कान्छो धौलागिरिमा नौ देशका झण्डा


बलेवा, २८ फागुन: ‘कान्छो धौलागिरि’ दारेगौँडा पहाडमा नौ देशका राष्ट्रिय झण्डा फहराइएको छ । बागलुङ, काठेखोला गाउँपालिका–२ भीमापोखरा, डोहेरी गाउँ नजीकैको सो पहाडमा पुग्ने स्वदेशी तथा विदेशीलाई आफ्नोपनको महसुस गराउने उद्देश्यले सार्कमुलुकसहित नौ देशका झण्डा फहराइएको हो ।

सोको प्रचारप्रसार र पूर्वाधार निर्माणका लागि स्थानीय युवाले समूह बनाएका छन् । युवाको सक्रियतामा पुष्पाञ्जलि ग्रामीण विकास केन्द्र स्थापना भएको छ । आन्तरिक र बाह्य पर्यटक आकर्षण गर्नका लागि राष्ट्रिय झण्डा फहराइएको केन्द्रका अध्यक्ष विक्रम शर्माले बताउनुभयो । झण्डोत्तलनपछि अब सो क्षेत्र आन्तरिक र बाह्य पर्यटकका लागि थप आकर्षणमा पर्नेछ ।

छोटो पर्यटक पदमार्गमार्फत पुग्न सकिने र प्रकृतिसँग मज्जा लुट्न सकिने सो ठाउँमा पुग्न सार्वजनिक बिदा र छोटो फुर्सदको समय छुट्याए मात्रै पुग्छ । केन्द्रका निवर्तमान अध्यक्ष प्रेम केसीका अनुसार हिमालका आँगनमा बसेर मकै, भटमास खानेलाई सो ठाउँ स्वर्ग जस्तो लाग्छ ।

पहाड नजीकै सानो सुन्दर बस्ती छ । त्यही सुन्दर बस्तीमाथि सेताम्य हिमशृङ्खला हेर्न सकिने मनमोहक डाँडा दारेगौंडा छ । बुढापाकाले बस्ती धान्न प्रयोग गरेको सो डाँडा समुद्री सतहदेखि करीब दुई हजार ५०० मिटर अग्लाइमा छ । कान्छो धौलागिरिबाट दन्तलहरमा देखिने हिमाल हेर्न आउने युवाको चाप पनि बढ्दैछ । उच्च भागमा रहेको समथर भाग आफँैमा सुन्दर त छ नै, त्यसमाथि त्यहाँबाट देखिने करीब ११ जिल्लाका भूभाग अनि साविक धौलागिरिका तीन जिल्ला सदरमुकाम बागलुङ, बेनी र कुश्मा बजारको मनमोहहक दृष्य देखिन्छ । आँखै अगाडि देखिने धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, मानापाथीलगायत दर्जन हिमशृङ्खलाको त्यहाँबाट सजिलै अवलोकन गर्ने सकिन्छ । त्यहाँ पुग्ने प्रकृतिप्रेमी जो कोहीलाई पनि पहाडले तान्छ । हिम पहाडका लागि अत्युत्तम स्थान भएकाले नै दारेगांैडालाई अहिलेका युवाले कान्छो धौलागिरिको उपमा दिएका हुन् ।

उनीहरुका अनुसार दारेगांैडालाई अव कान्छो धौलागिरिका नामबाट संसारभर चिनाइने तयारी थालिएको छ । जङ्गलका चराचुरुङ्गीको आवाज सुन्दैै हिमशृङ्खलाको आँगनमा रमाउन चाहने पर्यटकको रोजाइमा यो ठाउँ पर्ने छ । प्राकृतिक छटाले परिपूर्ण सो क्षेत्र पर्यटन विकासमा पर्याप्त पूर्वाधार अभाव भए पनि आन्तरिक पर्यटकको रोजाइमा पर्न थालिसकेको छ ।

पर्यटनको प्रचूर सम्भावना बोकेको सो क्षेत्रको प्रचारप्रसार तथा पर्यटक आकर्षण गर्न स्थानीय पुष्पाञ्जलि ग्रामीण विकास केन्द्र लागिपरेको छ । यही क्लबले महाशिवरात्रिका अवसरमा सार्क राष्ट्रसहित नौ देशको झण्डा फहराएको छ । वडा कार्यालयको सहयोगमा नेपालसहित भारत, पाकिस्तान, भुटान, श्रीलङ्का, माल्दिभ, बङ्गलादेश, अफगानिस्तान र चीनको राष्ट्रिय झण्डा राखिएको केन्द्रका निवर्तमान अध्यक्ष प्रेम केसीले जानकारी दिनुभयो ।

बागलुङ सदरमुकामदेखि करीब २६ किलोमिटर सडक यातायातपछि करीब एक घण्टाको पैदल यात्रामार्फत कान्छो धौलागिरि पुग्न सकिन्छ । डोहेरी बस्तीसम्म कच्ची सडकले जोडिएको हुँदा जङ्गल क्षेत्रमा पर्यटन पदमार्गबाट पुग्न सकिन्छ । यहाँ व्यवस्थित पदमार्ग निर्माण गरेर म्याग्दी र बागलुङ जिल्लाको नयाँ गन्तव्यका रुपमा विकास गर्न सबै जुट्नुपर्ने स्थानीयवासीको माग छ । “यो कान्छो धौलागिरि नयाँ पर्यटन गन्तव्य हो, चिसो हावापानीमा अर्गानिक उत्पादनको स्वाद लिएर हिमशृङ्खलाको अवलोकन गर्न योभन्दा अर्काे उपयुक्त क्षेत्र पहिचान हुन मुश्किल छ”, निवर्तमान अध्यक्ष केसीले भन्नुभयो ।

महिलालाई लोकसेवा तयारी कक्षा

सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा बागलुङमा महिला परीक्षार्थीका लागि लोकसेवा तयारी कक्षा शुरु भएको छ । महिलालाई राज्यको अङ्गमा समानरुपमा पु¥याउने लक्ष्यले दशवटै पालिकाबाट ३५ महिलालाई तालीम दिइएको हो । परीक्षाका लागि चाहना राखेकालाई १५ दिने कक्षामा ल्याइएको हो ।

आर्थिकरुपमा विपन्न, सामाजिकरुपमा पछि परेका, दलित र जनजाति महिलालाई सो अवसर दिइएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले बताउनुभयो । तालीमका लागि समन्वय समितिले स्थानीय व्यवस्थापन गराएको छ ।

यस्तो प्रकारको तालीमले सुनौलो भविष्य खोज्ने काममा सहयोग मिलेको सहभागी यमुना विश्वकर्माले बताउनुभयो । ग्रामीण क्षेत्रबाट सदरमुकाम आएर पढ्ने काम मात्र नभई लोकसेवा परीक्षा उत्तीण गर्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“परीक्षाको तयारी, कक्षा र लेख्ने पद्धतिबारे हामीले तालीममा सिक्ने छौँ”, उहाँले भन्नुभयो, “परीक्षाको प्रक्रिया नबुझेकाले यसअघि सहभागी पनि बन्न सकेका थिएनौँ ।” उहाँ जस्तै सहभागीले पहिलोपटक निःशुल्क र लक्षित समुदायमा पुगेको तालीमले लोकसेवामा प्रवेश पाउने आशा पलाएको बताए ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले रु दुई लाख ८० हजार बजेट विनियोजन गरेपछि तालीम सञ्चालन गरिएको समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माले बताउनुभयो । यसअघि छिटफुटरुपमा सङ्घसंस्था र ट्युसन सेन्टरले चलाएको तालीम औपचारिकरुपमा सरकारी निकायबाटै थालिएको हो ।

RSS


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope