हिउँ नपर्दा कृषि र विद्युत्मा समस्या

४ चैत्र २०७७, बुधबार १६:२२

ढोरपाटन उपत्यकामा अघिल्लो वर्षको तुलनामा यो वर्ष हिउँ थोरै परेकाले कृषि र विद्युत् उत्पादनमा असर परेको छ । हिउँदे बालीका लागि हिउँको महत्व बढी छ तर यो वर्ष थोरै हिउँपर्दा किसानले लगाएको गहुँलगायत फसल थोरै फलेको छ ।

“अघिल्ला वर्ष प्रसस्त फलेको गहुँ यो वर्ष असाध्यै कम छ”, ढोरपाटन नगरपालिका–९ का गोविन्द पुनले भन्नुभयो, “खेतीपाती राम्रो नभएपछि किसानलाई मर्का परेको छ ।” हिउँ नपरेको वर्ष आलु, स्याउलगायत बाली पनि नराम्रो हुने उहाँले बताउनुभयो ।

ढोरपाटनका किसानले फाँपर पनि लगाउने गर्छन् । पानी अभावले उत्पादनमा ठूलो क्षति पुग्ने किसानले गुनासो गरेका छन् । हिउँ अभावमा ढोरपाटनकै गार्पाखोला लघुजलविद्युत् आयोजनाबाट बिजुलीसमेत पर्याप्त उत्पादन हुनसकेको छैन । ढोरपाटन नगरपालिका–९ ढोरपाटनमा रहेको यो आयोजना ४० किलोवाट क्षमताको हो । अघिल्लो वर्ष पटकपटक हिउँ परेकोमा गत फागुन पहिलो साता एक दिन मात्र हिउँ परेको थियो ।

उक्त हिउँ पनि दुईचार दिनमै पग्लने खालको भएको स्थानीयवासीले बताएका छन् । उक्त आयोजनाबाट यसवर्ष पानी अभावले उत्पादन घटेको गार्पाखोला लघुजलविद्युत् आयोजना उपभोक्ता समितिका सचिव कमल भण्डारीले बताउनुभयो । “कुलोमा पानी सानो छ, उत्पादन पनि घटेको छ”, भण्डारीले भन्नुभयो, “हिउँ परेको वर्ष चैत वैशाखसम्म पनि हिउँ पग्लेर पानीको मात्रा बढी हुन्थ्यो, अहिले छैन ।”

पानी अभावले विद्युत् नपुग्दा साँझको समयमा बिजुली जाने समस्या भएको उहाँले बताउनुभयो । उहाँका अनुसार हिउँदमा २० किलोवाट मात्रै उत्पादन भएको छ । यो उत्पादनले ढोरपाटन उपत्यकालाई बिजुली पुग्दैन । जलविद्युत्बाट ढोरपाटन उपत्यकाभित्रका भण्डारी गाउँ, पाखाथर, नौथरलगायत गाउँका ३५० घरधुरी, ढोरपाटन शिकार आरक्ष कार्यालय, नेपाली सेनाको शत्रुमर्दन गुल्म ब्यारेकमा बिजुली बाल्ने गरिएको छ ।

आंशिक रुपमा उत्पादन भएको यस विद्युत्ले सबै घरधुरीमा एक साथ पु¥याउन नसकिएको हो । आयोजनाबाट टोलअनुसार फरकफरक समयमा बिजुली वितरण गर्दा मोबाइल चार्ज गर्ने र अन्य कामका लागि समस्या परेको स्थानीयवासी शिक्षक चकबहादुर अदैले बताउनुभयो । “बिजुली अभावले फोन नलाग्ने र साँझमा उज्यालो बनाउन समस्या परेको छ”, अदैले भन्नुभयोे, “यसको ठूलो असर विद्यार्थीलाई परेको छ ।” साँझ बिहान पढ्न नपाएर विद्यार्थीले सास्ती खेप्नु परेको उहाँले बताउनुभयो ।

नगर भवन बनाउन निःशुल्क जग्गा

जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गा दिएका छन् । नगरपालिका–१ र २ मा ८ रोपनी चार आना जग्गा स्थानीयवासीले निःशुल्क दिएका हुन् । जैमिनी नगरपालिका वडा नं १ कुश्मीशेरा (साविकको कुश्मीशेरा गाविस वडा नं ३) मा रहेको १८ रोपनी जग्गालाई एकीकृत गरेर १४ जना जग्गा दाताले नगरपालिकाको नाममा पाँच रोपनी जग्गा पास गराएको नगरप्रमुख ईन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

बाँकी जग्गामा सडक, खानेपानी र विद्युत्लगायत संरचना निर्माण गरेर जग्गादाताले फिर्ता लिनेछन् । त्यस्तै वडा नं २ (साविकको दमेक गाविस वडा नं २) मा श्रमलाल कँडेलको नाममा रहेको चार रोपनी चार आना जग्गा पनि नगरपालिकालाई निःशुल्क उपलब्ध गराइएको छ । पन्ध्र जनाको नाममा रहेको करोडौं मूल्य बराबरको टुक्रे जमीन एकीकृत गर्दै आठ रोपनी जग्गा नगरपालिकाले पाएको हो । मङ्गलबार नगर प्रमुख, उपप्रमुखको रोहवरमा उक्त जग्गा नगरपालिकाको नाममा नामसारी गरिएको छ ।

कुश्मीशेराका लक्ष्मीप्रसाद सापकोटा, टङ्क सापकोटा, नेत्रप्रसाद शर्मा, कृष्णप्रसाद शर्मा, मनकुमारी पाध्या, योगेश्वर पाध्या, शालिग्राम जैसी, लीलानाथ पौडेल लोकनाथ सापकोटा, गोपाल पाध्या दिनानाथ जैशी, भगिरथी अँखेली, यमप्रसाद शर्मा, देवीप्रसाद सापकोटा र झुपीदेवीको नाममा रहेको जग्गा निःशुल्क उपलब्ध गराउनुभएकोे जग्गादाता योगेश्वर पाध्याले जानकारी दिनुभयो ।

“हाम्रो नगरको भवन बनाउने काममा हामीले जग्गा भएन भनेर हेरेर बस्न सकेनौं”, उहाँले भन्नुभयो, “बाहिर बिक्री गरेको भए कति मूल्यको थियो भन्नुहुन्थ्यो, हामीले सदासहायताले दिएको जग्गाको मूल्य गर्न मिल्दैन् । जग्गा उपलब्ध गराएवापत नगरपालिकाले सम्याउन लाग्ने खर्च व्यहोर्ने भएको छ ।”

टुक्राटुक्रामा रहेको जग्गालाई एकीकृत गरेर पाँच रोपनी नगरको नाममा राखेपछि बाँकी जमीन दाताकै लागि प्लटिङ गरेर दिने पौडेलले बताउनुभयो । जैमिनी नगरको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न वडा नं १ का अध्यक्ष भूपेन्द्र थापाको संयोजकत्वमा जग्गा व्यवस्थापन समिति बनेको थियो । समितिमा नगरस्तरीय राजनीतिक दलका प्रतिनिधिकोसमेत सहभागिता थियो ।

जग्गा अभावमा बजेट विनियोजन भएर पनि नगरको भवन बन्न सकेको थिएन । भवन नहुँदा नगरपालिकाको कार्यालय भाडाका घरमा राखिएको छ । घरभाडामा मात्रै मासिक झण्डै एक लाखभन्दा धेरै खर्च हुने गरेको छ । नगरपालिकालाई निःशुल्क उपलव्ध गराएको जग्गा कुश्मीशेरा बजारको मुख्य क्षेत्रमा पर्छ । यहाँको जग्गा प्रतिआना रु चार लाखसम्म कारोवार हुने गरेको छ ।

घर बनाउँदै बडिगाड

स्थानीयवासीले जग्गा दिएपछि बडिगाड गाउँपालिकाले भने आफ्नै प्रशासकीय भवन बनाउन थालेको छ । स्थानीय बासिन्दा मिलेर उपलब्ध गराएको १० रोपनी जमीनमा गाउँपालिकाले भवन निर्माणको काम थालिसकेको हो । अघिल्लो वर्ष स्थानीयवासीले अस्पताल र क्याम्पस बनाउनका लागि पनि जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

मासिक झण्डै एक लाख भाडा तिरेको यो पालिकाले आफ्नै भवन बनाएपछि उक्त रकम पनि बचत हुने अध्यक्ष मेहरसिंह पाइजाले बताउनुभयो । पालिकाका लागि वडा नं ५ को खार बजारमा भवन बनाउन लागिएको हो । वडा नं १० को गगरे, निगाल पानीलगायत रणसिंकिटेनीको दुर्गम गाउँबाट यहाँ आउन अहिले पनि पाँचदेखि सात घण्टासम्म लाग्छ । प्रशासनिक काममा सदरमुकाम धाएकाले पालिकाबाट नजिकको सेवा पाएको वडा नं १० का अध्यक्ष वीरेन्द्र बुढाले बताउनुभयो । केही समय अघिदेखि पालिका भवन बनाउन लागेकै स्थानमा १५ श्ययाको अस्पताल पनि निर्माणको थालनी भएको छ । आगामी वर्ष दुवै काम सकेर सेवा सञ्चालन गर्ने लक्ष राखेको पाइजाले बताउनुभयो ।

निसीखोलाका सबै वडामा सडक

निसीखोला गाउँपालिकाका सबै वडामा सडक सञ्जाल विस्तार गरिएको छ । स्थानीय सरकार गठन पछिका चार वर्षमा गाउँपालिकाले सबै वडा सडक विस्तार गरेको हो । सडक बनेपछि स्थानीयवासीलाई ओहोरदोहोरमा मात्रै होइन स्थानीय वस्तुको बजारीकरणमा सहज भएको छ । पहिले सडक नरहेका वडामा गाउँपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गरेको थियो । गाउँपालिकाको पहलमा वितेका चार वर्षमा ८८ किलोमिटर सडक बनेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो ।

“मध्यपहाडी लोकमार्गले सबै वडामा छोएको छ, त्यो बाहेक वडा मुकाम र गाउँमा सडक सञ्जाल थिएन”, पौडेलले भन्नुभयो, “चार वर्षमा हामीले सडकमा मात्रै ठूलो लगानी गरेर ट्र्याक बनाएका छौँ ।” मध्यपहाडी लोकमार्गले सातवटै वडा चिरेको गाउँपालिकाको मुख्य सडक लोकमार्ग नै हो ।

लोकमार्ग बाहेकका सडक गाउँतह जोड्नका लागि थप सहज भएको पौडेलले बताउनुभयो । कालोपत्र भएको लोकमार्गबाट वडा र टोलमा जोडिएका सडकका कारण दैनिकीमा सहज भएको स्थानीयवासी बताउँछन् । निसीखोलामा प्रदेश र सङ्घीय सरकारले बनाएका सडकको भने अभिलेख राखिएको छैन् । नयाँ सडक निर्माणमा ध्यान केन्द्रित गरेको गाउँपालिकाले आफ्नो सक्रियतामा पक्की सडक बनाउने विषयमा भने नसोचेको अध्यक्ष पौडेल बताउनुहुन्छ ।

“बल्ल त सडक सञ्जाल पु¥याऔँ, अब स्तरोन्नति र कालोपत्रको विषयमा सोच्छौँ”, पौडेलले भन्नुभयो, “कठिन भूगोल भएका गाउँमा कच्ची सडक पु¥याउन हाम्रो समय खर्च भयो ।” निसीखोलामा मध्यपहाडीबाहेक भएका सबै सडक कच्ची छन् । डोजर अपरेटरकै भरमा बनाइएका सडक हिउँदमा धुलाम्मे र वर्षात्को समयमा हिलाम्मे हुने गरेका कारण स्थानीयवासी मारमापर्ने गरेका छन् ।

भएका सडकको स्तरोन्नति गरेर बाह्रैमहिना चल्ने बनाउँदा सडकको सदुपयोग राम्रो हुने स्थानीयवासीले बताएका छन् । बागलुङमा साविकका गाउँविकास समितिलाई एकीकृत गरेर बनाएका गाउँपालिकामध्ये निसीखोला दुर्गम गाउँपालिकाको रुपमा परिचित छ । यहाँ स्थानीय सरकारमा जनप्रतिनिधि निर्वाचित भएर आउनु पूर्व वडा मुकाममा समेत सडक सञ्जाल पुगेको थिएन । अहिले कच्ची सडकले निसीखोलाका हरेक वडा जोडेको छ । वडामा पुगेका सडकले बिचमा पर्ने गाउँ टोल र बस्ती जोडिसकेकाले अब भने गाउँपालिकाले सडकको स्तरोन्नतिमा ध्यान दिने जनाएको छ ।

सहयोग याचना

बडिगाड गाउँपालिकाका एक किशोरको परिवारले छाला रोगको उपचारका लागि सहयोगको याचना गरेका छन् । बडिगाड गाउँपालिका–७ थामका १६ वर्षीय रमेश परियारको परिवारले जन्मजात छालाको समस्या उपचारका लागि सहयोगको याचना गरेका हुन् । रमेश छालाको समस्याका कारण बाहिर हिँडडुल गर्न सक्नुहुन्न । कमजोर आर्थिक अवस्था भएका कारण उहाँको उपचार पनि हुन सकेको छैन । परियारको छाला समस्याबारे विभिन्न सञ्चारमाध्यमबाट प्रकाशन, प्रशारण भएपछि अस्ट्रेलियाबाट केही आर्थिक सहयोग प्राप्त भएको तर त्यतिले उहाँको उपचार गर्न पर्याप्त नभएको रमेशका बुबा नन्दबहादुर परियार बताउनुभयो ।

जन्मजात नै छालाको अनौँठो रङ–अस्वभाविक रुपमा कालो र बाक्लो छाला । रोग बल्झिदै गएपछि अहिले रमेश परियार हिँडडुल गर्नसमेत सक्नुहुन्न । पाँच भाइमध्ये माइला छोरालाई छालासम्बन्धी रोगले नछोडेपछि अभिभावक चिन्तित छन् । “पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा फोटो, भिडियो आउन थालेपछि विभिन्न सङ्घ संस्था र व्यक्तिबाट सहयोग आउन थालेको छ”, परियार भन्नुहुन्छ, “यसले उपचारमा केही सहज भएको छ ।” नियमित उपचार पाउन थालेपछि हाल रमेशको स्वास्थ्यमा केही सुधार आएको र लठ्ठीको साहाराले सामान्य हिँड्डुल गर्न सक्ने भएको परियारले सुनाउनुभयो ।

रमेशका जेठा दाजु वैदेशिक रोजगारमा हुनुहुन्छ । पाँच दाजुभाइमध्ये रमेश बाहेक सबैको अवस्था भने सामान्य छ । आफ्नै खर्चमा ६/६ महिनामा काठमाडौँ, सानेपास्थित अपाङ्गमैत्री अस्पतालमा लैजाने गरिएको पारिवारले जनाएको छ । आर्थिक स्रोत कम हुँदा सहयोग रकमको मात्रै भरपर्नु परेको र त्यसमा पनि पछिल्लो समय आउन छाडेकाले उपचारमा समस्या भइरहेको परिवारले बताएको छ । “सेवा नै धर्म हो भन्ने भावना भएका मनकारी व्यक्तिबाट सहयोग पाए सजिलो हुन्थ्यो”, बुबा नन्दबहादुर परियारले भन्नुभयो ।

RSS

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.