जनगणनाका लागि गणना कार्यालय स्थापना


आउँदो २०७८ मा हुने जनगणनाको तयारीका लागि इलाममा जिल्ला गणना कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय जनगणना, २०७८ का लागि इलाम सदरमुकामस्थित बिपी पार्कको छेउमा सोमबार जनगणना कार्यालय स्थापना गरिएको हो ।

विसं २०७८ सालमा हुने १२ औँ जनगणनाको तयारीलाई तीव्रता दिन कार्यालय स्थापना गरिएको जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । कार्यालयमा जनगणना अधिकारी र सहायक अधिकारीसहित पाँच जनाको दरबन्दी रहेको छ । कार्यालयले जनगणनाका लागि आवश्यक व्यवस्थापन र सञ्चालन गर्नेछ । कार्यालय स्थापनासँगै अब प्रशिक्षक तालिम, स्थानीय जनगणना अधिकृत तालिम सञ्चालन हुनेछ ।

जनगणनामा खटाइने सुपरिवेक्षक र गणकलाई प्रशिक्षण दिनका लागि प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण यही चैत ९ देखि १५ गतेसम्म विराटनगरमा सञ्चालन हुनेछ । सो प्रशिक्षक प्रशिक्षणका लागि इलामबाट २० जना सहभागी हुनेछन् । उनीहरुले जिल्लामा छनोट हुने सुपरिवेक्षक र गणकलाई तालिम दिनेछन् ।

जनगणनामा खटाइने आठ हजार सुपरिवेक्षक र ३९ हजार गणक भर्तीका निम्ति चैत ११ गतेसम्म अनलाइन आवेदन खुला गरिएको छ । इलामका लागि मात्र १०६ सुपरिवेक्षक र ४१० गणक माग गरिएको छ । चैत ५ देखि ११ गतेसम्म कार्यालयमा उपस्थित भएर पनि आवेदन गर्न सकिने जनगणना अधिकारी कार्कीले बताउनुभयो । सुपरिवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन् ।

देशभर अहिलेसम्म एक लाख ४० हजारभन्दा बढीले आवेदन दिइसकेको तथ्याङ्क विभागले जनाएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी जेठ २५ गतेदेखि असार ८ गतेभित्र सम्पन्न हुने गरी जनगणना गर्न लागिएको छ । सुपरिवेक्षकले २०७८ वैशाख १३ गते दुई महिनाका लागि र गणकले जेठ १० गते एक महिनाका लागि नियुक्ति पाउनेछन् । नियुक्ति पश्चात सुपरिवेक्षकले तालिम लिएर वैशाख २६ देखि जेठ १४ गतेसम्म २० दिनको अवधिमा घर तथा घरपरिवारको सूचीकरण गर्ने र सो सूचीकरणका आधारमा गणकबाट जेठ २५ देखि असार ८ गतेसम्म १५ दिनको अवधिमा मूल गणनाको काम हुनेछ ।

जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्मै विभिन्न समिति निर्माण गरिने भएको छ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति तथा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्ला भित्रका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र रहनेछ ।

जिल्लाको स्थानीय तहमा स्थानीय जनगणना समन्वय समिति हुनेछ । सो समितिमा सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत वा उनले तोकेका अधिकृत कर्मचारीको संयोजकत्वमा समिति बन्नेछ । त्यस्तै वडास्तरीय जनगणना सहजीकरण समिति रहने छ । यो समितिको संयोजकमा सम्बन्धित वडाका वडाअध्यक्ष रहनेछन् । उक्त समितिमा वडा कार्यालयले तोकेको वडाभित्रका विद्यालयका प्रधानाध्यापक, वडाअध्यक्षले तोकेको वडा सदस्य, वडाअध्यक्षले तोकेको महिला वडा सदस्य र वडा सचिव रहनेछन् ।

RSS


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope