अझै सुनसान छ घोडेपानी–पुनहिल

२९ फाल्गुन २०७७, शनिबार १५:३०

फागुन–चैत–वैशाखको मौसममा म्याग्दीको अन्नपूर्ण–६ घोडेपानीको सन्नी होटलका सञ्चालक सन्नी पुनलाई खाना खाने फुर्सद पनि हुँदैनथ्यो । एक वर्षयता सन्नी मात्र नभएर घोडेपानीका सबै होटल व्यवसायी फुर्सदिलो भएका छन् । “कोरोना र बन्दाबन्दीले बन्द भएको होटल गत माघदेखि खुले पनि अझै तङ्रिन सकेको छैन”, उहाँले भन्नुभयो, “खाली होटल रुँघेर बसेका छौँ । आन्तरिक पर्यटक फाट्टफुट्ट आएका छन् । त्यकिो भरमा चल्न गाहे छ ।”

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गत वर्षको चैत महीनादेखि गरिएको बन्दाबन्दी खुलेपछि धेरै क्षेत्र पुरानै लयमा फर्किन थालेका छन् । पर्यटन व्यवसाय भने अझै तङ्रिन नसकेको घोडेपानीको स्नोल्याड होटलका सञ्चालक सुशील पुनले बताउनुभयो । विगतका वर्षमा यतिबेला पर्यटकले भरिभराउ हुने पर्यटकीयस्थल र त्यहाँका होटलमा यसपालि फागुन सकिनै लाग्दा फाट्टफुट्ट आएका स्वदेशी पाहुना मात्र भेटिन्छन् । “विदेशी पर्यटकको आगमन शून्य छ”, पुनले भन्नुभयो, “स्वदेशी पर्यटकको आगमन अपेक्षाकृत हुन सकेको छैन । ”घोडेपानीमा बास बसेर पुनहिल घुम्न जाने पर्यटकको एका बिहानै लाम लाग्दथ्यो ।

समुन्द्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा अवस्थित घोडेपानीमा २५ वटा सुविधा सम्पन्न होटल छन् । इलाका प्रहरी कार्यालय घोडेपानीका अनुसार यहाँ वार्षिक ५० हजार जना भन्दाबढी विदेशी पर्यटक आउँथे । बन्दाबन्दीका कारण होटल बन्द भएपछि त्यहाँ काम गर्ने १०० जनाभन्दा बढीको रोजगारी गुमेको छ । रु दुई अर्बभन्दा बढीको लगानी भएको घोडेपानीको होटल व्यवसाय सङ्कटमा परेको छ । भूकम्प, हुद्हुद आँधी र नाकाबन्दी हुँदा पनि अहिलेको जस्तो सुनसान थिएन घोडेपानी ।

विगतमा भिडभाड भएर होटलमा कोठासमेत पाउन मुस्किल पर्ने घोडेपानी यसपाली सुनसान र शान्त रहेको पोखराबाट घुम्न आएका मनोज क्षेत्रीले बताउनुभयो । “लामो समय घर र बजारमा थुनिएर बस्नुपर्दा दिक्क भएकाले घुम्न आएको हो”, उहाँले भन्नुभयो, “शान्त वातावरणमा प्रकृतिको सौन्दर्यमा रमाउन पाउँदा फूर्तिलो भएको महशुस भयो ।”
यतिबेला घोडेपानी–पुनहिल क्षेत्रको वातावरण बढो मनमोहक छ । जङ्गलमा गुराँस फुल्न थालेको छ । गण्डकी प्रदेशकै ठूलो गुराँसको जङ्गल घोडेपानीमा छ । यहाँको जङ्गलमा रातो, सेतालगायत नेपालमा पाइने ३२ मध्ये १६ प्रजातिका गुराँस पाइन्छ । समुन्द्री सतहदेखि तीन हजार ३१० मिटर उचाइमा अवस्थित पुनहिलबाट सूर्योदय, हिमाल र गुराँसे जङ्गलको अवलोकन गर्न सकिन्छ ।

पोखराबाट घोडेपानी घुम्न आएका रमेश श्रेष्ठले पर्यटन र होटल व्यवसायीले आन्तरिक पर्यटकलाई लक्षित गरेर प्याकेज ल्याउनुपर्ने बताउनुभयो । “नेपालको पर्यटन व्यवसायको भरथेग गर्ने भनेको अब आन्तरिक पर्यटकले नै हो”, उहाँले भन्नुभयो, “विदेशीलेभन्दा नेपालीले खर्च पनि बढी खर्च गर्छन् तर व्यवसायीले त्यहीअनुसारको व्यवहार गर्न र सुविधा दिन सक्नुप¥यो ।”

पर्यटन र होटल व्यवसायलाई पुनःजीवन दिन घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई लक्षित गरेर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गरिएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताउनुभयो । पोखरे बगर हँुदै घोडेपानी जोड्ने सडक निर्माण भएकाले गाडीबाटै घुम्न आउन सकिने उहाँले बताउनुभयो ।

पर्यटक आगमन ठप्प हुँदा अन्नपूर्ण गाउँपालिकाको चालू आर्थिक वर्षको आन्तरिक आम्दानी प्रभावित भएको छ । पर्यटकीयस्थल घोडेपानी, पुनहिल र तातोपानी कुण्डको प्रवेश शुल्क उठाउन नपाएपछि गाउँपालिकाको रु एक करोडभन्दा आम्दानी गुमेको हो । गत आव २०७६÷७७ मा घोडेपानी–पुनहिल प्रवेश शुल्क र त्यहाँ चिया पसल सञ्चालनका लागि रु ६५ लाखमा ठेक्का लगाएको थियो । यसैगरी तातोपानी कुण्डको प्रवेश शुल्क उठाउन र त्यहाँ रेष्टुरेन्ट चलाउन रु ५५ लाखमा ठेक्का लगाएको थियो ।

घोडेपानी पुनहिल भ्रमण र तातोपानी स्नानका लागि नेपालीलाई प्रतिव्यक्ति रु ५० र विदेशीलाई रु १०० प्रतिव्यक्ति शुल्क तोकिएको छ । यस वर्ष पर्यटक आगमन नभएपछि पर्यटकीयस्थलको प्रवेश शुल्क उठाउने ठेक्का लगाउन नसकिँदा आयस्रोतमा असर परेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । गत असारमा भएको गाउँसभाले घोडेपानी पुनहिल र तातोपानीको ठेक्काबाट रु १५÷१५ लाख आम्दानी गर्ने लक्ष्य राखेको थियो ।

आर्थिक वर्षको आठ महीनासम्म पर्यटक गतिविधि चलायमान हुन नसकेपछि गत हप्ता भएको गाउँसभाले तातोपानीबाट रु एक लाख र घोडेपानीबाट रु ५० हजार आम्दानी हुने गरी बजेट संशोधन गरेको छ । रु एक लाख ५० हजार आम्दानी गर्ने लक्ष्य राखिएको रातोपानी र पाउद्वार तातोपानी कुण्डबाट रु १५÷१५ हजार र रु ५० हजार आम्दानी हुने अनुमान गरिएको सेकार्कु तातोपानी कुण्डबाट रु पाँच हजार आम्दानी हुने गरी करको दर घटाएको छ । अमानतमा तोकिएको रकम बुझाएर शुल्क बुझाउनेलाई जिम्मेवारी दिने गाउँपालिकाले जनाएको छ । पर्यटकको प्रवेश शुल्क अन्नपूर्ण गाउँपालिकाको मुख्य आन्तरिक आयस्रोत हो । यस वर्ष कोरोनाले आम्दानीसँगै सो परिचालन गरेर हुने विकास गतिविधिसमेत प्रभावित भएको अध्यक्ष पुनले बताउनुभयो ।
–––

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.