पुनहिलमा दृश्य अवलोकन स्थल सहितको आश्रयस्थल

२७ फाल्गुन २०७७, बिहीबार ०८:१३

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा दृश्य अवलोकनस्थलसहितको आश्रयस्थल निर्माण भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलको डाँडाको डिलतर्फ बसेर दृश्य अवलोकन गर्न मिल्ने आश्रयस्थलको तीन कोठे भवन निर्माण भएको हो ।

पर्यटन मन्त्रालयबाट प्राप्त रु २७ लाख ५० हजार बजेटबाट ६० जना क्षमताको आश्रयस्थल बनाइएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । जमिनको सतहसँग मिल्ने गरी बनाइएको आश्रयस्थलको कोठाभित्र बसेर हिमाल, सूर्योदय र पहाडी भूगोलको दृश्य अवलोकन गर्न सकिन्छ । “झरी र हिउँ पर्दा सुरक्षित तरिकाले दृश्यावलोकन गर्ने व्यवस्था मिलाउन भूमिगत दृश्यावलोकन केन्द्रसहितको आश्रयस्थल बनाएका हौँ”, अध्यक्ष पुनले भन्नुभयो, “आश्रयस्थलमा बस्दा बाहिरको तुलनामा न्यानो पनि हुन्छ ।”

आश्रयस्थलको कोठाको बाहिरी भागमा सिसा राखिएको छ । सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा राखेको पुनहिल भ्रमणमा आउने पर्यटकको सुविधाका लागि आश्रयस्थल बनाइएको हो । आश्रयस्थलको एउटा कोठामा चिया पसल सञ्चालन गर्ने योजना छ । अहिले पुनहिल टावर नजिकै टहरामा चिया पसल सञ्चालन भएको छ । चारैतिर गुराँसे जङ्गलको बीचमा रहेको पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ्र«े, मनास्लु, गुर्जा, पुथा, चुरेनलगायत २० हिमाल र सूर्योदयको अवलोकन गर्न सकिन्छ ।

पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गको मुख्य गन्तव्य पनि हो । वन्यजन्तु, पक्षी र १६ प्रजातिको लालीगुराँसको अवलोकन गर्न सकिन्छ । यसैगरी घोरेपानीदेखि पुनहिल जाने पदमार्गलाई रातको समयमा पनि उज्यालो बनाउन सौर्य बत्ती जडान भएको छ । प्रदेश सरकारबाट प्राप्त रु २५ लाख बजेटले २३ थान सोलार बत्ती जडान गरिएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष वीरेन गर्बुजाले बताउनुभयो । “घोरेपानीदेखि पुनहिल जाने पदमार्गमा चौबिसै घण्टा उज्यालो हुने गरी स्वचालित सोलार बत्ती राखिएको छ”, उहाँले भन्नुभयो, “सूर्यको प्रकाशले चार्ज हुने सोलार बत्ती रातिको समयमा आफैँ बल्ने बनाएका छौँ ।”

घोरेपानीमा बास बसेका पर्यटक एकाबिहानै सूर्योदय अवलोकन गर्न पुनहिल जाने गर्छन् । यसअघि अँध्यारोमा टर्च लाइट बालेर जाने गर्दथे । घोरेपानीदेखि पुनहिल पुग्न करिब ४५ मिनेट उकालो हिँड्नुपर्छ ।

यसअघि घोरेपानी होटल व्यवस्थापन समितिले पुनहिलसम्म ढुङ्गाको सिँढीसहितको पदमार्ग बनाएको थियो । घोरेपानी र पुनहिल भित्रिने मुख्य नाकामा चार वटा प्रवेशद्वार बनाइएको छ । यसैगरी घोरेपानीको नजिकै रहेको अर्को पर्यटकीयस्थल मोहरेडाँडामा सामुदायिक लज निर्माण भएको छ । रु २५ लाखको लागतमा दुई तले भवन बनाइएको अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गका कोषाध्यक्ष रमन पुनले बताउनुभयो ।

तल्लो तलामा लज र माथिल्लो तलामा डाइनिङ हल बनाइएको छ । समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा अवस्थित मोहरेडाँडाबाट पनि हिमाल, सूर्याेदय, लालीगुराँसको जङ्गल र पहाडी भूगोलको दृश्यावलोकन गर्न सकिन्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.