विकासमा फड्को मार्दै प्रकृति र संस्कृतिको सङ्गम केलादीधाम


रामपुर, ६ चैत (रासस) ः स्याङ्जा, पाल्पा, तनहँु र नवरपरासीको सङ्गम मात्र होइन केलादीधाम, प्रकृति र संस्कृतिको एक विशिष्ट केन्द्र पनि हो । चौतर्फी डाँडाको बीचमा मुक्तिनाथबाट उत्पत्ति भई बगेको कालीगण्डकीको नजिकै रहेको यस स्थानको पर्यावरणीय सुन्दरताले जो कोहीको मन लोभ्याउने गर्छ ।

कालीगण्डकीको तटमा अवस्थित केलादीधाम क्षेत्र धार्मिक हिसाबले निकै परिचित छ । साथै विभिन्न प्राचीन पूर्वीय धर्मग्रन्थमा पनि यसको महिमा र गरिमा वर्णन गरिएको छ । शालिग्राम पाइने विश्वको एकमात्र नदी कालीगण्डकीको किनारमा रहेको यो स्थानमा पुगेपछि मनको बोझ हट्ने र शान्ति प्राप्त हुने विश्वास लिइन्छ । चार जिल्लाको सङ्गममा पर्ने केलादीधामको दर्शन गर्न नसके पनि नाम उच्चारण गरे पनि पुण्य मिल्ने जनविश्वास छ ।

निम्वार्क वैष्णव सम्प्रदायको केन्द्रीय पीठको कार्यालय रहेकाले पनि यो क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्व अपार छ । यहाँ मुलुकका पूर्वदेखि पश्चिमसम्मका दर्शनार्थी आउन थलोका छन् । धार्मिक तथा ऐतिहासिक महत्वका रुपमा रहेको केलादीधाम क्षेत्रमा पहिला भौतिक पूर्वाधार निर्माणमा भने कुनै क्षेत्रबाट पनि चासो दिइएको थिएन । जसले गर्दा यस क्षेत्रको विकासले गति लिन सकेको थिएन ।

अहिले भने स्थानीय बासिन्दाको जोडबलमा केलादीधाम क्षेत्रलाई गँैडाकोटको देवघाट जस्तै बनाउने प्रयास थालिएको छ । धार्मिक महत्व उच्च रहेपनि पूर्वाधार विकासमा बामे सर्न धेरै समय लाग्यो । आजभन्दा करीब एकदशकअघि केलादीधामको पूर्वाधार विकासका लागि स्थानीयले श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन गरेका थिए । महायज्ञमा सङ्कलित रु ६८ लाख रकमबाट पूर्वाधार विकासका कार्य अगाडि बढ्न थालेको हो ।

पुरानो मन्दिरलाई पुनःनिर्माण गरी नयाँ निर्माण गर्ने काम सम्पन्न भएको छ । महिला बालबालिका मन्त्रालयबाट विसं २०६६ देखि ०७४ सम्म पटकपटक गरी रु ६५ लाख रकम मन्दिर निर्माणमा सहयोग प्राप्त भएको थियो । हाल महन्त निवास, भान्साघर, होमनकुण्ड, मन्दिर बारबन्देज, प्रवेशद्वारलगायतको भौतिक संरचना निर्माणको काम भएको राधा दामोदर नेपाल निम्वार्क पीठ केलादीधाम संरक्षण समितिका सचिव घनश्याम खनालले जानकारी दिनुभयो ।

“केलादीधाम क्षेत्रको पौराणिक महत्वका हिसाबले जति विकास हुनुपर्ने हो त्यस अनुसार हुन भने सकेको छैन, तैपनि एक दशक यता भने विकासका काम केही अघि बढ्नु पनि हामी गण्डकीवेंसीका नागरिकका लागि ठूलो खुशीको कुरा हो”, सचिव खनालले भन्नुभयो ।

यहाँ निर्मित राधा दामोदरको मन्दिर पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । विशेषगरी महत्वपूर्ण तिथिमितिका साथै बिदाको दिन यहाँ अवलोकन गर्ने र फोटो खिचाउन आउनेको लर्को लाग्दछ । कालीगण्डकीको नजिकै रहेकाले शीतल हावासँगै मन्दिर दर्शन, अवलोकन गर्न जानेक्रम बिस्तारै बढ्दो छ ।

यो क्षेत्र कालीगण्डकी तटमा रहेकाले पनि पुण्यप्राप्तिका लागि धेरै जिल्लाका स्थानीयले आफ्ना दिवङ्गत परिवारजनको अन्तिम संस्कार गर्ने, विभिन्न चापडपर्व, वैशाखे सङ्क्रान्ति, माघे सङ्क्रान्ति, एकादशी जस्ता पर्वमा नदी स्नान गर्ने गर्दछन् । पुण्यभूमि रहेकाले पनि यहाँ धेरै ठाउँबाट शव दाह संस्कार गर्न ल्याइने गरिन्छ ।

राधा दामोदर मन्दिरका नाममा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरमा गरी करीब १८५ रोपनी जग्गा छ । यो क्षेत्र स्याङ्जाको चापाकोट नगरपालिकाअन्तर्गत वडा नं ६ मा रहे पनि संरक्षण, रेखदेख, भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा पाल्पा रामपुर नगरपालिकाका स्थानीय र तनहुँ घिरिङ गाउँपालिकाका स्थानीयले सहयोग गरिरहेका छन् ।

आन्तरिक व्यवस्थापनका लागि नगर र वडास्तरबाट समय समयमा बजेट उपलब्ध गराउँदै आएको वडा नं ६ का अध्यक्ष एकदेव भट्टराई बताउनुहुन्छ । “भौतिक पूर्वाधार निर्माण पहिला कसैले पनि चासो नदिँदा महत्व र ऐतिहासिकताअनुसार यो क्षेत्र लामो समयसम्म विकास अभावमा पछाडी परिरह्यो, अहिले स्थानीय सरकारले पनि धार्मिक तथा पर्यटकीय नगरीका रुपमा विकास गर्न जोड दिएको छ”, उहाँले भन्नुभयो ।

केलादीधामको पौराणिक इतिहास

विसं २००६ मा निर्माण कार्य थालनी भई २००८ मा सम्पन्न भएको पुरानो सत्तल (दर्शनार्थी तथा बटुवा बास बस्ने ठाउँ) अहिले जीर्ण अवस्थामा छ । नौ कोठासहितको चारतले सत्तल नदी स्नान गर्न आउने, बाटो हिँड्ने बटुवा तथा मन्दिर दर्शन गर्न आउनेको आश्रयस्थलका रुपमा लिइन्थ्यो । अहिले भने विसं २०७२ को विनाशकारी भूकम्पले जीर्ण बनाएर पनि पुनःनिर्माण गर्नुपर्नेछ । पहिला आश्रयस्थलका रुपमा लिइने सत्तल जीर्ण बन्दै गएपछि हाल खाद्यान्न भण्डारका लागि प्रयोगमा ल्याइएको छ ।

यहाँ पहिलेदेखि नै पूजाआजा हँुदै आएको राधा दामोदरको पुरानो मन्दिरको विसं २०१३ मा पुनःनिर्माण गरी विधिवत् पूजाआजा गर्र्ने कार्य शुरु गरियो । सो मन्दिर पनि जीर्ण बनेपछि २०७० सालदेखि निर्माण कार्य थालनी गरी २०७४ मा नयाँ निर्माण सम्पन्न भएपछि पूजाआजा सञ्चालन भइरहेको छ । पहिला यहाँ एक सय २० कुटी (ज्येष्ठ नागरिक बस्ने घर) थिए ।

यस कुटीमा १५० ज्येष्ठ नागरिकले केलादीधाम क्षेत्रलाई बासस्थान बनाएर बसोबास गर्ने गर्दथे । आजभन्दा दुई दशकअघिसम्म यहाँ बसोबास गर्ने ज्येष्ठ नागरिकको ठुलो सङ्ख्या हुन्थ्यो । पूजाआजाका लागि पनि विभिन्न स्थानबाट आउनेको लर्को लाग्थ्यो । बीचको केही समय भने यो क्षेत्र भौतिक पूर्वाधार अभावमा ओझेलमा प¥यो ।

पछिल्लो समय भने सडक, पुल पुलेसालगायतका विभिन्न सुविधा शहरदेखि गाउँ गाउँमा बिस्तार हुन थालेपछि पहिला जस्तो चहलपहल भने खासै देखिँदैन । तर पनि पूर्वाधार विकासका काम अघि बढ्दै गएसँगै पुनःआउने जाने क्रममा गति लिन थालेको छ । यो क्षेत्र सुगममा नहुदा पनि बाहिरबाट यहाँ पूजाआजाका निम्ति आउने दर्शनार्थी कम रहन गएको हो ।

यसै मन्दिरको नामबाट राधा दामोदर मावि र राधा दामोदर संस्कृत क्याम्पस सञ्चालन हुदै आएको छ । विसं २०३८ मा स्थापित राधा दामोदर माविमा उच्च शिक्षासम्म आधुनिक तथा संस्कृत भाषामा पनि पठनपाठन हुने गरेको छ ।

संस्कृत भाषामा पठनपाठन

उच्च शिक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई मध्यनजर गर्दै विसं २०५१ सालमा राधा दामोदर संस्कृत क्याम्पस स्थापना गरी शास्त्री तहसम्मको पठनपाठन भइरहेको छ । यस क्याम्पसमा मुलुकका विभिन्न जिल्लाका विद्यार्थी स्नातक तह (शास्त्री) अध्ययन गरिरहेका छन् । शास्त्री शिक्षा निःशुल्क दिँदै आएको क्याम्पसले ७० प्रतिशत हाजिर पूरा गरेका विद्यार्थीलाई मासिक रु चार सय छात्रवृत्ति उपलब्ध गराउने गरेको छ । निजी तवरबाट शिक्षा सञ्चालन गरिएकाले विश्वविद्यालयले दिने मासिक छात्रवृत्तिसरह रकम भने उपलब्ध गराउन नसकेको संस्थाले जनाएको छ । मन्दिरमा नै बसेर पढ्न चाहनेका लागि गुरुकूल शिक्षाको पनि व्यवस्था छ । मन्दिरमा गोपाल शरण देव महन्तका रुपमा रहनुभएको छ ।

मन्दिरको संरक्षणमा ज्येष्ठ नागरिक बसोबास

मन्दिरको आश्रममा ज्येष्ठ नागरिकलाई बसोबासका लागि आश्रम पनि छ । यहाँ ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम निर्माण गरिएपछि बसोबासका लागि सहज भएको छ । आफन्त, छोराछोरी कोही नभएका असहाय ज्येष्ठ नागरिक जीवनको अन्तिम समयसम्म यहीँ बस्ने सङ्कल्पका साथ विभिन्न जिल्लाबाट आएका छन् ।

पोखरा घर बताउने ८८ वर्षीय कृष्णदासी बिहे गरेको एकवर्षपछि श्रीमान्को मृत्यु भएपछि यहीँको आश्रममा आएर बस्नुभएको छ । उहाँ यहाँ बस्न थालेको ४० वर्ष भइसक्यो । मन्दिरमा भजनकृतन गाउने र मनका पीडा भुलाउने गर्नुहुन्छ ।

“आफन्त कोही छैन्, चार दशक भयो यहाँ बस्न थालेको, भजनकृतन गाउने गरेर समय बितेको पत्तो छैन, बस्न साह्रै राम्रो छ, सन्चो बिसञ्चो भए नभएको हामीहरुको रेखदेख गरिरहनुहुन्छ”, उहाँले भन्नुभयो । मन्दिरको आश्रममा बस्न पाउँदा जीवनको ठूलो साहारा मिलेको उहाँले बताउनुभयो ।

कृष्णदासी पौडेल पनि यसै मन्दिरको आश्रममा बस्न थालेको छ दशक भयो । तनहुँको बोमा स्थायी घर बताउने ७७ वर्षीय पौडेल जीवनको अन्तिमसम्म यहीँ बस्ने अठोटका साथ मन्दिरलाई नै आफ्नो गृहस्थानका रुपमा सम्झेर बस्नुभएको छ । उहाँको परिवारमा पनि आफन्त कोही हुनुहुन्न ।

उहाँ भन्नुहुन्छ, “श्रीमान्को मृत्यु भएपपछि परिवारमा साहाराबिहीन हुन पुगेँ, एक्लो ज्यान साहारा दिने आफन्त कोही नभएपछि हामीजस्ता कोही नभएका नागरिकका लागि केलादीधाममा आएर बस्ने व्यवस्था रहेछ यहीँ आएर बस्न थालेँ, कालीगण्डकी स्नान गर्ने भगवान्को पूजाआजा, भजनकृतन गरेर समय बिताउन पाउँदा आनन्द लागेको छ” ।

स्याङ्जाको क्याक्मी घर बताउने ६२ वर्षीय भगवती उपाध्याय मन्दिरमा बस्न थालेको ३५ वर्ष भयो । उपाध्याय श्रीमानसँगै ३५ वर्षअघि यहीँ आएर बस्न थाल्नुभएको हो । श्रीमान्को एक दशकअघि केलादीधामको आश्रममा नै मृत्यु भयो । उपाध्यायले गाईको स्याहार सुसार गर्ने, भगवानको सेवा गर्ने गर्नुहुन्छ ।

यहाँ दैनिक बिहान ६ बजेदेखि राति ८ बजेसम्म अखण्ड भजनकृतन चलिरहन्छ । समूह समूहमा दुई÷दुई घण्टाको समय भजनकृतन भइरहन्छ । मन्दिरको पुरानो अव्यवस्थित गौशालालाई नयाँ निर्माण गरी व्यवस्थित रुपमा गाई पालिएको छ । बाटो हिड्ने क्रममा समस्यामा परेका नागरिक, नदी स्नान गर्न आउने तथा मन्दिर दर्शन गर्न आउनेलाई आपत् परेमा संस्थाको संरक्षणमा यहीँ खाना तथा बसोबासको पनि व्यवस्था छ ।

RSS


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope