पछिल्लो समय बलेवा विकासका कामले चर्चामा देखिएको छ । नियमित सञ्चालन हुन नसकेका कारण गौचरणमा परिणत भएको बलेवा बिमानस्थल अहिले कालोपत्रे हुने अन्तिम तयारीमा छ । कुनै अबरोध नआएमा आगामी असार मसान्तभित्रै काम सक्नेगरी निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ । विमानस्थल क्षेत्रको भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीको दावी छ ।

‘रनवे’ धावनमार्ग कालोपत्रे गर्ने तयारी हुँदै गर्दा २०४८ साल अघिको जस्तै उत्साह स्थानीयमा छ । ‘‘कालोपत्रे भएपछि जहाज चल्छन् भन्ने लागेको छ’’ स्थानीय उमानाथ सिग्देल भन्नुहुन्छ ‘‘जहाज चल्दा हामी यहाँका मान्छेको दैनिकी नै फेरिन्छ ।’’ उमानाथको आशा जस्तै बलेवा बिमानस्थलले धेरै क्षेत्रमा प्रभाव राख्न सक्छ । विमानस्थलको भौतिक प्रगति ७५ प्रतिशत रहेको विमानस्थल निर्माण कम्पनीका इञ्जिनियर चिरञ्जीवी खडकाले जानकारी दिनुभयो । ‘‘अरु धेरै निर्माणका काम सकिएका छन्, अब धावनमार्ग सम्याउने र कालोपत्र गर्ने काम बाँकी छ, समयमै सकिन्छ’’ उहाँले भन्नुभयो । आगमी जेठ महिनासम्म तयारी विमानस्थल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी निर्माण कम्पनीले गरेको छ ।

गत फागुनमा सम्पन्न हुनुपर्ने विमानस्थलको काम कोरोना महामारीका कारण प्रभावित भएको थियो । सरकारले थप गरेको समय सीमाभित्र नै निर्माण काम सकिने निर्माण कम्पनीको भनाइ छ । करिब २६ वर्ष बन्द अवस्थमा रहेको विमानस्थल बागलुङ नगरपालिकालमा जनप्रतिनिधि आएपछि जनप्रतिनिधिको पहलमा विसं २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा आएको थियो । नेपाल एयरलाइन्स र तारा एयरलायन्सका जहाजले केही महिना उडान भरे पनि हिलो र धुलोका कारण नियमित उडान हुन सकेको थिएन ।

राष्ट्रिय गौरवको सडक आयोजना कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल बागलुङ बजारदेखि १३ किलोमिटर दक्षिणमा पर्छ । हवाई सेवा नियमित भएमा बागलुङका साथै छिमेकी पर्वत, म्याग्दीका जनतालाई सुविधा पुग्नेछ । विसं २०४८ मा पोखरा–बागलुङ सडक सञ्चालनमा आउनुपूर्व बलेवाको आकाशमा दैनिक हवाईजहाज उडेको देख्नेहरु अहिले कालोपत्रेपछि फेरी जहाज उड्ने आशामा छन् । बलेवा बिमानस्थल बागलुङको चर्चित ठाउँ बलेवाको पहिचान पनि हो । यहाँका अन्य विकासका संरचनासँग समेत बिमानस्थलको पारस्परिक सम्बन्ध रहन्छ ।

बलेवामा विकास भइरहेको अर्को पाटो सडक हो । बागलुङ–कुश्मीशेरा सडकको २१ किलोमिटर खण्डमध्ये झण्डै १६ किलोमिटर सडक बलेवा क्षेत्रमा पर्छ । गण्डकी प्रदेश सरकारले यो सडकको १० किलोमिटर खण्ड बलेवा पैयूँपाटाको पाग्जादेखि अमलाचौरको सरंगेसम्म कालोपत्रे गरिरहेको छ । कामको जिम्मेबारी पाएको निर्माण कम्पनीका अनुसार आउँदो वैशाखभित्रै यो सडक कालोपत्रले टल्किने छ । ‘‘हामी काम गरिरहेका छौं, पाएको अबधि भन्दा केही समय पहिला नै हस्तान्त्रण गर्दैछौं’’ निर्माण कम्पनी प्यासेफिक कर्ण जेभीका प्रतिनिधि सन्दिप श्रेष्ठले भन्नुभयो ।

यो सडक कालोपत्रे हुँदा बलेवा क्षेत्रमा मात्रै कालोपत्रे सडकको क्षेत्र १४ किलोमिटर पुग्छ । बलेवाकै टाकुरीमा भएको कालोपत्र, गलुवादेखि पाग्दासम्मको कालोपत्र र कैयामा भएको कालोपत्र जोडिँदा कालोपत्रे सडक धेरै हुने गाउँमा बलेवा सूचिकृत हुनेछ । बागलुङ नगरपालिका र नेपाल सरकारको समपुरक साझेदारीमा प्रसिद्ध कालभैरव मन्दिर जाने सडकको स्तरोन्नती र कालोपत्रको काम चलिरहेको छ ।

तीन वर्ष अबधि रहेको यो सडकको कामले समेत गति लिएकाले बलेवा विकासको अर्को पाटो यो सडक हुनेछ । पाग्जादेखि बास्कोटसम्म कालोपत्र भएको सडकलाई केही वर्षभित्रै कालभैरव मन्दिर अमलाचौरको काउलेसम्म जोडिने छ । यो सडक सहज भएमा बलेवा कालभैरवको गरिमा थप चुलिने र त्यहाँ पुग्ने दर्शनार्थीको सङ्ख्या बढ्ने कालभैरव र बलेवा कोटका अध्येता डा.टिकाराम आचार्य बताउनुहुन्छ ।

‘‘इतिहासको अध्ययन गर्दा बलेवाको गौरवपूर्ण आफ्नै इतिहास रहेको पाएँ’’ आचार्यले भन्नुभयो ‘‘धार्मिक पर्यटनको सम्भावना प्रचुर देखिन्छ, जसका लागि पूर्वाधार आवश्यक हो ।’’ आचार्यले बलेवामा भइरहेको विकासले अहिलको दैनिकी र आवश्यकताको पूर्ति गर्दै आर्थिक उन्नयनमा सहयोग गर्ने बताउनुभयो ।

सम्भावनाका हिसावले प्रचुर आर्थिक लाभ लिन सकिने बलेवामा साहसिक प्याराग्लाइडिङको तयारी पनि छ । बिमानस्थल र प्याराग्लाइडिङ सञ्चालन एक अर्काका बाधक बन्न सक्छन् तर बलेवाका तीन गाउँमध्ये कुनै एक गाउँमा प्याराग्लाइडिङको व्यवस्थापन गर्नेगरी अहिले धमाधम पूर्वाधार निर्माणको काम भइरहेको छ । ‘‘पैयूँपाटाको पहरेमा हामीले प्याराग्लाइडिङ उडाउनका लागि पूर्वाधार बनाइरहेका छौं’ निर्माण समितिका सचिव भरत पौडेलले भन्नुभयो ‘‘बलेवामा प्याराग्लाइडिङ उड्छ, पोखरासँग बलेवालाई जोडेर साहसिक पर्यटक भित्राउने लक्ष छ ।’’

यहाँ प्याराग्लाइडिङ सञ्चालन भएमा बिमानस्थल सञ्चालन, होटल तथा रेष्टुरेन्ट व्यवसाय, पर्यटकीय क्षेत्रको थप प्रचार र अन्य आर्थिक क्षेत्रमासमेत सकरात्मक प्रभाव पर्ने उहाँको विश्वास छ । कालिगण्डकीको तिरदेखि भकुण्डेको शिर जोड्ने बलेवालीको अभियान सफल बनाउने सेतु पनि प्याराग्लाइडिङ बन्न सक्छ । उड्ने ठाउँ र झर्ने डाउँलाई जोड्नका लागि सडकलाई सवल बनाउनुपर्ने भएकाले बागलुङ बजार र बलेवाका तीन वडा जोड्ने रिङ रोड बनाउन थप दबाब सिर्जना हुनेमा स्थानीय आशावादी छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.